मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गमको देउता बयालपाटा

दुर्गमको देउता बयालपाटा


अछाम

अछामको बयालपाटा अस्पताल सुदुरपश्चिमेलीका लागि देउता सावित भएको छ । सुदुरपश्चिमको अछाम, बाजुरा, डोटी, डडेल्धुरा तथा कर्णाली प्रदेशका दैलेख, सुर्खेत, कालिकोट, मुगु र हुम्लाका जिल्लाका गरिब तथा विपन्न नागरिकहरु निशुल्क सेवा प्रदान गर्दै आएको बयालपाटा देउता समान भएको वताउछन् । सन २००८ मा अछामको साँफेबगरमा मेडिकल क्लिनिकबाट निशुल्क प्राथमिक स्वास्थ्य सेवा सुरु गरेको न्याय हेल्थ नेपालले हाल विभिन्न प्रकारका गरी १२ भन्दा बढी प्रकारका सेवाहरु निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ ।

अछाम साफेवगर नगरपालिका वडा नम्वर १३ बाब्लाका ५२ बर्षिय अम्बरे विष्टको गत जेठ २१ गते भिडियो एक्सरे गर्दा आन्द्रामा परेको प्वाल परेको देखियो । विपन्न परिवारका उनलाई बयालपाटाले बचायो । विष्टले भने, ‘टाढा जानलाई पैसा थिएन, बयालपाटामै आफ्नो उपचार हुँदा खुशी लागेको छ, अस्पताललाई धन्यवाद ।’ उनले भने । ‘आन्द्रामा प्वाल परेको थाहा भएपछी अन्यत्र उपचार गर्न लिन सकिने अवस्था छैन भन्दै आफन्तले घर लैजान खोजे, हामीले वडा अध्यक्षको रोहवरमा उनको सल्यक्रिया गर्याै सफल पनी भयौ ।’ बयालपाटा अस्पतालका मेडिकल डाईरेक्टर तथा उपचारमा संलग्न डा. विकास गौचनले बताए । उनले भने, ‘बिरामीका श्रीमतीले धनगढी वा नेपालगञ्ज लैजाने अवस्था छैन घर फर्किन्छौँ भनेपछि शल्यक्रिया गरिएको हो ।’ उनका अनुसार यस्तो प्रकारको जटिल शल्यक्रिया अछाममा पहिलोपटक गरिएको हो । सुदूरपश्चिमको सेती अञ्चल अस्पतालबाहेक यस्तो प्रकारको शल्यक्रिया सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा हुन नसक्ने उनको भनाइ छ ।  डा. गौचनका अनुसार यस्तो प्रकारको शल्यक्रिया प्राइभेट अस्पतलामा गराउँदा दुई लाखभन्दा बढी खर्च लाग्छ । शल्यक्रिया पछि अहिले बिरामी विष्टको अवस्था खतरामुक्त रहेको गौचनले जानकारी दिए ।

डोटीको दिपायल–सिलगढी नगरपालिका–४ का ३५ वर्षीया गणेश विक नौ वर्षको उमेरमा बायाँ खुट्टा भाँचिएर थला परे । २६ वर्षअघि बायाँ खुट्टा भाँचिएका विकको अछामको बयालपाटा अस्पतालमा उपचारपछी उनमा खुसी छाएको छ । ‘त्यसबेला भारतमा गएर उपचार गरे तर निको भएन । अहिले थला परिसकेको थिएँ’ उनले भने, ‘दुखाइ सहन नसकेपछि बयालपाटा आएको हुँ । उपचार पाउँदा खुसी लागेको छ ।’ बयलपाटा अस्पतालमा हाडजोर्नी सम्बन्धी राम्रो उपचार हुन्छ भनेर सुनेपछी उनी बयालपाटा पुगेका हुन् । फागुन १० गते अस्पताल भर्ना भएका उनको खुट्टाको दुई पटक शल्यक्रिया भएको छ । ‘खुट्टा भाँचिएको २६ बर्ष भयो । २ ÷ ३ पटक भारतमा गएर उपचार गरे तर निको भएन । अहिले निशुल्क उपचार पाएको छु’ विकले भने, ‘अब निको हुने आशा गरेको छु ।’

