इलाका प्रहरी कार्यालय कमलबजारले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। प्रहरीका गतिविधिबारे नागरिकलाई जानकारी गराउने, स्थानीयका गुनासा तथा सुझाव सुन्ने र तिनलाई आगामी दिनमा कार्यान्वयन गर्दै नागरिक र प्रहरीबीचको सम्बन्ध थप सुमधुर बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । इलाका प्रहरी कार्यालय कमलबजारको परिसरमा आयोजित कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले कार्यालयले उपलब्ध स्रोतसाधनको सीमाभित्र रहेर शान्ति सुरक्षा कायम गर्न प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन्। स्थानीय नागरिकसँग समन्वय र सहकार्य गर्दै प्रहरीले आफ्ना गतिविधि अघि बढाएको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले चाडपर्वको समयमा प्रहरी गस्ती बढाउनुपर्ने, सवारी दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी कदम चाल्नुपर्ने तथा बालविवाह र आत्महत्याका घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। पछिल्लो समय कमलबजार क्षेत्रमा लागुऔषधसम्बन्धी घटना बढ्न थालेको भन्दै उनीहरूले यसको नियन्त्रणका लागि प्रहरी सक्रियता थप बढाउनुपर्ने मागसमेत गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक पविन्द्र बमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले नागरिकको सुखदुःखमा प्रत्यक्ष रूपमा खटिने र जनताको सुरक्षाका लागि अग्रपङ्क्तिमा उभिने संस्था नेपाल प्रहरी भएको बताउनुभयो । उहाँले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै नागरिकलाई बिना वर्दीका प्रहरीका रूपमा व्याख्या गर्नुभयो। चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी र नागरिकबीच बलियो सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
“समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी एक्लैले सबै काम गर्न सम्भव हुँदैन। नागरिकले पनि आफ्नो जिम्मेवारी बुझेर प्रहरीलाई सहयोग गर्नुपर्छ। नागरिकको साथ र सहयोग भएमा मात्रै अपराध नियन्त्रण गर्न र सुरक्षित समाज निर्माण गर्न सकिन्छ,” नगर प्रमुख ढकालले भन्नुभयो । नगरपालिकाले प्रहरीसँगको साझेदारीमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा यस्ता गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
नगरपालिकाका उपप्रमुख शारदा विष्ट कुँवरले महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि प्रहरीले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो। प्रहरीले समुदाय तथा विभिन्न विद्यालयमा पुगेर सञ्चालन गरेका सचेतनामूलक कार्यक्रमले सकारात्मक परिणाम देखाउन थालेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
“महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण गर्न कानुनी कारबाहीसँगै जनचेतना अभिवृद्धि पनि उत्तिकै आवश्यक छ। प्रहरीले समुदाय र विद्यालयस्तरमा सञ्चालन गरेका सचेतनामूलक कार्यक्रमले सकारात्मक प्रभाव पारेका छन्। यस्ता कार्यक्रमलाई निरन्तरता दिन नगरपालिका आवश्यक सहयोग गर्न तयार छ,” उपप्रमुख कुँवरले बताउनुभयो ।
कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले नागरिक र प्रहरीबीचको सम्बन्ध विश्वासपूर्ण र सुमधुर भएमा मात्रै समाजमा दिगो शान्ति सुरक्षा कायम गर्न सकिने बताउनुभयो। शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको भए पनि अपराध नियन्त्रण र सामाजिक सद्भाव कायम गर्न नागरिकको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । “समुदायमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरीको सक्रियतासँगै नागरिकको सहयोग पनि आवश्यक हुन्छ। कुनै आपराधिक गतिविधि वा शङ्कास्पद घटना देखिएमा नागरिकले समयमै प्रहरीलाई सही सूचना दिएर सहयोग गर्नुपर्छ। नागरिक र प्रहरीबीचको विश्वास र सहकार्य नै सुरक्षित समाज निर्माणको बलियो आधार हो,” प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो । उहाँले यस वर्षको चाडपर्वलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले विशेष सुरक्षा योजना लागू गरेको जानकारी दिँदै सबै नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक पविन्द्र बमले नागरिकबाट प्राप्त गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिई आगामी दिनमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शान्ति सुरक्षा कायम गर्ने तथा अपराध नियन्त्रण गर्ने कार्यमा प्रहरीको एकल प्रयास मात्र पर्याप्त नहुने भन्दै स्थानीय सरकार, नागरिक समाज र आम नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो चाडपर्वको समयमा प्रहरीकै मिलेमतोमा जुवातास खेलाइने गरेको भन्ने प्रश्नको जवाफ दिँदै प्रहरी प्रमुख बमले जुवातास नियन्त्रणका विषयमा कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभयो । “विगतमा कसले के ग¥यो भन्ने विषयमा नजाऔँ, तर अछाम प्रहरी जुवातास नियन्त्रणका विषयमा कुनै पनि प्रकारको सम्झौता गर्दैन । प्रहरीको संलग्नतामा वा अन्य कुनै पनि ठाउँमा जुवातास खेलाइएको पाइएमा कानुनअनुसार कडा कारबाही गरिनेछ,” उहाँले स्पष्ट पार्नुभयो । उहाँले समाजमा हुने गैरकानुनी तथा अनैतिक गतिविधिबारे जानकारी पाएमा तत्काल प्रहरीलाई सूचना दिन नागरिकलाई आग्रह गर्दै अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्नसमेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा कमलबजार नगरपालिका वडा नम्बर ८ का अध्यक्ष प्रजाबहादुर बोगटी, वडा नम्बर ९ का अध्यक्ष कमलप्रसाद बजगाई, निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्गबहादुर विष्टलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक सरोजकुमार कैलाले गर्नुभएको थियो ।














प्रतिक्रिया