मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगन्जका २३ जना कोरोना संक्रमित एउटै टोलका

नेपालगन्जका २३ जना कोरोना संक्रमित एउटै टोलका


नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २३ पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार उनीहरु सबै एउटै टोलका हुन्।

गएको शुक्रबार एकजना ६० वर्षीय पुरुषमा पहिलो संक्रमण देखिएपछि उनलाई पछ्याउने क्रममा नेपालगन्ज उपमहानगरपालिका–८ जोलाहनपूर्वाका ९४ जनाको स्वाब परीक्षण गरिएको थियो।

पहिलो संक्रमितको परिवार, आफन्त, उनले पढाउने विद्यार्थी र उनको सम्पर्कमा रहेका व्यक्तिमध्ये आइतबार १५ जना र आज ७ जना गरी सोही स्थानका अरु २२ जना नयाँ संक्रमित भेटिएका हुन्।

मंगलबार कोरोना पुष्टि भएका व्यक्तिहरु पहिलो संक्रमित परिवारका सदस्यसमेत छन्। ३२, ३४ र ५५ वर्षका महिला र २२, ३० र ४० वर्षका पुरुषमा संक्रमण देखिएको हो।

नेपालगन्जमा संक्रमित पुष्टि भएकाहरुमा ७ र ९ वर्षका बालिकासहित ११ महिला र १२ पुरुष छन्। कोरोना संक्रमण पुष्टि भएकाहरुलाई खजुरास्थित कोरोना अस्पतालमा लगिएको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ।

संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर थप स्वाब संकलन गर्न स्वास्थ्यकर्मी जुटेका छन्। संक्रमण फैलिन नदिन, संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गर्न र स्वाब संकलनलाई प्रभावकारी गराउन तीन दिनसम्म नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

आज (मंगलबार) देखि तीन दिनसम्म नेपालगन्ज उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको हो।

निषेधाज्ञापछि अत्यावश्यक कामका लागि अनुमति पाएका सवारीसाधन पनि चलेका छैनन्। निषेधाज्ञा सुरु हुनुअघि मंगलबार बिहान नेपालगन्जको त्रिवेणी मोडमा व्यापारी र प्रहरीबीच झडप पनि भएको थियो। निषेधाज्ञा सुरु हुनु एक घण्टाअगाडि नै प्रहरीले किराना पसल बन्द गर्न खोेजेपछि झडप भएको हो।

झडपमा परी दुई स्थानीय सामान्य घाइते भए भने प्रहरीको बा १ झ ८२८४ नम्बरको गाडीमा स्थानीयले ढुंगामुढा गरेका छन्।

निषेधाज्ञाको समयमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कन्ट्याक्ट ट्रेसिङका जनशक्ति बाहेक अरु सबैलाई हिँडडुलमा प्रतिबन्ध लगाइएको छ।

रानी तलाउस्थित तरकारी बजार पनि अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको छ। – nepalsamaya