मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कात्यायनी माध्यमिक विद्यालयको ३९औँ अभिभावक भेला तथा सामाजिक परीक्षण सम्पन्न

कात्यायनी माध्यमिक विद्यालयको ३९औँ अभिभावक भेला तथा सामाजिक परीक्षण सम्पन्न


कमलबजार नगरपालिका–६, हात्तीबाँझस्थित कात्यायनी माध्यमिक विद्यालयको ३९औँ अभिभावक भेला तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

शिक्षक–अभिभावक संघका अध्यक्ष शान्ती शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व उद्योग, वन तथा पर्यटनमन्त्री मानबहादुर रावल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्वमन्त्री रावलले कात्यायनी माध्यमिक विद्यालयले पछिल्लो समय शैक्षिक तथा भौतिक क्षेत्रमा सुधार गर्दै अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले विद्यालयले आगामी दिनमा सरोकारवालाबाट प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

विद्यालयको विकाससँगै समुदायको विकाससमेत जोडिने भएकाले अभिभावक तथा सम्पूर्ण सरोकारवालाले विद्यालयको विकासमा आवश्यक सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो। आफू निर्वाचित भएदेखि यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रमा सक्दो बजेट व्यवस्थापन गर्दै आएको जानकारी दिँदै रावलले आगामी दिनमा पनि विद्यालयका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रदेश सरकारबाट आउने योजना आवश्यकताका आधारमा भन्दा पहुँचका आधारमा आउने गरेको अवस्थालाई स्वीकार गर्दै पूर्वमन्त्री रावलले आफू मन्त्री हुँदा त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गरेको दाबी गर्नुभयो। उहाँले यस वर्ष कात्यायनी माध्यमिक विद्यालयका लागि केही न केही योजना उपलब्ध गराउने आफ्नो प्रयास रहने बताउनुभयो।

कार्यक्रममा बोल्दै कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले शिक्षकले इमानदारीपूर्वक अध्यापन गर्ने, विद्यार्थीले लगनशील भएर अध्ययन गर्ने र अभिभावकले उचित रेखदेख गर्ने हो भने विद्यालय सुधार गर्न धेरै समय नलाग्ने बताउनुभयो। विद्यालयको सुधारका लागि सबैभन्दा आवश्यक कुरा इमानदारी र जिम्मेवारीबोध रहेको उहाँको भनाइ थियो।

स्थानीय सरकारले आफ्नो स्रोत–साधनले भ्याएसम्म शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै नगर प्रमुख ढकालले उपलब्ध स्रोत–साधनको उचित र प्रभावकारी उपयोग गरी विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न सुझाव दिनुभयो।

नगर उपप्रमुख शारदा बिष्ट कुँवरले कात्यायनी माध्यमिक विद्यालयले पछिल्लो समय आफ्ना शैक्षिक तथा अन्य गतिविधिमा उल्लेखनीय सुधार ल्याएकोमा खुसी व्यक्त गर्नुभयो। शैक्षिक उपलब्धिदेखि भौतिक संरचनासम्म विद्यालयले प्रगति गर्दै गएको उल्लेख गर्दै उहाँले विद्यालयसँग प्रत्यक्ष सरोकार राख्ने सबै निकायले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पालिकाको तर्फबाट विद्यालयलाई आगामी दिनमा समेत निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अभिभावक भेला तथा सामाजिक परीक्षण कार्यक्रममा कमलबजार नगरपालिका–६ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लालबहादुर शाह, मंगलसेन नगरपालिका–१२ का वडाध्यक्ष खकेन्द्रबहादुर रावल, पूर्ववडाध्यक्ष प्रेमबहादुर रावल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति बालाराम ढकाल, नेपाली कांग्रेसका मिनबहादुर शाही, नेकपा एमालेका रामबहादुर शाही, नेपाली कम्युनिष्ट पार्टीका डम्बरबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका वीरेन्द्रबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकरबहादुर शाही, छिमेकी विद्यालयका तर्फबाट पूर्णबहादुर रावल, अभिभावक दानबहादुर शाही तथा विद्यार्थी उर्मिला शाहीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा मन्तव्य राख्ने अधिकांश वक्ताले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय सरकार तथा अन्य सरोकारवालाले आफ्नो–आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। साथै, विद्यालयको विकासका लागि आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

कार्यक्रममा विद्यालयको भौतिक, आर्थिक तथा शैक्षिक अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुका साथै प्रतिवेदनमाथि आवश्यक छलफल गरिएको थियो। सोही अवसरमा विद्यालयमा उत्कृष्ट कार्य गर्ने शिक्षक तथा अभिभावकलाई सम्मानसमेत गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक टोपेन्द्रकुमार शाहीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक दिल्लीरमण ढुंगानाले गर्नुभएको थियो।