मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूचना स‌ंकलनमा खटिएका पत्रकार पक्राउ गर्नु निन्दनीय : महासंघ

सूचना स‌ंकलनमा खटिएका पत्रकार पक्राउ गर्नु निन्दनीय : महासंघ


काठमाडौं । नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा रेहका पत्रकारलाई पक्राउ गर्नु निन्दनीय र खेदजनक काम भएको बताएको छ । महासंघले सोमबार एक विज्ञप्तिमा भरतपुरस्थित चौबीसकोटीबाट कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई पक्राउ गरेकोमा खेद प्रकट गरेको हो ।

महासंघले पत्रकारद्वयले  परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले दुर्व्यवहार गर्दै प्रहरीकै गाडीमा राखी भरतपुरको कभर्डहलमा रहेको क्वारेन्टाइनमा लगी खिचिएका फोटो र भिडियो मेटाउनुका साथै पत्रकारका सवारी साधन र सञ्चार साधनसमेत नियन्त्रणमा लिएको बताएको छ ।

महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरोना भाइरसको उच्च संक्रमणलाई मध्यनजर गर्दै गरिएको लकडाउनको बिसम परिस्थितिमा नागरिकलाई सुसूचित गराउने पेसागत कर्म निर्वाहमा रहेका पत्रकारलाई सहयोग गर्नुको सट्टा प्रहरीबाट गरिएको यो हर्कत आफैंमा निन्दनीय र खेदजनक काम भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘महासंघ घटनामा संलग्न प्रहरीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक अधिकारको ख्याल गर्न तथा पत्रकारको सुरक्षामा संवेदनशील बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ ।’’

यसैगरी नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कार्यसमितिका सदस्य तथा दैलेखस्थित नागरिक दैनिकका संवाददाता गोविन्द केसीलाई समाचार लेखेकै कारण दिएको धम्कीको घटनाप्रति पनि नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको उल्लेख गरेको छ । महासंघले धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । – baarakhari