मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालले पायो देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड

बयालपाटा अस्पतालले पायो देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड


अछाम : बयालपाटा अस्पतालले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पतालले देशभरीबाट सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो ।

बिहिबार राजधानी काठमाण्डौँमा आयोजित एक कार्यक्रममा कर्पोरेट क्लब नेपालले अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरेको हो । द एचआएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स – स्वास्थ्य (the HRM Nepal Award for Corporate Excellence – Health) नाम दिएको उक्त अवार्ड उपरास्ट्रपति नन्द बहादुर पुनले बयालपाटा अस्पताललाई प्रदान गरे ।

अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै न्याय हेल्थ नेपालका महासचिव एसपी कलौनीले नेपालमा निशुल्क र गुणस्तरिय स्वास्थ्य सेवा दिने संस्थाको अभियानमा थप होसल्ला मिलेको बताए ।

हरेक नेपाली नागरिकले गुणस्तरिय तथा नि:शुल्क सेवा पाउनु पर्ने र त्यसका लागि आफ्नो अभियान जारी रहेको भन्दै महासचिव कलौनीले अवार्ड प्रदान गर्ने कर्पोरेट क्लब, नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सबै साझेदार संघसंस्था र सेवाग्राहीहरु धन्यवाद समेत दिएका छन् ।

यस्तै अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै अस्पतालका मेडिकल निर्देशक डा. मन्दिप पाठकले यो उपलब्धी अस्पतालमा काम गर्ने सबै टिमको मेहनत र परिश्रमको उपलब्धी भएको बताएका छन् । उक्त अवार्ड उनले संस्था र अस्पतालमा आबद्ध कर्मचारीहरुमा सर्मपित गरेका छन् ।

अवार्ड वितरण कार्यक्रममा न्याय हेल्थ नेपालका महासचिव एसपी कलौनी, कोषाध्यक्ष डाक्टर भास पन्त, बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर मन्दिप पाठक र बित्त बिभाग प्रमुख रामराज खकुरेलको सहभागीता रहेको थियो ।

नेपाल सरकार र हाल सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय संगको सहकार्यमा न्याय हेल्थ नेपालको व्यावस्थापनमा बयालपाटा अस्पतालले बिगत १४ बर्ष देखि यस क्षेत्रका नागरिकलाई निशुल्क एवंम गुण्स्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

कर्पोरेट क्लब नेपालले गत बर्ष देखि देशभरमा बिभिन्न सामाजिक बिधा तथा क्षेत्रमा कउत्कृष्ट काम गर्ने संस्थाहरुलाई अवार्ड प्रदान गर्दै आईरहेको छ । स्वास्थ्य बिधा तर्फको अवार्ड छनोटका लागि सम्बन्धीत क्षेत्रबाट बिज्ञहरुको मुल्यांकन समिती गठन गरिएको थियो ।

स्वास्थ्य बिधा तर्फ बयालपाटा अस्पताल संगै धुलिखेल अस्पताल र अन्नपूर्ण न्युरो एण्ड इलाइट अस्पताल मनोनयनमा परेका थिए । मनोनयनमा परेका अस्पतालको बारेमा थप जानकारी लिन र बुझ्न क्लबले एक छुट्टै बिज्ञहरु सम्मिलित अनुसन्धान टिम समेत खटाएको थियो ।