मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयरकै कम्पनीद्वारा काममा ढिलाइ

मेयरकै कम्पनीद्वारा काममा ढिलाइ


मेनुका ढुंगाना

अछाम — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत विनायक–ठाटीखाँद खण्डमा पर्ने ९ किलोमिटर सडक निर्माण कार्यमा ढिलाइ भएको छ । निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवाको लापरबाहीले काममा ढिलाइ भएको आयोजनाका एक कर्मचारीले बताए । ‘लापरबाही धेरै भयो । कर्मचारीलाई हौसला र उत्साह त कहाँ हो कहाँ निर्माण सामग्री पनि समयमा आएन,’ उनले भने ।

निर्माण कम्पनीका प्रमुख भीमबहादुर साउद डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख (मेयर) भएपछि काममा सुस्तता र लापरबाही भएको स्वयं कम्पनीका कर्मचारी नै गुनासो गर्छन् । ति कर्मचारीका अनुसार कम्पनीले निर्माणको लागि मेसिन, उपकरण र सामग्रीको व्यवस्था गरेको छैन । दक्ष जनशक्ति नहुँदा समेत कामले गति लिन नसकेको हो । ‘यहाँ काम गर्ने कर्मचारीको बिमा पनि भएको थिएन । उच्च जोखिममा काम गर्न चुनौती थियो । साइटको भूगोल र मौसमले पनिसाथ दिएन । यसकारणले पनि ढिलो भएको हो,’ उनले थपे ।

२०७३ वैशाख १६ मा सम्झौता भई २०७६ बैशाखभित्र काम पूरा गर्न समयसीमा तोकिएको थियो । तर, तोकिएको समयसीमा छँदै असारसम्मका लागि म्याद थप गरिएकोछ । मध्य पहाडी लोकमार्गअन्तर्गत अछाममा चार खण्ड पर्छन् । अन्य तीन खण्डमा काम सम्पन्न भए पनि बीचको यस खण्डको काम भने अधुरै रहेको आयोजनाको पश्चिम खण्ड दाङका इन्जिनियर तुलाराम शर्माले बताए । ‘मंगलसैन–ठाटीखाँद, बेलखेत–कैलाश खोला र विनायक–बेलखेतको काम भने पुरा भइसक्यो,’ शर्माले भने, ‘विनायक–ठाटीखाँद खण्डको निर्माण कार्य सुस्त भएपछि समयमै काम सम्पन्न हुनुपर्छ भनेर हामीले पटक–पटक पत्र पठाएका छौं ।’

स्थानीय उमा तिमिल्सैनाले सरोकारवालाहरूले चासो नदिएसम्म यो सडकको काम सकिनेमा शंका गर्छिन् । ‘मंगलसैनदेखि सुर्खेत जोड्ने मुख्य सडकमा ठूलो पहिरो छ । त्यहाँ वर्षामा धेरै जोखिम हुन्छ । ठेकेदारले पहिले पहिरोको काम सक्नु पर्ने हो,’ उनले सुझाइन् । स्थानीय मनीराम तिमिल्सैनाका अनुसार एकैपटक धेरै कामदार आएर सडकमा काम गरेजस्तो मात्रै गर्ने गरेका छन् ।दाङस्थित आयोजना कार्यालयका इन्जिनियर मजिस सिंहले रोकिएको कालोपत्र गर्ने काम चैत पहिलो साताबाट सुरु हुने बताए ।फोन सम्पर्कमा आएका राजेन्द्र निर्माण सेवाका प्रमुख साउद भने निर्माणमा भएको ढिलाइबारे बोल्न चाहेनन् ।

उक्त सडक कालोपत्र भएपछि आर्थिक गतिविधि बढ्ने, तराईका जिल्ला पुग्न छोटो रुट हुनेमा जिल्लाबासी आशावादी छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत छिमेकी जिल्ला दैलेखमा भने एक सय २६ किलोमिटरमध्ये ५१ किलोमिटर सडकमा काम भइरहेको छ । ७५ किलोमिटर सडक निर्माणका लागि टेण्डर प्रकृया अघि बढेको आयोजना कार्यालयले जनाएको छ ।