मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम बाट भीम रावल चुनाव जित्लान त ?

अछाम बाट भीम रावल चुनाव जित्लान त ?


श्रममन्त्री कुँवर सँग रावलको लडाइँ

अछाम: देशभर चुनावी चर्चा सुरु भएको छ। यसपटकको चुनावमा रोचक सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीच भिडन्त हुने अपेक्षा स्वभाविक छ। २०७४ सालको चुनावमा माओवादीसँग मिलेको एमालेले धेरै ठाउँमा जित हासिल गरेको थियो।

माओवादीसँगको तालमेलले एमालेले धेरै ठूला कांग्रेस नेताहरुलाई चुनाव हराउन सफल भएको थियो। तर, अहिले अवस्था फेरिएको छ। सत्ता गठबन्धनमा अहिलेकै अवस्थामा तालमेल भएर चुनाव हुँदा एमालेका केही ठूला नेताको हालत खराब हुने अवस्था छ।

त्यसमध्ये भीम रावल पनि एक हुन्। अछामका भीम रावल नेपाली राजनीतिका प्रभावशाली नेता हुन्। जो यसअघि गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका छन्। एमाले अध्यक्षको चुनावसमेत लडेका रावल १० औं महाधिवेशनमा ओलीसँग भारी मतान्तरले पराजित भएका थिए।

माधव नेपाल गुटका रावल अहिले एमालेमा प्रतिपक्षी नेता हुन्। जो सँधै ओलीको विरोध गरिरहन्छन्। माधव नेपालले पार्टी छाडेपछि त्यो गुटको नेतृत्व अहिले भीम रावलले गरिरहेका छन्। एमालेमा माधव नेपाल गुटको नेतृत्व गरेकै कारण १० औमहाधिवेशनमा ओलीसँग भारी मतान्तरले हारेका भीम रावल यसपटकको प्रतिनिधि सभा चुनावमा अछामबाट पनि हार्न सक्ने अनुमान गरिएको छ।

सत्ता गठबन्धन मिलेको खण्डमा अछाम क्षेत्र नम्बर १ मा यसपटक रावललाई गम्भीर धक्का पर्न सक्ने अवस्था छ। त्यसमाथि एमालेको सरकारमा रावलले अछाममा खासै जनता खुशी पार्ने काम गर्न सकेका छैनन्। त्यसै पनि भीम रावल पछिल्लो समय गृहजिल्लामा कमजोर हुँदै गएका छन्। सत्ता गठबन्धन बनेको खण्डमा अहिले श्रममन्त्री बनेका शेरबहादुर कुँवरको चुनाव जित्ने सम्भावना बढ्दो छ।

एमालेमा धेरै नेता कार्यकर्ता असन्तुष्ट रहेका कारण भीम रावललाई अछाममै चुनाव जित्न गाह्रो हुने स्थानीय बताउँछन्। तर, चुनाव अगाडि हुने अंकगणितमाथि धेरै चलखेल हुने भएकाले अहिले नै अनुमान गर्न सक्ने अवस्था छैन।

भीम रावलको राजनीतिक यात्रा
२०३० सालदेखि प्रगतिशील विद्यार्थी राजनीतिमा संलग्न रहेका रावल २०३२ सालको विद्यार्थी आन्दोलनमा लागेका नेता हुन्। त्यतिबेला उनी सुरक्षा कानुन अन्तर्गत केन्द्रीय कारागारमा बन्दी भएका थिए। उनले २०३५ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरे।

२०४७ सालमा नेकपा मालेका तर्फबाट मन्त्री बनेका झलनाथ खनालको राजनीतिक सल्लाहकार बने। उनी २०४८ सालमा अछामबाट चुनाव लडेर पराजित भए। २०५१ सालमा भने निर्वाचित भए। २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा पर्यटन राज्यमन्त्री बने। २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार हुँदा पर्यटनमन्त्री बने। २०५६ सालमा अछामबाट सांसदको निर्वाचनमा पराजित भए।

