मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा तीन सहित सुदूरपश्चिममा एक सातामै १३ क्रसर उद्योग बन्द भए

अछाममा तीन सहित सुदूरपश्चिममा एक सातामै १३ क्रसर उद्योग बन्द भए


अछामः सुदूरपश्चिम प्रदेशभित्र कुल ३९ वटा क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको छ। तीमध्ये १३ क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएपछि सम्वन्धित जिल्ला प्रशासन कार्यालयले बन्द गर्न क्रसर सञ्चालकलाई पत्राचार गरेका हुन्।

एक साताको अवधिमा सुदूरपश्चिमका ५ जिल्लामा १३ क्रसर उद्योग बन्द गरिएको छ। गत २० पुसमा गृह मन्त्रालयले अवैध क्रसर बन्द गर्न सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो। मापदण्डविपरीत सञ्चालित क्रसर उद्योगविरुद्ध गृह प्रशासन आक्रामक बनेपछि अछाममा तीन, कैलालीमा ४, बैतडीमा एक, कञ्चनपुरमा चार र दार्चुलामा भएको एउटा मात्र क्रसर उद्योग पनि बन्द गरिएको छ।

सर्वोच्च अदालतले २०७७ चैत ९ गते मापदण्डविपरीत सञ्चालित बालुवा प्रशोधन तथा क्रसर उद्योग बन्द गर्न आदेश दिएको थियो। सरकारले कार्यान्वयन नगरेपछि सर्वोच्चले यसबारे पटक–पटक ताकेता पनि गर्दै आएको छ। गत साउन ९ गते मात्रै सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पछिल्लोपटक सरकारलाई यसबारे ताकेता गरेको थियो। जसमा भनिएको छ, ‘निर्देशनात्मक आदेशबमोजिमको कार्य गरी–गराई सोको जानकारी यस निर्देशनालयमा पठाइदिनुहुन निर्देशानुसार अनुरोध छ।’

बैतडी जिल्लामा कुल पाँचवटा क्रसर उद्योग छन। प्रशासनले मापदण्डविपरीत सञ्चालन भएको भन्दै एउटा उद्योग बन्द गर्न पत्राचार गरेको छ। अछाममा ६ मध्ये तीन उद्योग बन्द गरिएको छ। सबैभन्दा बढि कञ्चनपुरमा १३ क्रसर उद्योगमध्ये ४ बन्द गर्न पत्राचार गरिएको छ। त्यस्तै कैलालीमा १२ उद्योग रहेकोमा चारवटा बन्द गर्न उद्योग सञ्चालकलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्लाअधिकारी यज्ञराज जोशीले जानकारी गराएका छन्।

त्यस्तै दार्चुलामा एउटा मात्र उद्योग रहेकोमा सो उद्योग समेत मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि बन्द गरिएको छ। डोटीमा दुई उद्योग छन्। अहिले दुवै उद्योग सञ्चालनमै रहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ। सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा ३९ क्रसर उद्योग रहेकोमा १३ उद्योग मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि बन्द गरिएको सम्वन्धित जिल्ला प्रशासन कार्यालयको अभिलेख छ।

के छ मापदण्डरु
खानी तथा क्रसर सञ्चालन गर्दा तराईमा राजमार्ग, पुल, खोला वा नदी किनारबाट पाँच सय मिटर र पहाडमा राजमार्ग र खोलाको दुई सय मिटर तथा पुलको हकमा पाँच सय मिटरको दूरीमा हुनुपर्ने प्रावधान छ। त्यस्तै, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थानबाट तथा सुरक्षा निकायबाट तराईको हकमा एक किलोमिटर र पहाडमा पाँच सय मिटर टाढाको मापदण्ड छ। निकुञ्ज र आरक्षबाट दुई किलोमिटर, बस्तीको हकमा पहाडमा पाँच सय मिटर र तराईमा एक किलोमिटरको प्रावधान छ। त्यस्तै, सिमसारबाट एक किलोमिटर, चुरे पहाडबाट डेढ किलोमिटर दूरीमा मात्र सञ्चालन गर्न पाइन्छ। – DINESHKHABAR