मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा ठेक्का सम्झौता नहुँदा प्रदेश गौरवका सडक अलपत्र

सुदूरपश्चिममा ठेक्का सम्झौता नहुँदा प्रदेश गौरवका सडक अलपत्र


कमल सावद

धनगढी : ठेक्का सम्झौता नहुँदा सुदूरपश्चिममा प्रदेश गौरवका सडक योजनाको निर्माण अलपत्र परेका छन्। प्रदेश सरकारले प्रत्येक जिल्लाका एक÷एक सडकलाई प्रदेश गौरवको सडक घोषणा गर्दै चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेपनि ठेक्का सम्झौता नभएको हो। भारत तथा चीनको सीमानाका जोड्न उत्तर÷दक्षिणका ९ सडकलाई प्रदेश मन्त्रीपरिषद्को बैठकले प्रदेश गौरवका सडकको रुपमा विकास गर्ने निर्णय गरेको थियो।

चालु आर्थिक वर्षमा पनि पूर्वाधार कार्यालयहरुलाई सडक निर्माणका लागि प्रदेश सरकारले अख्तियारी दिएको छ। तर लकडाउनका कारण सडक निर्माणको ठेक्का सम्झौता हुन बाँकी छ। पुर्वाधार कार्यालय कैलालीका प्रमुख श्याम खड्काले लकडाउन खुल्ने बितिकै सडक निर्माणका लागि टेण्डर आह्वान गर्ने बताए। उनले प्रदेश गौरवका सडक बहुवर्षीय योजना भएकाले चालु वर्षमा ठेक्का भए अर्का वर्षमा पनि काम निरन्तर चल्ने बताए।

कैलालीमा भजनी छोटी भन्सारदेखि खिमडी, ठूलीगाड सडक सुदूरपश्चिम सरकारले प्रदेश गौरवको योजनामा राखेको छ। कञ्चनपुरको दैजी, बेदकोट, डडेल्धुराको जोगबुढा, चिरकट्टे–घटाल–बेलापुर र बझाङको ढुंगाड हुँदै उत्तर चीनको नाका जोड्ने सडकलाई पनि प्रादेशिक गौरवको सडकमा राखिएको छ। चालु आर्थिक वर्षमा तीन करोड विनियोजन गरिएको छ। कलुवापुर देखि उत्तर साढे पाँच किलोमिटर सडक कालोपत्रेका लागि २५ करोडको टेन्डर प्रक्रिया थालिएको छ।

अछामको जंगलघाट हुँदै बाजुराको बडिमालिका जोड्ने सडकलाई पनि प्रदेश गौरवको सडकमा राखिएको छ। अछाममा २३ किलोमिटर सडकको स्तर बृद्धिका लागि १९ करोडको ठेक्काको प्रक्रिया थालिएको पूर्वाधार कार्यालय अछामका प्रमुख झंक थापाले जानकारी दिए। कञ्चनपुरमा पनि ठेक्का प्रक्रिया अगाडी बढाईएको छ। दार्चुलाको देउथला हुँदै उत्तर चीन नाका छुने सडक र बैतडीको सदबाझ, श्रीभावर, हाट, दार्चुला सडकलाई पनि प्रदेश गौरवको योजनामा राखिएको छ।

झण्डै सय÷सय किलोमिटर लम्बाई रहका सडकको दार्चुलामा २० र बैतडीमा १८ किलोमिटरको ठेक्काको प्रक्रियामा रहेको छ। गत चैत १९ गते ठेक्काका लागि सूचना प्रकाशन गरिएको भएपनि लकडाउनका कारण सम्झौता नभएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगदिश जोशीले बताए। डडेल्धुरामा १६ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का सम्झौतको प्रक्रियामा छ। डोटीमा १२ किलोमिटर पिच र १० किलोमिटर सडकको ट्रयाक खोल्नका लागि ठेक्का सम्झौताको तयारी थालिएको पूर्वाधार कार्यालय डडेल्धुराका प्रमुख राम चन्द्र कार्कीले बताए।

बझाङमा १४ किलोमिटर सडक निर्माण स्तरबृद्धिका लागि ठेक्का गर्न प्रक्रिया थालिएको छ। चालु आर्थिक वर्षमा १० करोड प्रदेश सरकाले विनियोजना गरेकोमा १७ करोडको ठेक्का गर्ने योजनामा पूर्वाधार कार्यालय छ। तर ठेक्का सम्झौतका लागि आवश्यक प्रक्रिया थालिएको छैन्। प्रदेश गौरवका ९ वटै सडक निर्माणको काम राकिएपछि प्रदेश सरकारले स्थानीय प्रसाशनसंग समन्वय गर्दै आएको बताएको छ।

सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर शाहीले डिजाईन स्टमेट र डिपीआर नभएका सडकको पनि तयार भईसकेको बताउँदै स्थानीय प्रशासनसँग समन्वय गरी योजना सञ्चालनको व्यवस्था मिलाउन मातहतका कार्यालयलाई निर्देशन दिईएको जानकारी दिए। – dineshkhabar