मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गेटा मेडिकल कलेजमा ७० प्रतिशत काम सकियो

गेटा मेडिकल कलेजमा ७० प्रतिशत काम सकियो

एक बर्षभित्रै अस्पताल सञ्चालन हुने


धनगढी : आगामी सात महिनाभित्रै संरचना निर्माणको काम सम्पन्न गरेर गेटा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने तयारी भएको छ। २०७७ को असोज महिना भित्रै संरचना निर्माणको काम सम्पन्न गरेर सोही बर्षदेखि ६ सय शैयाको अस्पताल सञ्चालनको तयारी थालिएको हो। गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर साउदले मेडिकल कलेजको वित्तिय प्रगती ६२ प्रतिशत नाघेको र भौतिक प्रगती ७० प्रतिशत भन्दा बढि भईसकेको बताए। 

‘कलेजका लागि साढे तीन तलाको अस्पताल भवन, साढे पाँच तलाकोे कलेज भवन, दुई तलाका दुईवटा छात्रबास भवन, अढाइ तलाको प्रशासनिक भवन लगायतका २४ संरचना निर्माणधीन छन्। अहिलेकै गतिमा काम भएपनि असोज भित्रै संरचना निर्माणको काम सम्पन्न हुन्छ।’ कार्यकारी निर्देशक साउदले भने। 

भौतिक प्रगती उत्साहजनक भएपनि अहिले सम्म सञ्चालनको ढाँचा भने तय भएको छैन्। कतिपयले मेडिकल कलेज नै हुनुपर्ने बताएका छन् भने कतिपयले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनु पर्ने अडान लिएका छन्। कार्यकारी निर्देशक साउदले दिनेश खवरलाई भने, ‘ढाँचाको टुङगो नलागेपनि सुरुमा अस्पताल सञ्चालन गर्न निर्देशन भएपछि अहिले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण छनोट गर्न चिकित्सकको टोलीलाई जिम्मा दिईएको छ। उक्त टोलीले उपकरण छनोट गरेपछि खरिदको प्रक्रिया अगाडी बढ्नेछ। २०७७ को चैत भित्रै अस्पताल सञ्चालन हुन्छ।’

सरकारले विसं २०६६ मा कलेज स्थापनाको घोषणा गरेकामा प्रक्रियागत ढिलाइका कारण निर्माण कार्य भने तीन वर्षअघि देखि मात्रै सुरु गरिएको थियो। चालु वर्षमा फोहर व्यवस्थापन र पानी व्यवस्थापनको काम पनि अघि बढ्न लागेको छ। 

कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिगाहा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ। उनीहरुलाई समयमै अन्यत्र पुनस्र्थापन गर्ने सवालमा सम्बन्धित निकायले ध्यान नदिँदा उक्त ठाउँमा निर्माण गर्नुपर्ने संरचनाको निर्माण कार्य भने अन्योलमा छ। मुक्तकमैया बसेको उक्त जग्गामा मेडिकल कलेज अन्तर्गतको ट्रमा सेन्टर लगायतका संरचना निर्माण गर्ने योजना रहेको छ। – दिनेशखबर बाट