२०६४ सालमा संविधानसभा निर्वाचनमा समानुपातिकतर्फका सदस्य भए। २०६६ देखि २०६८ सालसम्म गृहमन्त्री बने। रावल २०७२ सालमा उपप्रधान तथा रक्षामन्त्री बने। २०७० सालमा अछामबाट निर्वाचित सांसद रावल २०७४ मा पनि निर्वाचित भएका थिए।

२०६२/६३ सालको जनआन्दोलनमा ३५ दिन सशस्त्र प्रहरीको व्यारेकमा बन्दी हुन पुगे। यसरी राष्ट्रिय राजनीतिमा उदाएका रावल एमालेको उपाध्यक्ष हुँदै अध्यक्ष बन्ने दाउमा छन्। एमालेमा ओली, ईश्वर पोखरेल, सुवास नेम्वाङपछि प्रभावशाली नेताका रुपमा रावल छन्।

श्रममन्त्री कुँवर र भरत स्वाँरसँग रावलको लडाइँ

अछामको साँफेबगर नगरपालिका वडा नम्बर ६ मा २०१३ साउन ४ गते जन्मिएका उनले राजनीति शास्त्रमा विद्यावारिधी र कानुनमा स्नातक गरेका छन्।

हाल अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य रावललाई फेरि निर्वाचन जित्न कठिन देखिएको छ। नेकपा एमालेबाटै अलग भएको नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट सोही निर्वाचन क्षेत्रमा हालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर प्रतिनिधिसभा निर्वाचनका लागि अछाम–१ बाट उम्मेदवार सिफारिस भएका छन्।

त्यस्तै नेपाली कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य गोविन्द शाह र तत्कालीन जिल्ला सभापति भरत स्वाँर लगायतको चुनावी आकांक्षा बढेको छ। यी दुवै उम्मेद्वार भीम रावलका अगाडि कमजोर हुन्। तर, पनि पछिल्लो समय जिल्लामा भीम रावलप्रतिको गुनासो र असन्तुष्टि बढ्दो छ।

गृह जिल्लामा भएका धेरै नेता कार्यकर्ता रावलसँग सन्तुष्ट छैनन्। खासगरेर अछामको विकास र पूर्वाधार निर्माणमा रावल गम्भीर नभएको आरोप लाग्छ। अहिले एमाले प्रतिपक्षमा खुम्चिएका बेला यो नारा उरालिएको खण्डमा रावललाई चुनौती थपिने निश्चित छ।

जनताको असन्तुष्टिले असफल हुने डर

भीम रावलले एकसमय सुदूरपश्चिम र कर्णाली क्षेत्रमा बलियो पकड बनाएका थिए। तर, अहिले नेता रावल प्रति अछामी जनता सन्तुष्ट छैनन्। राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र स्वाधीनताका पक्षमा उभिने रावलले आफ्नो गृह जिल्लामा खासै विकास गर्न नसकेको उनीहरुको गुनासो छ।

आर्थिक, सामाजिक र राजनीतिक रुपमा सुदूर पहाड निकै पछाडि छ। रोजगारीको शिलशिलामा सबै भन्दा बढी भारत जाने पनि सुदूरपहाडकै छन्। यी सबै कुरालाई रावलले नजिकबाट बुझे पनि केही पहलनै नगरेको उनकै निर्वाचन क्षेत्रका धेरै नागरिकको गुनासो छ।

आफ्नै निर्वाचन क्षेत्रमा चुनाव लड्न फलामका चिउरा चपाउनुपर्ने अवस्थामा पुगेका रावल अछाम क्षेत्र नम्बर १ बाट चुनाव जित्न निकै चुनौती पनि छ।

साँफेबगर नगरपालिकाकै बासिन्दा रावलले जिल्लाको केन्द्रमै पनि आँखाले देख्न सकिने विकास गर्न सकेका छैनन्। जसले उनलाई यसपटकको चुनावमा ‘हार चखाउने’ चुनौती देखिन्छ।