मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाभूकम्प गएकै दिन रानीपोखरी उद्घाटन गर्ने योजना अधुरै

महाभूकम्प गएकै दिन रानीपोखरी उद्घाटन गर्ने योजना अधुरै


काठमाडौं । भूकम्प गएको ५ वर्षपछि आज अर्थात वैशाख १२ गते रानीपोखरीको पुनर्निर्माण सम्पन्न गरी उद्घाटन गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तयारी थियो ।

भूकम्पले क्षति पुगेको रानीपोखरीको पुनर्निर्माण कार्य लकडाउनको कारण पूरा हुन सकेन । ०७२ वैशाख १२ को भूकम्पले क्षतिपुर्‍याएको रानीपोखरीलाई मल्लकालिन स्वरुपमा ल्याउने प्रयास भइरहेको छ । शिखर शैलीमा पुनर्निर्माण भइरहेको रानीपोखरीमा आम सर्वसाधारणले भूकम्प अगाडि जस्तै पानीले भरिभराउ पोखरी देख्न सकिने विश्वास लिएका थिए ।

यतिबेला कोरोना भाइरस (कोभिड– १९)को संक्रमणको त्रास नभएको भए भूकम्पले पूर्णक्षति पुगेको रानीपोखरीले नयाँ स्वरुप पाउने थियो । लकडाउनका कारण रानीपोखरीको पुनर्निर्माणले पूर्णता पाउन नसकेको प्राधिकरणको भनाइ छ । पुनर्निर्माणको अन्तिम चरणमा पुगेको रानीपोखरी भूकम्प गएकै दिन उद्घाटन गर्ने प्राधिकरणको योजना अधुरै रहेको छ ।लकडाउनकै अवधीमा रानीपोखरी पुनर्निर्माणको बाँकी काम गर्ने कि नगर्ने भन्ने विषयमा कम्पनी र सम्पदा विज्ञहरुसँग छलफल भइरहेको उनले बताए । कामदारहरुलाई क्वारेन्टाइनमा राखेर काम सुरु गर्ने योजना रहेको इन्जिनियर सनमले सुनाए

लकडाउन सुरु हुनु अघिल्लो दिनसम्म रानीपोखरीमा कामदारहरु बालगोपालेश्वरको मन्दिर पुनर्निर्माण र पोखरीको निर्माणमा खटिरहेका थिए ।

केही कामदारहरु पोखरीमा इँटा बिछ्याउने, माटो बोक्नेदेखि गाह्रो लगाउने काममा व्यस्त थिए । उनीहरु वैशाख पहिलो साताभित्र काम सकेर पोखरीमा पानी भरिसक्नुपर्ने दबावले काम गरिरहेका थिए ।

पोखरीमा इँटा ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ भने पोखरीमा पानी भर्नका लागि दुई किनारमा २ सय मिटर गहिरो बोरिङ समेत खन्ने काम भइसकेको छ । पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर पुनर्निर्माण पूरा हुनेबितिकै पानी भर्ने योजना बनाइएको थियो । माघको अन्तिम साताभित्रै पोखरीमा पानी भर्ने लक्ष्य राखिएको थियो । तर चैत ११ गतेदेखि लकडाउन भएपछि काम अघि बढ्न सकेन ।

अघिकांश कामदार आफ्नै गाउँ गइसकेका छन् भने घर जान नचाहने भने त्यहीँ टहरो हालेर बसेका छन् । सीए तुलसी कन्सन्ट्रन्सनका साइट इन्जिनियर सनम श्रेष्ठले भने, ‘मन्दिरको काम भखरै सुरु भएको थियो । त्यसपछि रोकिएको छ । केही कामदार त्यहीँ बस्नुभएको छ । उहाँहरुले नै निर्माणस्थलको रेखदेख गरिरहनु भएको छ ।’

लकडाउनकै अवधीमा रानीपोखरी पुनर्निर्माणको बाँकी काम गर्ने कि नगर्ने भन्ने विषयमा कम्पनी र सम्पदा विज्ञहरुसँग छलफल भइरहेको उनले बताए । कामदारहरुलाई क्वारेन्टाइनमा राखेर काम सुरु गर्ने योजना रहेको इन्जिनियर सनमले सुनाए ।

साइट इन्जिनियर श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यलय काठमाडौंले कामदारहरुलाई काममा लगाउनको लागि पासको व्यवस्था गरिसकिएको छ । कामदारहरुले काम गर्न मन्जुर भए शनिबारदेखि काममा लगाउने योजना छ । कामदारहरु किर्तिपुरकै भएकाले खासै समस्या नहुने उनको भनाइ छ ।

प्राधिकरणका अनुसार लकडाउनपछि काम अघि बढाउने विषयमा सरोकार पक्षसँग छलफल  भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कोरोना संक्रमणका कारण रानीपोखरीको पुनर्निर्माण मात्र नभई समग्र पुननिर्माणको क्षेत्र प्रभावित पारेको बताएको छ । प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले लकडाउनपछि पुनर्निर्माणमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘यो लकडाउन कसरी अगाडि बढ्छ त्यहीअनुसार पुनर्निर्माणको काम अगाडि बढ्छ । हामीले त्यसको लागि आगामी वर्षको कार्ययोजनाहरु तयार पार्दैछौं ।’

विवादमै वित्यो ४ वर्ष

ऐतिहासिक सम्पदा ०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण कसले गर्ने भन्ने टुंगो लागेको थिएन । भूकम्प गएकै वर्ष माघ २ गते प्रथम पटक निर्वाचित भएकी राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको पुनर्निर्माण १ वर्षभित्र पूरा हुने भन्दै उद्घाटन गरेकी थिइन् । तर पुनर्निर्माणको जिम्मा कसलाई दिने टुंगो नहुँदा उद्घाटन गरेको १ वर्षसम्म काम अगाडि बढ्न सकेन ।

सरकारले रानीपोखरीको पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकालाई दिएको थियो । तर पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच विवाद हुँदा काम अगाडि बढ्न सकेन ।

महानगरले पुनर्निर्माणमा कंक्रिट प्रयोग गरेको भन्दै पुरातत्व विभागले काममा रोक लगाएको थियो । यसबीचमा रानीपोखरीकै लागि भनेर झण्डै २ करोड बजेट सकिएको थियो । तर काममा भने प्रगति हुन सकेन ।

त्यसपछि सरकारले ०७५ माघमा रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो । लगत्तै प्राधिकरणले पोखरीको पुनर्निर्माणको लागि उपभोक्ता समिति र बालगोपालेश्वरको मन्दिरको पुनर्निर्माण टेन्डरमार्फत् सीए तुलसी कन्सन्ट्रक्सनलाई दिएको थियो ।

स्थानीय उपभोक्ता समितिले पोखरीमा माटो बिछ्याउने पर्खाल लगाउने, इँटा बिछ्याउने, पोखरीमा पानी भर्ने काम पाएको छ । जसअन्तर्गत यी कामहरु अन्तिम चरणमा पुगिसकेको छ ।

सीए तुलसी कन्सन्ट्रसनले बालगोपालेश्वर मन्दिर जाने पुल, बगैँचाको सौन्दर्यकरण र मन्दिर निर्माणको जिम्मा पाएको छ । हाल पुलको काम सकिएको छ भने मन्दिरको काम सुरु भएको छ । बगैँचाको काम भने सुरु भएको छैन । – onlinekhabar