मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराका हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीले मास्क समेत पाएनन्

बाजुराका हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीले मास्क समेत पाएनन्


बाजुरा: बाजुराका अधिकांश हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीले मास्क समेत पाएका छैनन्। जिल्लामा स्थापना भएका कतिपय हेल्थ डेक्समा ज्वरो नाप्ने आईआर थर्मामिटर त परको कुरा हो त्यहाँका स्वास्थ्यकर्मीसँग मास्क समेत नभएको पाइएको छ। 

जिल्लामा २१ वटा हेल्थ डेस्क, १५ वटा क्वारेन्टाइन र २ वटा आइसोलेसन कक्ष भएपनि अधिकांश हेल्थ डेक्समा मास्क छैनन्।  जिल्लाको जगन्नाथ गाउँपालिका– १ पिलिचौरमा स्थापना भएको हेल्थ डेक्समा मास्क र ज्वरो नाप्ने आईआर थर्मामिटर नभएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी बद्रिबहादुर शाहिले बताए। ‘गाउँपालिकाले  हेल्थ डेक्स त स्थापना गरेको छ तर यो नामको मात्रै छ, हाम्रो सुरक्षाका लागि कुनै सामग्री यहाँ छैनन्’ उनले भने। 

त्यस्तै बुढीनन्दा नगरपालिकामा रहेका हेल्थ डेस्कमापनि मास्क नभएको स्वास्थ्यकर्मीले बताएका छन्। बुढीनन्दानगरपालिकाको वडा नम्बर १ पिपलडाँली र पाण्डुसैन स्थापना भएका २ वटै हेल्थ डेस्कमा मास्क छैनन्। त्यस्तै हिमाली गाउँपालिका– ७ बाधुमा स्थापना भएको हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्मामिटर र सर्जिकल मास्क नभएकाले कपडाको मास्क लगाएर चेकजाँच गरिरहेको अनमी अनिता कडायतले बताइन्। 

स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले ज्वरो नाप्ने थर्मामिटर कहि नभएको स्वीकार गरेका छन्। ती हेस्थ डेस्कम कोरोना भाइरस सम्बन्धी जानकारी दिने, सोधपुछ गर्ने,  भारतबाट आएकाहरुको अभिलेख राख्ने काम भएको पन्तले बताए। ‘मास्कको देशभरी नै अभाव छ, आइआर थर्मामिटर धेरै ठाँउमा खोज्यौ पाइएको छैन्, आउने बित्तिकै व्यवस्थापन गछौ’ उनले भने। पहिला केही थर्मामिटर र मास्क आएकोमा त्यो मिलाएर पठाएको प्रमुख पन्तले बताए। 

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस संक्रमण निगरानी तथा रोकथाम सम्बन्धि हेल्थ डेक्स संचालन मार्गदर्शन २०७६ तयार गरेको छ। तर त्यो अनुसार स्थापना भएका हेल्थ डेक्समा भने कुनै व्यवस्थापन भएका छैनन्। मास्क नै नभएपछि यी स्थापना भएका हेल्थ डेक्समा आवतजावत गर्नेको रेकर्ड राख्ने कामबाहेक अन्य केहि कार्य भएको छैन। – dineshkhabar