दिपायल–सिलगढी नगरपालिका–१ की कृष्णा बिष्टको ५ बर्षअघि लडेर दाहिने खुट्टाभाचिएको थियो । धनगढी गएर उनले उपचार गरिन् । करीब एक लाख रुपैयाँ खर्च भयो तर निको भएन । पछि आफन्तको सहयोगमा बयालपाटा अस्पताल पुगेपछि उनको पनि उपचार भइरहेको छ । ५ बर्षसम्म पनि उनको हड्डी नजोडिएपछि भाँचिएको ठाउँमा हड्डी प्रत्यारोपण गरिएको छ । कृष्णाको शरीरको अन्य भागको हड्डी निकालेर खुट्टामा प्रत्यारोपण गरिएको हाडजोर्नी बिशेषज्ञ डा. मन्दिप पाठकले जानकारी दिए । ‘यहाँ दैनिक सरदर ३५ जनासम्म हड्डी भाँचिएका बिरामी आउँछन् । कसैको शल्यक्रिया त कसैको सामान्य उपचार गरिरहेका छौ’ डा. पाठकले भने ।

यी विरामीमात्रै होईन, दुर्गम गाउँका विपन्न परिवारका लागि बयलपाटा अस्पताल देउता साबित भएको छ । यस अस्पतालमा हाड्जोर्नी सम्बन्धी सेवा सुरु भएको ३ बर्ष भयो । यो अवधिमा २ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । एक दशकअघि स्थापना भएको बयलपाटा अस्पतालले भर्ना शुल्क नलिने, बेड भर्ना भएका बिरामीलाई खाना तथा आवास समेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । ‘नेपालका अन्य ठाउँबाट प्रदान हुने सर्जरी सेवा सशुल्क भए पनि हामीले निशुल्क सेवा दिएका छौ, न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एसपी कलौनी भने, ‘यसरी सर्जरीलगायत अस्पतालबाट प्रदान गरिने सबै सेवा निशुल्क प्रवाह गरेका छौं ।’ दुर्गम तथा पिछडिएका क्षेत्रका जनताका लागि स्वास्थ्य सम्बन्धी सबै सेवा निशुल्क उपलब्ध गराएको कलौनीले बताए ।

अछाम क्षेत्र नं. १ बाट प्रतिनिधी सभामा निवार्चित साँसद तथा पूर्व उपप्रधानमन्त्री, गृह, रक्षा मन्त्री एवं भिम रावलले बयालपाटा अस्पतालले दिईरहेको सेवा एकदमै प्रशंसा गर्न योग्य रहेको भन्दै अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताएका छन् । जिल्ला समन्वय समिती अछामको संयोजनमा बयलपाटा अस्पतालमा भएको सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै रावलले अस्पताललाई दीर्घकालिन रुपमा संचालन गर्न स्थानिय, प्रदेश तथा संघिय सरकारको लगानी थप गर्न आफुले सहयोग तथा पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

अस्पतालले हाल बाहिरंग सेवा, २४ सै घण्टा आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरु प्रदान गर्दै आईरहेको छ भने शल्यक्रिया मार्फत प्रसुती सेवा, हर्निया तथा हाईड्रोशिल र एपेन्डिसको आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरीहरु निशुल्क प्रदान गर्दै आएको छ । अस्पतालका डाक्टर तथा मेडिकल निर्देशक सन्तोष कुमार ढुंगानाले भने, ‘यस क्षेत्रका जनताको आर्थिक अवस्था एकदमै नाजुक छ जसले गर्दा सर्जरी सेवाका लागी पैसा हुदैन र समयमै उपचार नभए अकालमा ज्यान गुमाउनु परेको छ । यो अवस्थालाई मध्यनजर गर्दै हामीले सबै किसिमका सेवा निशुल्क प्रदान गरेका हौँ ।’ बयलपाटा अस्पतालले अस्पतालको सेवाले मात्र स्वास्थ्यमा सबैको पहुँच नपुग्ने भन्दै ग्रामिण भेगका जनतालाई लक्षित गरेर सन् २०१० बाट सामुदायिक स्वास्थ्य सेवा समेत सुरु गररेको जानकारी दिएको छ ।

