मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना जितेका सुदूरपश्चिमका युवा भन्छन्- हिम्मत हार्नु हुँदैन, कोरोनालाई जितिन्छ

कोरोना जितेका सुदूरपश्चिमका युवा भन्छन्- हिम्मत हार्नु हुँदैन, कोरोनालाई जितिन्छ


डाक्टरले रिपोर्ट नेगेटिभ आयो भनेपछि खुसीले उफ्रीउफ्री नाँचे

कैलाली- सुदूरपश्चिमको पहिलो कोरोना संक्रमित अमृत शाही मंगलबार सेती प्रादेशिक अस्पतालबाट फर्केका छन्। पाँचौ पटकसम्म स्वाब परीक्षण गर्दा उनको दुइवटा रिपोर्ट लगातार नेगेटिभ आएपछि साझ घर फर्केका हुन्।

अस्पतालबाट डिस्चार्ज भएपछि उनले भने– ‘मैले हिम्मत हारिनँ। म कोरोनालाई जितेर घर फर्कें। अरु संक्रमितहरुले पनि हिम्मत हार्नु हुदैन।’

उनले आफूलाई केही नभएको बरु कोरोनालाई जितेर फर्किने संकल्प लिएको स्मरण गरे।
 
चैत ११ गते अस्पताल भर्ना भएका उनमा १४ गते कोरोनाको संक्रमण भएको पुष्टि रिपोर्ट आएको थियो।  त्यसपछि लगातारका तीन वटा रिपोर्ट पोजेटिभ नै आइरहेको थियो।

आफ्नो हिम्मतले नै कोरोनालाई जित्न सकेको उनले बताए। ‘अन्य बिरामीहरु पनि हिम्मत राख्नुस्’, उनको सुझाब छ, ‘सबै म जस्तै एक दिन निको भएर घर फर्किनेछन्।’

आफू निको भई घर फर्केपछि अन्य विरामी र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको पनि आत्मबल बढेको शाहीले प्रतिक्रिया दिए।

अस्पतालबाट डिस्चार्ज भए पनि उनलाई चिकित्सकहरुले अझै केही दिन घरभित्रै बस्न सुझाब दिएका छन्। ‘यतिका दिन त अस्पतालको शय्यामा एक्लै बिताएँ। अब परिवारको स्वास्थ्य र सुरक्षाका लागि थप एक हप्ता आफ्नै घरमा एक्लै बस्न मलाई केही गाह्रो छैन, एक हप्तापछि त घरपरिवारसँग हुनेछु’, उनले भने।
 
रिपोर्ट सुन्दा नाँचे
अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेका ३४ वर्षीय शाहीलाई चिकित्सकले टेलिफोनबाट मंगलबार दिउसो उनका पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएको सुनाए।

‘चिकित्सकले रिपोर्ट नेगेटिभ आएको भन्दा मेरो खुसीको सीमा रहेन। म आइसोलेसन वार्डमै उफ्रीउफ्री नाच्न थालें’, उनले स्मरण गरे।

अस्पताल भर्ना भएको २८ दिनपछि घर जान पाउने आशाले आफूमा त्यतिबेला निकै उत्साह आएको उनले बताए।

‘म त त्यही आइसोलेसन वार्डमा नाच्न थालें’, शाहीले भने, ‘संक्रमित भएको थाहा पाउँदा चैत १४ गते जति पीडामा थिएँ। र, त्यसयता उपचारका क्रममा जति पीडा खेपे। एउटै खबरले ती सबै बिर्सिएँ’, शाहीले सुनाए।

सुरुमा डराएको थिए
चैत १४ गते उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो। उनमा संक्रमण पुष्टि भएपछि सुरुवातमा चिकित्सकहरु पनि नजिक गएनन्। चिकित्सकले उनलाई उपचार गरेन भनेर चैत १५ गते उनी दिनभरी मिडियामा छाइरहे।

‘चैत १५ गते म निकै डराएँ। कसैले भेट्न नआउँदा र चिकित्सकहरु समेत आउन डराएको देख्दा पूरै रात डरले खुम्चिएर नसुतेरै काटे’, उनले भने, ‘भोलिपल्टदेखि स्वास्थ्यकर्मीहरुले उपचार गर्न थालेपछि आत्मबल पनि बिस्तारै बढ्दै गयो।’

उनको लगातार तीन पटक रिपोर्ट पोजेटिभ आएको थियो। तर आफू विचलित नभएको उनी बताउँछन्। बरु बिस्तारै आफूमा डर हराउँदै गएको उनको अनुभव छ।

चैत ७ गते दुबईबाट दिल्ली हुँदै काठमाण्डौ आएका शाही ८ गते त्यहाँबाट बुद्ध एयरमा नेपालगञ्ज आएका थिए। र नेपालगञ्जबाट सार्वजनिक यातायात चढेर धनगढी पुगेका थिए। त्यसको तीन दिनपछि उनी बिसञ्चो भएपछि आफैं सेती प्रादेशिक अस्पताल पुगेका थिए। चिकित्सकले अस्पतालमै भर्ना हुन भनेपछि उनी त्यहीँ बसे। त्यसको तीन दिनपछि उनको थ्रोट स्वाबको रिपोर्ट पोजेटिभ आएको थियो। – swsthyakahabr