मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुलिकोट राज्यको ऐतिहासिक पाटो उजागर हुन सकेन

धुलिकोट राज्यको ऐतिहासिक पाटो उजागर हुन सकेन

सुदूर आज

वेदप्रकाश तिमिल्सैना – मैले पहिलोपटक देखेको शहर हो, टीकापुर । तीन वर्षको उमेरमा म पहिलोपटक पुगेको थिएँ । सुकिला अनौठा घरहरू र हात्ती पनि पहिलोपटक टीकापुरमै देखेँ । त्यसयता धेरैपटक टीकापुर पुगेको छु । पश्चिम नेपालमा टीकापुर शहरको चर्चा भइरहन्थ्यो ।

राजा महेन्द्रले बसाएको शहरका रूपमा यसलाई मानिसहरू चर्चा गरिरहन्छन् । महेन्द्रकै नाममा निर्मित पार्क झन् लोकप्रिय छ । मलाई पनि कसोकसो यो शहरप्रति मेरो भावनात्मक सम्बन्ध भएजस्तो लाग्छ । टीकापुर पुग्दा छुट्टै अनुभूति हुन्छ । यो भूमिको मलाई माया लाग्छ । त्यसको अर्को पनि कारण छ । हामी अछामीका लागि तराई हो, मलबार अर्थात् पूर्वी कैलाली । टीकापुर मलबार अर्थात् पुर्वी कैलालीको केन्द्र । त्यसैले पनि मलबार र मलबारको प्रमुख केन्द्रका रूपमा टीकापुर परिचित हुने नै भयो ।

नाता सम्बन्धको सञ्जालले पनि हुन सक्छ, अछामीलाई नजिकबाट टीकापुरसँग जोडेको छ । कुरा अछाम र टीकापुरको साइनोसम्म सीमित छैन, मैले पढेको अनि मैले पत्रकारिता सुरु गरेको शहर नेपालगञ्जको पनि टीकापुरसँग सुमधुर सम्बन्ध छ । त्यसैले मेरो अछाम– नेपालगञ्ज–टीकापुर ओहोरदोहोर चलिरहन्छ । अछामबाट नेपालगञ्जहुँदै टीकापुर पुगिरहेको हुन्छु ।  

यसपटक टीकापुर जाँदा भने मेरा दुई प्राथमिकता थिए । पहिलो, शिवरात्रिमा सत्तीस्थित श्री पद्म प्रकाशेश्वर महादेवको मन्दिरमा पूजापाठ गर्ने । दोस्रोमा, मेरो गहिरो अभिरुचि रहेको धुलिकोट राज्य र तत्कालीन धुलिकोट राज्यमा पर्ने भित्री बण्डालको कुइने, घाटगाउँ, त्रिवेणीधाम, वणिगाउँ र सोल्टा घुमघाम । अनि त्यसपछि मात्रै तेस्रोमा निजी काम गर्ने भनेर टीकापुरतिर लागेँ ।  

केही वर्षदेखि म सक्रिय पत्रकारिताबाट अलग छु । तर, समाजसँग उसैगरी जोडिएको छु राजनीतिमार्फत । मेरो धेरै संगत भने पत्रकारसँगै हुन्छ । त्यसैले टीकापुर पुग्नै लाग्दा मेरानजिकका मित्र पत्रकारत्रय योगेश रावल, परमान्द पाण्डे र युवराज न्यौपानेलाई ई–फोन लगाएँ । फोनमै सल्लाह भयो– शिवरात्रिमा सत्तीस्थित शिवालयमा पूजा गर्ने र अर्को दिन धुलिकोट पुग्ने । अनि, अर्को दिन भेटेर थप सल्लाह गर्ने कुरा भयो । छिटो निर्णय लिने र अडानमा पक्का योगेशजीले हुन्छ भनेर समर्थन गरेपछि यसमा थप छलफलको आवश्यकता नै रहेन । महाशिवरात्रिमा सत्तीमा पूजापाठ गरेपछि फागुन ७ गते प्रजातन्त्र दिवसको दिन धुलिकोट जाने निधो गरियो ।  

