मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा कोरोना संक्रमित बढेपछि काठमाडौँबाट ३३ जना चिकित्सकको टोली आउँदै

सुदूरपश्चिममा कोरोना संक्रमित बढेपछि काठमाडौँबाट ३३ जना चिकित्सकको टोली आउँदै


धनगढी:  सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रमित बढेपछि काठमाडौँबाट ३३ जना चिकित्सकको टोली आउने भएको छ। संक्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउनका लागि संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली सुदूरपश्चिम पठाउन लागेको हो।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले आज संघीय मन्त्रालयमा सो बारेमा छलफल भईरहेको बताउँदै भोलीसम्म चिकित्सकको टोली धनगढी पुग्ने जानकारी आएको बताए। उनका अनुसार विशेषज्ञ डाक्टरको टोली आउन लागेको हो। 

संघीय स्वास्थ्य मन्त्रालयले उनीहरुलाई धनगढी पठाउने र सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी भईरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। उनले सेती प्रादेशिक अस्पताल लगायत आवश्यक परे अन्य अस्पतालहरुमा समेत उनीहरुलाई खटाईने बताए।

सुदूरपश्चिम प्रदेशमा अहिले सम्म कोरोना संक्रमितको सङख्या पाँच पुगिसकेको छ। दुबईबाट आएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष, लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलामा संक्रमण पुष्टि भईसकेको छ। पाँचै जनाको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। – dineshkhabar