मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नास्टका वैज्ञानिकद्वारा सिसडोलको फोहरबारे अध्ययन : पानी समेत प्रदूषित रहेको पुष्टि

नास्टका वैज्ञानिकद्वारा सिसडोलको फोहरबारे अध्ययन : पानी समेत प्रदूषित रहेको पुष्टि

सुदूर आज

काठमाण्डौ – काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोट सिसडोल ल्यान्डफिल साइट वरपरको पानी समेत प्रदूषित भएको पाइएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाईँ जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा फोहरको लिच्चडका कारण पानी समेत प्रदूषित भएको पाइएको हो ।

टोलीले लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको ठाउँ र लिच्चड मिसिने ठाउँभन्दा ९ सय २० मिटर पर गरेर तीन वटा फरक फरक बिन्दुबाट पानीको नमुना सङ्कलन गरेर अध्ययन गरेको हो। सिसडोलबाट सङ्कलित तीन वटा नमुनाको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको काठमाण्डौ महानगरका मेयर बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ । यसबाट त्यहाँ जल सम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको मेयर साहले उल्लेख गर्नुभएको छ । विज्ञ टोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न सुझाव दिएको छ । पानी तथा लिच्चडको पूर्ण रिपोर्ट केही दिनमा आउनेछ । साथै अनुगमनमा खटिएको नास्टको टोलीले समस्या समाधानको विधिसहित सुझाव दिनेछ ।

नास्टलगायत अन्य सङ्घसंस्थाका विज्ञसँग समन्वय गरेर फोहरको समस्या समाधानमा तत्कालै गर्न सकिने, मध्यमकालीन र दीर्घकालीन अभ्यास गरिने मेयर साहले बताउनुभएको छ ।

हिजो नै अमृता पौडेलको नेतृत्वमा सिसडोल पुगेको टोलीले सिसडोल डाँडा अवलोकन गरेर गन्धरहित बनाउन चाहिने जीवाणुको मात्रा र छर्ने विधि पनि निर्क्याैल गरेको छ । यसका लागि प्रारम्भिक काम तीन दिनभित्र नै सुरु गर्ने तयारी छ ।

तस्बिर : मेयर साहकाे फेसबुक