सल्लाहअनुसार केही साथीहरूले पनि असमर्थता जनाए । योगेशजी र मसँग लम्कीबाट पत्रकार युवराज, इन्द्र देवकोटा धुलिकोट जाने निश्चित भयो । पैदल मार्ग र सडक मार्गमध्ये हाम्रो रोजाइमा सडक मार्ग पर्‍यो । कर्णाली चिसापानीदेखि  पक्की ट्रायल बाटोबाट जाँदा करिब ३ घण्टामा सहजै बास बस्ने गन्तव्यमा राजकाडा पुग्न सकिन्छ । तर, अलि छिटो आउजाउका लागि हामी पैदलमार्गको विकल्पमा यता लम्कीदेखि आमपानी भएर मोटरसाइकलमा धुलो उडाउँदै उकालो लाग्यौँ ।  

मैले पढेको अनि सुनेको धुलिकोट सुन्दर थियो । तर, वास्तविक कस्तो होला भन्ने कौतुहलताका साथ यात्रामा निस्केको थिएँ । यात्रामा मेरो सारथि सधैँ मोटरसाइकल हो । हिजो पत्रकारिता गर्दा होस् वा आज राजनीति र समाजसेवामा अनवरत रूपमा मोटरसाइकलले साथ दिइरहेको छ ।

आहा ! पहाडी बुट्यान र घना चुरे जङ्गललाई दायाँबायाँ पारेर हल्का धुलो उडाउँदै मलबारदेखि बण्डालको बाटोमा बाइक गुडाउनुमा कम्ता आनन्द आएन । मैले मोटरसाइकलमा पन्ध्र वर्षयता साविकको मध्यपश्चिम र सुदूरपश्चिमका कठिन बाटाहरू पार गरेको छु । म अछाममा बस्ने भएर पनि होला, गाउँ बस्तीमा पुग्दा कठिनभन्दा पनि कठिन बाटाहरूसँग एकाकार भएको छु । तर, धुलिकोटको बाटो मैले बुझेभन्दा फरक पाएँ । युवराजजीले सुनाएका थिए, ‘पहिले बाटो ठीक थिएन । अहिले राम्रो भएछ ।’ गफ गर्दै जाँदा मोहन्याल गाउँपालिका वडा नंं ७  मा रहेको धुलिकोट उपत्यका आएको पत्तै भएन ।  

मध्यकालीन नेपालको बाइसे–चौबीसे राज्य धुलिकोटको मुकाममा पुगेर प्रत्यक्ष साङ्गोपाङ बुझ्न पाइने भयो भनेर मेरो मनले अद्वितीय र अनुपम अनुभूति गर्‍यो । स्थानीय व्यवसायी मीनबहादुर बोहराको होटलमा अर्ग्यानिक खाना खाएर हामी घुम्न निस्कियौँ । टुँडिखेल, दरबार क्षेत्र, मालिका मन्दिर, हात्तीढुंगा, शिव मन्दिर, खजाने ओढार, हात्तीसार, निशाने ढुंगा, रानीको नुहाउने कुवा, रानीपोखरी घुम्यौँ ।

संरक्षणको अभावम राजकाडामा ऐतिहासिक धुलिकोट दरबार, टुँडिखेल, कोतखाना, खजाने ओढार, श्री मालिका मन्दिर, रानीको नुहाउने कुवालगायतका भग्नावशेषहरू छन् । धुलिकोटबाट अपि, साइपाल हिमाल, काञ्जिरवा हिमाल, ओम पर्वतदेखिका हिमशृंखला हेर्न सकिन्छ । धुलिकोटको मालिका मन्दिर क्षेत्रबाट सूर्योदय धेरै राम्रो देखिन्छ । मालिकाबाट बडिमालिकाको चुचुरो प्रस्टसँग देख्न सकिन्छ । तराईका सुन्दर फाँट र सत्तीस्थित श्री पद्म प्रकाशेश्वर महादेवको मन्दिर प्रस्टसँग देखिन्छ ।  

अहिले धुलिकोटको दरबार क्षेत्रको मुख्य भू–भाग नै अतिक्रमणमा परेको छ । कुनै बेला यहीँबाट उत्तरी तिब्बत (भोट) को नुन, ऊन, सुन र माल तथा मलबारको गुड, कपडा र तेल साट्ने हाटबजारसमेत थियो । धुलिकोट दरबारको जगआसपासमा त्यहाँ प्रयोग भएका इँटा छरिएको अवस्था छ । दरबार क्षेत्रको सेरोफेरोमा व्यापक वन फँडानी भइरहेको प्रत्यक्ष देखियो । त्यहाँबाट रातारात मलबार (तराई) मा काठ ओसारपसार भइरहेको पनि सुनियो ।

