मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सङ्क्रमितको सम्पर्कमा आएका अछामका २२९ को स्वाब सङ्कलन

सङ्क्रमितको सम्पर्कमा आएका अछामका २२९ को स्वाब सङ्कलन


शिबराज ढुंगाना, अछाम, कोरोना सङ्क्रमण पुष्टि भएका अछाममा ११ जनाको सम्पर्कमा आएका दुइ सय २९ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । मेल्लेखमा ९९ जना, चौरपाटीमा ६४ जना र अछाम अस्पतालमा ६६ जनाको स्वाब सङ्कलन पीसीआर परीक्षणका लागि मङ्गलबार राति नै धनगढी पठाइएको छ ।

मेल्लेखमा कोरोना पुष्टि भएका आठ जनासँगै धनगढीबाट एकै बसमा घर फर्केका थप ९९ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । सङ्क्रमितसँग यसअघि क्वारेन्टाइनमै रहेका र बसमा आएका व्यक्तिहरूको स्वाब सङ्कलन गरेर परीक्षणका लागि धनगढी पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाले जानकारी दिनुभयो ।

चौरपाटी गाउँपालिकाका दुई जना कोरोना सङ्क्रमितसँगै क्वारेन्टाइनमा रहेका र सम्पर्कमा आएका ६४ जनामा मङ्गलबार थ्रोट स्वाब सङ्कलन गरिएको छ । जसमा ६० जना पुरुष र चार जना महिला रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर थापाले जानकारी दिनुभयो । चौरपाटी गाउँपालिका–२, सोकटमा रहेको क्वारेन्टाइनमा रहेका दुई जनामा यसअघि कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएका एम्बुलेन्स चालकको सम्पर्कमा आएका महिला र पुरुष गरेर ६६ जनाको स्वाब सङ्कलन गरिएको अछाम अस्पतालका डाक्टर अतुल भारद्वाजले जानकारी दिनुभयो । अछाम अस्पतालका एम्बुलेन्स चालकमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सम्बन्धित स्थानीय तहको समन्वयमा चौरपाटीमा स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गाना र मेल्लेखमा जनस्वास्थ्य अधिकृत झपटराज ढुङ्गानाको नेतृत्वमा ल्याब टेक्निसियन सहितको टोलीले स्थलगत रुपमै स्वाब सङ्कलन गरेको थियो । एम्बुलेन्स चालकको सम्पर्कमा आएका व्यक्तिको भने अछाम अस्पतालमा स्वाब सङ्कलन गरिएको थियो ।

यस्तै, क्वारेन्टाइनमा रहेका तुर्माखाँद गाउँपालिका–४, तुर्माखाँद र ५ नाडाको दुई क्वारेन्टाइनमा रहेका एक महिलासहित १० जनाको स्वाब मङ्गलबार नै सङ्कलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक एकिन्द्र वयकले जानकारी दिनुभयो । तुर्माखाँदबाट सङ्कलन गरिएका स्वाब पिसिआर परीक्षणका लागि सुर्खेत पठाइएको गोरखापत्रमा खबर छ ।