मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिका–६ मा डेंगु रोगसम्बन्धी सचेतना तथा लार्भा नष्ट कार्यक्रम सम्पन्न

मंगलसेन नगरपालिका–६ मा डेंगु रोगसम्बन्धी सचेतना तथा लार्भा नष्ट कार्यक्रम सम्पन्न


ठुलासैन । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ मा डेंगु रोगसम्बन्धी सचेतना तथा लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भन्थान आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा सम्पन्न कार्यक्रममा डेंगु रोग के हो, यो कसरी सर्छ, यसका लक्षण के–के हुन् र रोगबाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीलाई जानकारी गराइएको थियो।

कार्यक्रममा डेंगु रोग फैलाउने लामखुट्टेको प्रजननस्थल नष्ट गर्नु नै रोग नियन्त्रणको प्रभावकारी उपायमध्ये एक भएको भन्दै घर, आँगन, बजार तथा सार्वजनिक स्थानमा पानी जम्न नदिन र लामखुट्टेको लार्भा नष्ट गर्नुपर्नेमा जोड दिइएको थियो। कार्यक्रममा सहभागी स्थानीय सरोकारवालाहरूले ठुलासैन बजारमा पुगेर स्थानीय बासिन्दालाई डेंगु रोगबाट बच्ने उपायबारे सचेत गराउनुका साथै सरसफाइ र लामखुट्टेको प्रजननस्थल नष्ट गर्न आग्रह गरेका थिए।

डेंगु डेंगु भाइरसबाट हुने संक्रामक रोग हो। यो रोग मुख्यतः डेंगु भाइरसबाट संक्रमित पोथी एडिस एजिप्टाइ जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। उक्त लामखुट्टेले घरभित्र तथा बाहिर जम्मा भएको सफा पानीमा प्रजनन गर्ने भएकाले पानी राख्ने भाँडा, ट्याङ्की, ड्रम, गमला, पुराना टायर, फालिएका बोतल तथा अन्य पानी जम्न सक्ने वस्तुमा विशेष ध्यान दिन आवश्यक हुन्छ।

डेंगु संक्रमण हुँदा एक्कासि उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने र शरीरमा बिमिरा देखिने जस्ता लक्षण देखिन सक्छन्। कतिपय संक्रमितमा लक्षण नदेखिन पनि सक्छ। ज्वरो घट्दैमा रोगको जोखिम समाप्त भएको नहुन सक्ने भएकाले पेटमा अत्यधिक दुखाइ, लगातार बान्ता, नाक वा गिजाबाट रगत बग्ने, छिटोछिटो सास फेर्ने वा असामान्य कमजोरी देखिएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्ने स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्।

डेंगुबाट बच्न घरवरपर पानी जम्न नदिने, पानी राख्ने भाँडा र ट्याङ्कीलाई राम्ररी छोप्ने, हप्तामा कम्तीमा एकपटक पानीका भाँडा खाली गरी सफा गर्ने, गमला तथा अन्य सामग्रीमा जमेको पानी हटाउने र फालिएका टायर, बोतल तथा प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। साथै, लामो बाहुला भएका कपडा लगाउने, लामखुट्टे भगाउने पदार्थ प्रयोग गर्ने तथा झ्यालढोकामा जाली लगाउनेजस्ता सावधानी अपनाउन आवश्यक छ। डेंगु संक्रमित व्यक्तिलाई लामखुट्टेले टोकेर पुनः अर्को व्यक्तिमा भाइरस सार्न सक्ने भएकाले बिरामीलाई समेत लामखुट्टेको टोकाइबाट जोगाउनुपर्ने हुन्छ।

डेंगुको कुनै निश्चित भाइरस नष्ट गर्ने औषधि नभएकाले लक्षणअनुसार उपचार, पर्याप्त झोल पदार्थको सेवन र स्वास्थ्यकर्मीको निगरानी आवश्यक हुन्छ। डेंगुको आशंका भएमा आफैं औषधि सेवन नगरी स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ। विशेषगरी चिकित्सकको सल्लाहबिना एस्पिरिन तथा आइबुप्रोफेनजस्ता औषधि सेवन गर्नु हुँदैन, किनकि यस्ता औषधिले रक्तस्रावको जोखिम बढाउन सक्छन्।

कार्यक्रममा वडा सदस्य सरस्वती भण्डारी र जैसरा दमाई, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सदस्य सेतिराम भण्डारी, बजार विकास समितिका अध्यक्ष प्रकाश भण्डारी, वडा सचिव सिद्धराज ढुंगाना, अस्थायी प्रहरी पोष्ट ठुलासैनका हवल्दार प्रकाश ठगुन्ना, ठुलासैन शहरी स्वास्थ्य क्लिनिककी इन्चार्ज अनिता भण्डारीलगायत स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण भन्थान आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज कृष्णप्रसाद जैशीले गर्नुभएको थियो।

डेंगु नियन्त्रणका लागि सरकारी निकायको प्रयाससँगै प्रत्येक घरपरिवार र समुदायको सक्रिय सहभागिता आवश्यक हुने भएकाले नियमित सरसफाइ, पानी जम्ने स्थानको पहिचान र लार्भा नष्ट गर्ने अभियानलाई निरन्तरता दिनुपर्ने देखिन्छ।