मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लामा अलपत्र परे ओखलढुङ्गाका छ मजदुर

जुम्लामा अलपत्र परे ओखलढुङ्गाका छ मजदुर


ओखलढुङ्गा- ओखलढुङ्गाका छ युवक जुम्लामा अलपत्र परेका छन् ।

जिल्लाको खिजिदेम्बा गाउँपालिका–४ खिजीकातीका युवा लकडाउनका कारण जुम्लामा अलपत्र परेका हुन् ।

काठ चिरानको कामका लागि गत फागुन २७ गते जुम्ला पुगेका उनीहरु लकडाउनका कारण गाउँ फर्कन नसकेका हुन् ।

कोरोनाको डरले काम गर्ने अवस्था नभएको र लकडाउनका कारण घर फर्कन पनि नसकेको अलपत्र युवक सुकवीर तामाङले बताए ।

लामो समयको लकडाउनले आफूहरुलाई खान बस्नसमेत समस्या भएको उनको भनाइ छ । “हामी छ जना यहाँ जुम्लामा रोेकिएर बसेका छौँ । खान–बस्न समस्या भइरहेको छ । गाउँ फर्कन चाहन्छौँ तर सम्भावना भएन”, उनले टेलिफोनमा भने, “स्थानीय सरकारले अलपत्र परेका नागरिकलाई उद्धार गरेको सुनियो । हामीलाई पनि सहयोग गरिदिएहुन्थ्यो ।”

अझै लामो समय लकडाउन भए थप समस्या हुने भएकाले उद्धारका लागि उनीहरुले अपिल गरेका छन् ।

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले टाढाका अलपत्र नागरिकलाई गाउँ फर्काउन सक्ने अवस्था नरहेको बताए ।

राजधानी काठमाडौँबाट गाउँ फर्कन चाहनेलाई स्थानीय सरकारले सवारी व्यवस्था गरेर ल्याएको भए पनि जुम्लामा अलपत्र परेकालाई गाउँ ल्याउन अहिले सम्भव नहुने उनको भनाइ छ ।

खिजीदेम्बाले करिब ७०० नागरिकलाई राजधानीबाट उद्धार गरेर गाउँ फर्काएको छ । रासस