खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय अछामले नेपालीहरूको प्रमुख चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । चाडपर्वको समयमा उपभोक्तालाई सहज र सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले शाखाले सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।
शाखा कार्यालय अछामले एक सूचना जारी गर्दै चाडपर्वलाई लक्षित गरी विभिन्न खाद्यान्नमा प्रतिकेजी ५ रुपैयाँ छुट उपलब्ध गराइएको जनाएको छ । चाडपर्वको समयमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले उपभोक्तालाई राहत दिने उद्देश्यले सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्न थालिएको शाखाले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अछामका शाखा प्रमुख गोविन्द राईका अनुसार सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने व्यवस्था सीमित समयका लागि मात्र लागू गरिएको हो । उहाँले उपलब्ध अवसरको सदुपयोग गर्दै जिल्लावासीलाई सुपथ मूल्य पसलबाट आवश्यक खाद्यान्न खरिद गर्न आग्रह गर्नुभएको छ । शाखा प्रमुख राईका अनुसार हाल स्टिम जिरा मसिनो चामलमा प्रतिकेजी ५ रुपैयाँ छुट दिइएको छ। उक्त चामलको साविक बिक्री मूल्य प्रतिकेजी ९२ रुपैयाँ रहेकोमा छुटपछि प्रतिकेजी ८७ रुपैयाँ कायम गरिएको छ । यसअनुसार स्टिम जिरा मसिनो चामलको एक बोरा अर्थात् २५ केजीको मूल्य २ हजार १ सय ७५ रुपैयाँ पर्नेछ ।
त्यसैगरी अरुवा मोटा चामलमा पनि सहुलियत मूल्य कायम गरिएको शाखाले जनाएको छ । शाखाका अनुसार अरुवा मोटा चामलको साविक बिक्री मूल्य प्रतिकेजी ६१ रुपैयाँ रहेकोमा प्रतिकेजी ५ रुपैयाँ छुट दिई ५६ रुपैयाँ कायम गरिएको छ । हाल अरुवा मोटा चामल प्रतिबोरा १ हजार ४ सय रुपैयाँमा बिक्री भइरहेको शाखा प्रमुख राईले जानकारी दिनुभएको छ ।
चाडपर्वको समयमा बजारमा खाद्यान्नको माग बढ्ने तथा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु खरिद गर्दा थप आर्थिक भार पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गरिएको शाखाले जनाएको छ । सुपथ मूल्य पसलमार्फत उपभोक्ताले बजार मूल्यभन्दा केही सस्तोमा खाद्यान्न खरिद गर्न सक्ने भएकाले यसबाट विशेषगरी निम्न तथा मध्यम आय भएका परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।
दशैं, तिहार र छठ नेपाली समाजमा पारिवारिक भेटघाट, आपसी सद्भाव र खुसी साटासाट गर्ने महत्वपूर्ण पर्वका रूपमा मनाइन्छन । यी पर्वका अवसरमा घरपरिवारका लागि आवश्यक खाद्यान्न तथा अन्य सामग्रीको खरिद बढ्ने गर्दछ । यही अवस्थालाई ध्यानमा राख्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपभोक्तालाई सहुलियत दिन सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । शाखा कार्यालयका अनुसार सहुलियत मूल्य असोज २६ गते घटस्थापनाको पछिल्लो दिन देखि लागू हुनेछ । सीमित समयका लागि लागू हुने भएकाले जिल्लावासीले आफूलाई आवश्यक पर्ने खाद्यान्न समयमै खरिद गरी यस योजनाबाट लाभ लिन सक्ने शाखाले जनाएको छ ।
शाखा प्रमुख राईले चाडपर्वको रौनकलाई थप बढाउन तथा सबै उपभोक्ताको अनुहारमा खुसी ल्याउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गरिएको बताउनुभएको छ। उहाँले चाडपर्वका बेला उपभोक्तालाई सहज, गुणस्तरीय र सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउनु कम्पनीको उद्देश्य रहेको उल्लेख गर्नुभयो । चाडपर्वको समयमा उपभोक्तालाई खाद्यान्नको मूल्यमा राहत दिन सञ्चालन गरिएको सुपथ मूल्य पसलले बजारमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुँदा उपभोक्ताले गुणस्तरीय खाद्यान्न खरिद गर्न पाउने र बजार मूल्यको तुलनामा खर्चमा केही कमी आउने विश्वास गरिएको छ ।














प्रतिक्रिया