अस्पतालले सामुदायीक सवास्थ्य सेवा कार्याक्रम अछामको साफेवगर नगरपालिका, मेल्लेख गाउँपालिका, कमलवजार नगरपालिका वान्नीगढी जयगढ गाउँपालिका र चौरपाटी गाउपालिकामा  सञ्चालन गरिरहेको छ । सामुदाियक स्वास्थ्य कार्यक्रमले दिर्घरोगी उपचार, मातृत्वसेवा, बाल स्वास्थ्य लगायतका क्षेत्रमा काम गरिरहेको छ । ढुंगानाले भने, ‘अस्पतालले घरघरमै गएर सामुदायिक स्वास्थ्य सेवा संचालन गर्ने बयालपाटा अस्पताल नेपालमै एकमात्र तथा पहिलो पनि हो । हामी अब यस्तै प्रकारको सेवा अछाम जिल्लाभरी नै संचालन गर्ने सोचमा छौँ र यो कार्यान्वयन हुन्छ पनि ।’ अस्पतालले आर्थिक बर्ष ०७२÷०७३ बाट मानसिक स्वास्थ्य सेवा पनि सुचारु गरेको छ । यसका साथै अस्पतालले स्वास्थ्य मन्त्रालयबाट संचालित कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । सुरक्षित मातृत्व सेवा, सुरक्षित गर्भपतन सेवा, टि.बी. एचआईभी एड्स, कुपोषण, कुष्ठारोग, खोप आदी कार्यक्रम संचालन गरिहरेको छ ।

बिरामीहरुका लागी अस्पतालले नेपाल सरकारबाट उपलब्ध हुने ७० प्रकारका निशुल्क औषधी बाहेक २०० प्रकारका अन्य औषधी पनि उपलब्ध गराउने व्यवस्था गरेको छ । अस्पतालले आधुनिक प्रयोगशाला, डिजिटल एक्सरे, भिडियो एक्सरे, ब्लड बैँक सेवाहरु पनि संचालन गरेको छ । यसका साथै दन्त सेवा पनि दिईरहेको छ । सार्वजनिक बिदाका दिन बाहेक अस्पतालले मिनिल्याप र भ्यासेक्टोमी सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ । अस्पतालले आफ्ना सेवा तथा सुविधाहरु थप गर्नका लागी अस्पतालमा निर्माण कार्यलाई पनि संगसंगै अगाडी बढाएको छ । हाल नेपालमै नमुनाका रुपमा अस्पताल परिसरमा माटाका भवन निर्माण कार्य भईरहेको छ । सन् २०१८ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडी बढाईएको छ । निर्माण भईरहेका भवनहरु भुकम्प प्रतिरोधात्मक भएको अस्पताल प्रसाशनले जानकारी दिएको छ ।

यसका साथै अस्पतालले ग्रामिण क्षेत्रका जनताका छोराछोरी यसै क्षेत्रमा बसेर स्वास्थ्य शिक्षा हासिल गर्न सकुन भन्ने उद्देश्यले ग्रामिण शिक्षण अस्पतालको समेत परिकल्पना गरेको छ । त्यसका लागी आवश्यक तयारी भईरहेको बताईएको छ । हाल बयालपाटा अस्पतालमा डा. बिकाश गौचन, डा. सन्तोष कुमार ढुंगाना र डा. पवनकुमार अग्रवाल सहित तिनजना डि जि पी कार्यरत रहेका छन् भने ८ जना मेडिकल तथा डेन्टल अधिकृत सहित ११ जना चिकित्सकहरु कार्यरत रहेका छन ।

बयालपाटा अस्पतालमा माटोका नमुना भवन निर्माण भएसँगै भर्ना भएका बिरामीलाई नयाँ भवनमा राख्न थालिएको छ । अहिले ३४ शैयासहितको सुविधायुक्त भवनबाट बिरामीले सेवा लिइरहेका छन । स्वास्थ्य मन्त्रालयबाट यसअघि १५ शैया सञ्चालनको स्वीकृति पाएको अस्पतालमा हाल ५० शैया छन । यसअघि बेडको अभावमा कमै बिरामीलाई मात्र अस्पतालमा भर्ना गर्न सकिने अवस्था थियो । सन् २००९ बाट न्याय हेल्थ नेपालले बयलपाटा अस्पताल मार्फत आधारभुत सेवाहरु प्रदान गर्न सुरु गरेको थियो । सुदूरपश्चिमको दुर्गम क्षेत्रमा निशुल्क स्वास्थ्य सेवा दिइरहेको अछामको बयलपाटा अस्पतालले स्थापनाको १० वषभित्र सुदूरपश्चिम र कर्णाली प्रदेशका १० लाख बढी जनातालाई सेवा दिएको छ ।