मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहानैदेखि वर्षा, बाढी–पहिरोको जोखिमबाट सतर्क रहनू

बिहानैदेखि वर्षा, बाढी–पहिरोको जोखिमबाट सतर्क रहनू

सुदूर आज

काठमाडौं । देशका विभिन्न क्षेत्रमा गएराति देखिनै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको छ । आज बिहान प्रदेश–१, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम समान्यता सफा रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

यसैबीच, देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ । निरन्तरको वर्षाका कारण केही नदी तथा खोलामा जलस्तर बढेको छ । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझभन्दा आज बिहान ५ बजे १.५ मिटरले बढेको छ । मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान १० बजेसम्म अति उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

झापाको शनिश्चरे, चन्द्रगढीलगायत इलाम, झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको भएको छ । मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम रहेको छ । महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउनु पर्ने जनाएको छ । 

भोजपुरमा पनि भारी वर्षा मापन गरिएको छ । सो क्षेत्र भएर बग्ने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रमा बस्ने स्थानीयले उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाले जोड दिएको छ ।