मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीसँग सुदूरपश्चिमका सांसदको आग्रह – महाकाली पारी अलपत्र परेका नेपालीलाई ल्याऔँ

प्रधानमन्त्रीसँग सुदूरपश्चिमका सांसदको आग्रह – महाकाली पारी अलपत्र परेका नेपालीलाई ल्याऔँ


धनगढी : सुदूरपश्चिमका सांसदहरुले भारतको धारचुलामा राखिएका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन प्रस्ताव गरेका छन्। नेकपाको स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलका  क्रममा सुदूरपश्चिमका सांसदले महाकाली राखिएकाहरुलाई तत्काल स्वदेश ल्याएर क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउन प्रस्ताव गरेका हुन्।

छलफलमा सहभागी कञ्चनपुरबाट निर्वाचित नेकपाका सांसद नरबहादुर धामीले महाकाली राखिएकाहरुलाई फर्काएर क्वारन्टाईनमा राख्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए। यस्तै भारतसँग जोडिएका सीमा नाकामा थप कडाई गर्न तथा भारत सहित तेस्रो मुलुकबाट फर्किएका सबैको परीक्षणको गर्ने व्यवस्था मिलाउन समेत प्रधानमन्त्रीलाई आग्रह गरिएको धामीले बताए।

जारी लकडाउनका सन्र्दभमा पनि सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको निष्कर्ष सहित थप कडाई गर्ने समझदारी भएको उनले बताए। प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष ‘प्रचण्ड’ ले पार्टी स्थापना दिवसको अवसर पारेर आफ्ना पार्टीका संघीय सांसदहरूलाई छलफल गरिरहेका छन्।

उनीहरुले सबै प्रदेशका सांसदलाई छुट्टाछुट्टै समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घटनाक्रम बारे ब्रिफिङ समेत गरिरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उल्लेख गरेका छन्। सुदूरपश्चिमका सांसदहरूसँगको छलफल सकिएपछि प्रदेश १ का सांसदहरूसँग छलफल भइरहेको छ।

सरकारले दुई दिन अघि ल्याएका अध्यादेशका विषयमा पार्टी भित्र विभिन्न शंकाहरु उत्पन्न भईरहेका बेला दुवै अध्यक्षले सांसदहरुसँग छलफल गरिरहेका हुन्।  ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु नियमित प्रक्रिया भएको बताएको सांसद धामीले बताए।  – dineshkhabar