टंकप्रसाद रिमाल
अछाम । मानव अधिकार तथा शान्ति समाज अछाम शाखाको २१औँ जिल्ला साधारण सभा शुक्रबार मंगलसेनमा सम्पन्न भएको छ। साधारण सभाले पदमबहादुर शाहीको सभापतित्वमा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।
समाजका सभापति जयबहादुर बोगटीको अध्यक्षतामा अछाम बहुमुखी क्याम्पसमा सम्पन्न साधारण सभाले निवर्तमान सभापति बोगटीको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ।
साधारण सभामा मानव अधिकारको संरक्षण, सामाजिक सद्भावको प्रवर्द्धन, शान्ति स्थापना, अहिंसा, लोकतान्त्रिक मूल्य मान्यताको सुदृढीकरण तथा जलवायु न्यायलगायतका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा प्रस्तुत समाजको अवधारणापत्रमार्फत हिमालय संरक्षण, जलवायु परिवर्तनका चुनौती न्यूनीकरण तथा प्राकृतिक विपत्तिपछिको उद्धार र पुनःस्थापनाका लागि स्थायी संयन्त्र निर्माण गर्न माग गरिएको छ।
विश्वव्यापी उष्णता र जलवायु परिवर्तनका कारण नेपालको हिमाली, पहाडी तथा मधेस क्षेत्रमा देखिएका गम्भीर चुनौतीप्रति चिन्ता व्यक्त गर्दै अवधारणापत्रमा प्रकृतिमैत्री जीवनशैली अपनाउन, जलवायु बजेटको प्रभावकारिता बढाउन र विद्यालयको पाठ्यक्रममा जलवायु न्यायका विषय समावेश गर्नसमेत अपिल गरिएको छ।
त्यसैगरी, सामाजिक सञ्जालको दुरुपयोग, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव भड्काउने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइएको छ। सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक रहेको अवधारणापत्रमा उल्लेख छ।
शान्ति र अहिंसात्मक संस्कृतिको निर्माणका लागि सहिष्णुता, संवाद, सहमति र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँगै हिंसा भड्काउने गतिविधि नियन्त्रण गर्नुपर्ने धारणा पनि प्रस्तुत गरिएको थियो।
मानव अधिकार तथा शान्ति समाजले २०८३ साउन १६ गतेदेखि ‘सद्भाव एकता अभियान’ सञ्चालन गरिरहेको जानकारी दिँदै अभियानअन्तर्गत विभिन्न जिल्लामा सद्भाव एकता यात्रा आयोजना गरिएको जनाइएको छ। ‘हाम्रो जीवनधारा अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा’ भन्ने सन्देशसहित अघि बढाइएको अभियानको उद्देश्य समाजलाई विभाजन होइन, एकताबद्ध गर्दै संवाद, सहमति र सहकार्यको संस्कृति विकास गर्नु रहेको बताइएको छ।
साधारण सभाका प्रमुख अतिथि अछाम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मानबहादुर बुढा रहनुभएको थियो। कार्यक्रममा समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले प्रमुख वक्ताका रूपमा धारणा राख्नुभएको थियो। त्यस्तै, समाजका पूर्व केन्द्रीय सचिव मदनबहादुर कुँवर, अछामका पूर्व सभापति शंकरबहादुर रावल, शिक्षक बसन्तप्रसाद जैसी तथा विद्यार्थी अगुवा जनक जैसीले मानव अधिकार, सामाजिक सद्भाव, शान्ति र लोकतान्त्रिक संस्कृतिको प्रवर्द्धनका विषयमा आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो।
मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव, सहिष्णुता, सामाजिक न्याय तथा जलवायु न्यायका क्षेत्रमा तीन दशकदेखि क्रियाशील समाजले स्वयम्सेवी संस्थाका रूपमा स्वदेशी वा विदेशी सरकार, दातृ संस्था, राजनीतिक दल तथा अन्य संस्थाबाट आर्थिक सहयोग नलिई काम गर्दै आएको अवधारणापत्रमा उल्लेख गरिएको छ।
साधारण सभाले मानव अधिकारको संरक्षण, सामाजिक सद्भावको प्रवर्द्धन र शान्तिपूर्ण समाज निर्माणका लागि स्थानीय तहमा सञ्चालन हुने अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।














प्रतिक्रिया