मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाविरुद्धको खोप निर्माणमा अक्सफोर्ड विश्वविद्यालयलाई सुरुआती सफलता

कोरोनाविरुद्धको खोप निर्माणमा अक्सफोर्ड विश्वविद्यालयलाई सुरुआती सफलता

सुदूर आज

काठमाडौं- कोरोना भाइरसविरुद्धको खोप निर्माणमा अनुसन्धानकर्ताहरुले सुरुआती सफलता प्राप्त गरेका छन्। अक्सफोर्ड विश्वविद्यालयमा खोप निर्माणका लागि भइरहेको कामको सुरुआती निष्कर्ष सफलताउन्मुख देखिएको हो। अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्यूटका अनुसन्धानकर्ताले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको खोप बनाउन काम सुरु गरेका थिए।

बाँदरमा परीक्षण

अहिले यो खोपको बाँदरमा सफल परीक्षणपछि मानिसहरुमा परीक्षण भइरहेको छ। अनुसन्धानकर्ताको रिपोर्टमा यो खोप ६ वटा बाँदरमा परीक्षण गरिएको थियो। ती बाँदरलाई नयाँ बनाइएको खोप दिइएपछि कोरोना भाइरसको ठूलो मात्रा उनीहरुको शरीरमा प्रवेश गराइएको थियो।

केही बाँदरमा यो खोप दिइएको १४ दिनमा एन्टिबडी विकसित भयो भने केहीलाई २८ दिन लाग्यो।

अनुसन्धानकर्तालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘कोरोना भाइरसको सम्पर्कमा आएपछि, यो खोपले ती बाँदरहरुको फोक्सोलाई क्षति हुनबाट जोगायो र बाँदरको शरीरमा कोरोना भाइरसको वृद्धि पनि भएन। यद्यपि अहिले पनि भाइरस नाकमा सक्रिय देखिएको छ।’

लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक स्टिफन इभान्सले भनेका छन्, ‘बाँदरमा गरिएको परीक्षणको परिणाम वास्तवमै राम्रो खबर हो। अक्सफोर्ड भ्याक्सिनले एउटा वाधा राम्रोसँग पार गरेको छ।’

सफल हुने संभावना

खोप विकसित गर्ने प्रक्रियामा बाँदरमा यसको प्रयोग सफल हुनु महत्वपूर्ण मानिन्छ। तर, वैज्ञानिकहरुका अनुसार जुन खोप प्रयोगशालामा बाँदरहरुमा सफल हुन्छ, त्यो मानिसको रक्षामा विफल पनि हुन सक्छ।

‘यद्यपि, मानिसमा असफल हुनसक्ने खोपले बाँदरलाई सुरक्षा दिनुको सट्टा रोगलाई झन खराब बनाउने गर्छ। कोरोना भ्याक्सिन निर्माणमा अझै पनि एउटा सैद्धान्तिक चिन्ता कायमै छ तर, बाँदरमा नकारात्मक प्रभाव नहुनुले हामी धेरै उत्साहित छौं,’ प्राध्यापक इभान्स भन्छन्।

अनुसन्धानकर्ताहरुका अनुसार करिब एक हजार स्वयम्सेवी मानिसमा परीक्षणका लागि यो खोप दिइएको छ। आगामी महिनासम्ममा अनुसन्धानकर्ता यो खोप मानिसमा सफल हुने वा नहुनेबारे स्पष्ट निष्कर्षमा पुग्नेछन्।

विश्वका अन्य देशमा पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण मानिसमा परीक्षणको स्तरसम्म पुगेका छन्। बीबीसीका अनुसार विश्वभर १०० भन्दा धेरै खोप निर्माणका काम भइरहेका छन् ।

तर, ४० लाखभन्दा धेरै मानिस संक्रमित भएको र तीन लाखभन्दा धेरैको ज्यान लिइसकेको कोरोना भाइरसको खोप निर्माणमा सबैभन्दा ठूलो चुनौती भनेको भ्याक्सिन बने पनि त्यसको ठूलो परिमाणमा उत्पादन गर्नु हो ।

सामान्य अवस्थामा खोप पूर्ण रुपमा विकसित गर्न १० वर्षको समय लाग्ने गरेको छ। तर महामारीको तात्कालिकतालाई ध्यानमा राखेर अनुसन्धानकर्ता यसलाई छिटोभन्दा छिटो विकसित गर्ने प्रयासमा छन्।