मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा सुरु

अछामका स्वास्थ्य संस्थाको वार्षिक समीक्षा सुरु


अछाम जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालित स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम आइतबारदेखि सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजनामा जिल्ला अस्पताल अछाम, प्रादेशिक अस्पताल बयलपाटा, स्वास्थ्य चौकी तथा वडास्तरमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा थालिएको हो
स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाका अनुसार जिल्लाभरिका स्वास्थ्य संस्थाले आर्थिक वर्ष २०८२÷०८३ मा सञ्चालन गरेका कार्यक्रम, हासिल गरेका उपलब्धि, सेवा प्रवाहको अवस्था तथा देखिएका चुनौतीहरूको समीक्षा सुरु गरिएको हो। समीक्षामा स्वास्थ्य तथा पोषणका क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संघसंस्थाहरूले समेत आफ्ना कार्यक्रम र उपलब्धिबारे प्रस्तुति गर्नेछन्।
समीक्षाको पहिलो दिन मंगलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, मेल्लेख गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, चौरपाटी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाको प्रस्तुति सम्पन्न भएको क्षयरोग कार्यक्रमका जिल्ला संयोजक हरिशचन्द्र रावलले जानकारी दिनुभयो। बाँकी स्वास्थ्य संस्थाहरूको प्रस्तुति सोमबार हुने उहाँले बताउनुभयो ।
वार्षिक समीक्षामा पालिकाका स्वास्थ्य शाखाहरूले एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा हासिल गरेका प्रगति, सेवा प्रवाहका क्रममा भोग्नुपरेका समस्या तथा समाधानका लागि चालिएका कदमबारे विवरण प्रस्तुत गर्नेछन्। प्रस्तुतिका आधारमा स्वास्थ्य संस्थाहरूको कार्यसम्पादन र स्वास्थ्य सेवाको अवस्थाको मूल्याङ्कन गर्न छुट्टै मूल्याङ्कन समिति गठन गरिएको छ। उक्त समितिले कार्यक्रमको अन्तिम दिन आफ्नो प्रतिवेदन सार्वजनिक गर्नुका साथै जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्था घोषणा गर्नेछ ।

जिल्ला स्वास्थ्य कार्यालय अछामकी प्रमुख सीमा थापाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री मेघराज खड्काले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री खड्काले स्वास्थ्य क्षेत्रको सुधार र नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सरकारको लगानीसँगै सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। स्वास्थ्य क्षेत्रका समस्या राज्यको लगानीले मात्रै समाधान नहुने उल्लेख गर्दै उहाँले स्थानीय तह, स्वास्थ्यकर्मी, गैरसरकारी संघसंस्था र नागरिक समाजले समेत आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
“स्वास्थ्य क्षेत्र नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हो। यसको सुधार सरकारको मात्रै जिम्मेवारी होइन। राज्यले लगानी गर्नुपर्छ, तर त्यसको प्रभावकारी कार्यान्वयन र नागरिकले गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्न सबै सरोकारवालाको साथ र सहयोग उत्तिकै आवश्यक छ। सबै पक्षले साझा जिम्मेवारीबोध गरेर काम गर्न सके मात्रै स्वास्थ्य क्षेत्रमा अपेक्षित परिणाम हासिल गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।
आफू सामाजिक विकासमन्त्रीको जिम्मेवारीमा रहँदा अछामको स्वास्थ्य क्षेत्रका समस्या समाधान तथा सेवा विस्तारका लागि विभिन्न प्रयास गरेको स्मरण गर्दै खड्काले चाहना हुँदाहुँदै पनि कतिपय काम पूरा गर्न नसकिएको बताउनुभयो। नागरिकका स्वास्थ्यसम्बन्धी अपेक्षा पूरा गर्न नसक्दा जनप्रतिनिधिका रूपमा जवाफ दिन कठिन हुने गरेको उहाँको भनाइ थियो। उहाँले स्वास्थ्य क्षेत्रका विद्यमान समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर र प्रमुख जिल्ला अधिकारी टीकाराम ढकाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै वरिष्ठ जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन क्षयकुष्ठ सुपरभाइजर निरीक्षक दीपेन्द्र जोशीले गर्नुभएको थियो ।