मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेश सरकारको कोरोना रोकथाम कार्ययोजना

सुदूरपश्चिम प्रदेश सरकारको कोरोना रोकथाम कार्ययोजना


सुदूरपश्चिम प्रदेश सरकारको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरस रोग नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्ययोजना २०७७ पारित गरेको छ। प्रदेशका मुख्यमन्त्री एवं केन्द्रका संयोजक त्रिलोचन भट्टको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले पारित गरेको कार्ययोजना सम्बन्धित निकायमा पठाई त्यसको प्रगति प्रतिवेदन समेत मगाउने निर्णय गरिएको छ।

बैठकले बाहिरबाट प्रदेशमा प्रवेश गर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सेवा निर्देशनालयले बनाएको मार्गदर्शन बमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, गड्डा चौकी र त्रिनगर भन्सार सीमा नाका हुँदै भित्रिने मालबाहक र प्रदेशभित्र चल्ने बस  र सवारी साधनमा नियमित रुपमा स्यानिटाइजको व्यवस्था मिलाउने, कोरोनाको परीक्षण प्रयोगशालामा देखिएको जनशक्तिको अभाव पूर्तिका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ।

केन्द्रको बैठकले आगामी दिनमा सिर्जना हुन सक्ने खाद्यान्नको अभावलाई मध्यनजर गरी प्रदेशमा उत्पादन भएको खाद्यान्न निर्यात हुन नदिनका लागि पहल गर्ने निर्णय पनि गरेको छ। सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको दर पछिल्ला दिनमा स्थिर अवस्थामा छ। कोरोना सङ्क्रमित भएको पुष्टि भई सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना मध्ये चार जना निको भई डिस्चार्ज भएका छन्। उपचाररत एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।–रासस