मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिका द्धारा शुभकामना आदानप्रदान कार्यक्रम

मंगलसेन नगरपालिका द्धारा शुभकामना आदानप्रदान कार्यक्रम


मंगलसेन नगरपालिकाले बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालाहरूले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
नगर प्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा वक्ताहरूले चाडपर्व नेपाली समाजको संस्कृति, परम्परा, सामाजिक सद्भाव र आपसी एकताको प्रतीक भएको उल्लेख गर्दै यसको मौलिकता जोगाउनु सबैको साझा दायित्व भएको बताएका छन् ।
चाडपर्वको समयमा आपराधिक गतिविधि, सामाजिक विकृति तथा अवाञ्छित घटनाहरू बढ्न सक्ने भएकाले नागरिक, स्थानीय सरकार र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनीहरूको भनाइ थियो। वक्ताहरूले चाडपर्वलाई उल्लासमय बनाउने नाममा संस्कार र संस्कृतिविपरीतका गतिविधिलाई प्रश्रय दिन नहुने भन्दै मौलिक परम्पराको संरक्षणसँगै सामाजिक विकृति नियन्त्रणमा समेत ध्यान दिनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी टीकाराम ढकालले चाडपर्वलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको जानकारी दिनुभयो। उहाँले सुरक्षा निकायले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै नागरिकलाई पनि सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
“चाडपर्व खुसी, उमङ्ग र आपसी सद्भाव साटासाट गर्ने अवसर हुन्। सबै नागरिकले ढुक्क भएर चाडपर्व मनाउन सक्ने वातावरण निर्माण गर्नु सुरक्षा निकायको प्राथमिकता हो। त्यसका लागि विशेष सुरक्षा योजना लागू गरिएको छ। नागरिकले पनि आफ्नो सुरक्षा र सामाजिक जिम्मेवारीप्रति सचेत रहँदै प्रहरी प्रशासनलाई आवश्यक सहयोग गर्नुपर्छ,” प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो ।
उहाँले पछिल्लो समय मौसममा अपेक्षित सुधार नआएकाले विपद्जन्य घटनाको जोखिमसमेत रहन सक्ने बताउँदै यात्रा गर्दा, नदी तथा खोलानाला आसपास आवतजावत गर्दा र अन्य गतिविधिमा संलग्न हुँदा आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभयो। उहाँले चाडपर्वको खुसीसँगै आफ्नो र परिवारको सुरक्षालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले चाडपर्वलाई केवल औपचारिक उत्सवमा सीमित नराखी पारिवारिक मेलमिलाप, सामाजिक सद्भाव र आपसी सहयोग अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका थिए। उनीहरूले समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा मंगलसेन नगरपालिकाका उपप्रमुख संगीता रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगाना, पूर्व नगर उपप्रमुख सरिता उपाध्याय, गोरखबक्स गणका प्रमुख सेनानी राजु महर्जन, अछामका प्रहरी प्रमुख पविन्द्र बम, अनुसन्धान अधिकृत अशोक पौडेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख दिवस घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव बमबहादुर रावल, नेकपा एमालेका प्रदेश कमिटी सदस्य भीम जनाला, बजार विकास समितिका अध्यक्ष गोपाल बोगटीलगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रशासनिक अधिकृत खकेन्द्रबहादुर सोडारीले गर्नुभएको थियो ।