मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामचन्द्र जोशीको पुनरागमनसँगै चौरपाटीको शिक्षा क्षेत्रमा सुधारका प्रयास तीव्र, एक महिनामा १४ महत्वपूर्ण काम सम्पन्न

रामचन्द्र जोशीको पुनरागमनसँगै चौरपाटीको शिक्षा क्षेत्रमा सुधारका प्रयास तीव्र, एक महिनामा १४ महत्वपूर्ण काम सम्पन्न


अछाम । चौरपाटी गाउँपालिकाको शिक्षा क्षेत्रको सुधार, व्यवस्थापन र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षा शाखाले सक्रियता बढाएको छ। शिक्षा अधिकृत रामचन्द्र जोशी भदौ महिनादेखि पुनः चौरपाटी गाउँपालिकामा हाजिर भएसँगै शिक्षा, युवा तथा खेलकुद शाखामार्फत विभिन्न सुधारात्मक तथा व्यवस्थापकीय कामले गति लिएका छन्।

यसअघि पनि चौरपाटी गाउँपालिकामै शिक्षा अधिकृतका रूपमा कार्यरत रहनुभएका जोशीले बान्नीगढी जयगढ गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुका साथै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा मन्त्रीको सचिवालयमा रहेर समेत काम गरिसक्नुभएको छ। स्थानीय तहको प्रशासनिक तथा शैक्षिक व्यवस्थापन र प्रदेशस्तरीय कार्यसम्पादनको अनुभवसहित पुनः चौरपाटी फर्किनुभएका उहाँको जिम्मेवारीपछि शिक्षा शाखाले विभिन्न योजनाबद्ध काम अघि बढाएको हो।

शिक्षा शाखाले सार्वजनिक गरेको विवरणअनुसार २०८३ साल असोज महिनामा मात्रै शिक्षा, युवा तथा खेलकुद क्षेत्रसँग सम्बन्धित १४ वटा महत्वपूर्ण काम सम्पन्न तथा अघि बढाइएको छ।

शैक्षिक गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग बैठक तथा अन्तरक्रिया गरिएको छ। बैठकमा विद्यालयको शैक्षिक अवस्था, व्यवस्थापन र गुणस्तर सुधारका विषयमा छलफल गरी आवश्यक निर्णयसमेत गरिएको छ।

त्यसैगरी स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा व्यवस्थापनलाई प्रभावकारी बनाउन दिवा खाजा व्यवस्थापन समितिका पदाधिकारी, कृषक, सहकारी संस्था, प्रधानाध्यापक तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरिएको छ। यसले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै विद्यालय दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

नीतिगत तथा संस्थागत सुधारका क्रममा प्रधानाध्यापक छनोट कार्यविधि २०८३ को मस्यौदा तयार गरी कार्यपालिकामा पेस गरिएको छ। विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यविधि २०८३ को मस्यौदा पनि तयार गरी आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायमा पेस गरिएको छ। त्यस्तै, रिक्त शिक्षक दरबन्दीमा अस्थायी करार शिक्षक पदपूर्ति गरी विद्यालयको पठनपाठनमा हुन सक्ने अवरोध न्यूनीकरण गर्ने काम गरिएको छ।

शिक्षक व्यवस्थापनतर्फ आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षकहरूको तलब प्रतिवेदन तयार गरी राष्ट्रिय किताबखाना (शिक्षक) बाट पारित गराइएको छ। साथै तहगत शिक्षकहरूको विषयगत रोस्टर तयार तथा गठन गरिएको छ।

विद्यालयको आर्थिक पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले आर्थिक वर्ष २०८२/८३ को अन्तिम लेखापरीक्षणका लागि रजिस्ट्रर्ड अडिट फर्महरू सूचीकृत गरिएको छ।

शिक्षा क्षेत्रका विकास साझेदार संस्थासँग समन्वय तथा सहकार्य, शिक्षा विकास तथा समन्वय इकाइ अछामसँग कार्यक्रम कार्यान्वयनका विषयमा सहकार्य र संघ, प्रदेश तथा स्थानीय तहका विभिन्न निकायसँग आवश्यक समन्वयलाई समेत प्राथमिकता दिइएको छ।

यसैगरी विद्यालयहरूको नियमित अनुगमन तथा सुपरिवेक्षण गरी पठनपाठनको अवस्था, विद्यार्थी तथा शिक्षकको उपस्थिति, शैक्षिक गतिविधि र समग्र विद्यालय विकासका विषयमा आवश्यक सुझाव तथा निर्देशन प्रदान गरिएको छ।

शाखाले नियमित प्रशासनिक काम, पत्राचार, सिफारिस, अभिलेख व्यवस्थापन, सूचना सम्प्रेषण तथा कार्यक्रम व्यवस्थापनलाई व्यवस्थित बनाउने काम पनि अघि बढाएको छ। आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकको तलब भत्ता तथा चाडपर्व खर्चसमेत सम्बन्धित विद्यालयहरूको खातामा निकासा गरिएको छ।

चौरपाटी गाउँपालिकाको शिक्षा शाखाले आगामी दिनमा शैक्षिक गुणस्तर सुधार, विद्यालयको संस्थागत विकास, शिक्षक व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि र विद्यालय प्रशासनलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।

शिक्षा अधिकृत जोशीको स्थानीय तह तथा प्रदेशस्तरको कार्यानुभवलाई उपयोग गर्दै शिक्षा क्षेत्रका नीतिगत, प्रशासनिक र व्यवस्थापकीय सुधारलाई निरन्तरता दिन सके चौरपाटीको समग्र शैक्षिक विकासमा थप सकारात्मक उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।