मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटकीय स्थलले महत्वपूर्ण मानिएको शीरस्थान

पर्यटकीय स्थलले महत्वपूर्ण मानिएको शीरस्थान


दैलेख: दैलेख जिल्ला धार्मिक एवम् पर्यटकीय स्थलले महत्वपूर्ण मानिएको छ । जिल्लामा अवस्थित शीरस्थान, नाभिस्थान, पादुकास्थान, धुलेश्वर, कोटिला, तल्लो डुङ्ेश्वर लगायतका स्थलहरु धार्मिक आस्थासँग जोडिएका छन् । शीरस्थान भ्रमण तथा तीर्थाटनका लागि आउने भक्तालु पर्यटकहरुको संख्या बढ्न थालेको छ ।

जीर्ण बनेका मन्दिरका भौतिक संरचनाहरु पुर्ननिर्माण भएपछि पर्यटकहरुको संख्या वृद्धि भएको जनाइएको छ । यी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि सरोकारवाला निकायहरुले लगानी बढाएका छन् । दुल्लू नगरपालिका, पुरातत्त्व विभाग र डिभिजन वन कार्यालय दैलेखले जिर्णोद्धारा कार्य गरिरहेको छ ।

अहिले दुल्लू नगरपालिकाले शीरस्थान मन्दिर क्षेत्रको सौन्दर्यता बढाउन मितेरी पूल निर्माण गरेको छ । नवप्रद्र्धन साझेदारी कार्यक्रम अन्तरगत गत आर्थिक वर्षमा दुल्लू नगरपालिकाको पाँच लाख र सेवक दैलेखको ८ लाख रुपैयाँ खर्च गरी साझेदारीमा पुल निर्माण गरिएको हो । मितेरी पुलले मन्दिरको सौन्दर्यतासँगै दुल्लु नगरपालिका र भैरबी गाउँपालिकासँग जोडिएको छ ।

पुल निर्माण भएपछि बडी ज्वाला र ईन्द्र ज्वालाको सजिलै अवलोकन गर्न सकिने मन्दिरका महन्त गोकर्णनाथ योगीले बताए । उनका अनुसार यसअघि पुल नहुँदा खोला ठूलो भएको समयमा पर्यटकलाई अवलोकन गर्न असहज भएको थियो ।

साथै, नगरपालिकाको पाँच लाख लागतमा शीरस्थानस्थित ज्वाला मन्दिर निर्माण समेत गरिएको छ ।

पुल निर्माण गर्न स्थानीय काठ प्रयोग गरिएको छ । उक्त पुलको निर्माणमा स्थानीय जनशक्ति प्रयोग गरिएकोले पनि आंशिक रोजगारी सिर्जना भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अमृतनाथ योगीले बताए ।

पुरातत्त्व विभागले नवपद्र्धन साझेदारी कार्यक्रम अन्तरगत १० लाख रुपैँया शीरस्थान मन्दिरका लागि विनियोजन गरेको थियो । विभागबाट गादीघरको छाना मर्मत र डिभिजन वन कार्यलयबाट कालसैनीको तामाको छाना निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै, मन्दिर परिसरमा सौर्य बत्ती समेत जडान गरिएको छ । सौर्य बत्ती जडान भएपछि रात्रीकालीन तीर्थालुजनका लागि सहज भएको स्थानीय केशबराज थापाले बताए ।

पञ्चकोशी क्षेत्रको विकासका लागि प्रदेश सरकारले योजना बनाई कार्यान्वयनमा ल्याउन सकेको अवस्थामा ज्वाला सिंजा र कर्णाली सभ्यताले मुर्तरुप लिने र प्रदेश राजधानी देखि नजिकको पर्यटकिय गन्तब्य हुने विस्वास प्रदेश सभा सदस्य घनश्याम भण्डारीको भनाई छ ।