जङ्गलका पशुपन्छीको बासस्थान उजाड गरेर वन क्षेत्रमा टाठाबाठाले अतिक्रमण बढाएका छन् । त्यहाँको चुरे क्षेत्रमा सर्वदलीय दोहन भइरहेको छ । धुलिकोटमा पुरातात्त्विक सम्पदा र वनजङ्गल मात्र अतिक्रमणमा परेको छैन, जुतिसेलीनजिक जङ्गलमा रहेको इसाई मिसनरीले धर्म पनि अतिक्रमण गरिरहेको छ । खासगरी जुतिसेलीमा रहेको चर्चमा पन्ध्र–पन्ध्र दिनमा आउने विदेशीका गतिविधिप्रति स्थानीय प्रशासन बेखबर छ ।

पहिलो हेराइमा तराईबाट सबैभन्दा नजिकको सानो सुन्दर रहस्यमयी उपत्यकाको सौन्दर्यता मनमोहक छ । त्यहाँको वातानुकुलीय मौसम झन् गजब छ । फागुनदेखि कात्तिकसम्म तराईको गर्मी छल्न धेरै मानिस उकालो चढ्छन् । आजभोलि फाट्टफुट्ट मानिसहरू त्यहाँ पुगे पनि खास घुम्ने मौसम भने फागुन १५ गतेपछि हो ।

फोटो मात्रै खिचेर तराई झर्ने अधिकांशलाई त्यहाँको ऐतिहासिक र पर्यावरणीय महत्त्वबारे जानकारी नभएको पाइयो । त्यहाँ घुम्न जानेहरूका लागि कर्णाली चिसापानीमाथिको धुरी र बीचको सानो उपत्यकामा केवल गर्मी छल्ने माध्यमभन्दा अरु होइन । प्रचारप्रसारको अभावमा धेरैलाई धुलिकोटको ऐतिहासिक र पुरातात्त्विक महत्त्वको जानकारी छैन । एकाध मानिसहरू अलि गहिरो रुचि राखेर घुम्छन् । घुमघामपछि थाहा हुन्छ, रहस्यमयी उपत्यकाको अर्को पाटो । पुरातात्त्विक महत्त्वका सम्पदामाथिको संकटको संकेत थाहा पाइन्छ ।

कर्णाली चिसापानीदेखि धुलिकोटसम्म केबुलकारको डीपीआर बनाउने काम सुरु भएयताका दुई वर्षमा धुलिकोट उपत्यकाको सुन्दरता बिगार्ने काम सुरु भएको रे । कुराकानीका क्रममा स्थानीयले त्यसै भने । तपाईका भू–माफियाले नजर लगाएपछि चिसापानीमाथिको सुन्दर डाँडाको अस्तित्वमाथि संकटको बादल मडारिएको बुझ्न पाइयो ।

दुई वर्षयता केबुलकारको हल्लापछि धुलिकोटमा वन विनाश सुरु भएको हो । केबुलकारले डीपीआर स्वीकृत भएको चर्चासँगै वन विनाश बढेको छ । राजनीति र व्यवसायको खोल ओढेका माफियाहरूले मन्दिरको धार्मिक वनसमेत बाँकी राखेका छैनन् । धुलिकोटको प्रख्यात श्री मालिका मन्दिरआसपास धेरै रुख काटिएको देख्न सकिन्छ । पुरातात्त्विक महत्त्वको  सम्पदामाथिको अतिक्रमणले धुलिकोटको मौलिक सुन्दरतामा क्षयीकरण सुरु भएको छ । धेरैपटक धेरै मानिसले मणि हराएको सर्पजस्तो भनेर उदाहरण दिएको सुनेको छु मैले । तर, धुलिकोट पुगेपछि आफ्नै आँखाअगाडि देखेँ, मणि हराएको सर्प कस्तो हुन्छ भनेर । पछिल्लो अव्यवस्था हेर्दा धुलिकोट मणि हराएको सर्पभन्दा कम छैन ।  

बाइसे–चौबीसेमध्येको वैभवशाली विशाल धुलिकोट राज्यको मुकामको वर्षौंदेखि बेहाल छ । धुलिकोटको धुरीको तराईबाट सबैभन्दा कम दूरीमा छ । तर, बत्तीमुनिको अँध्यारोको हालत छ । १५९० सालतिर स्थापना भएको अछामको बलातादेखि सुर्खेत उपत्यकासम्म, अहिलेको बर्दिया, कैलाली र कञ्चनपुरको लालझाडीहुँदै हिन्दुस्तानको लखिमपुरसम्म फैलिएको धुलिकोट राज्यको पुरातात्त्विक सम्पदाको संरक्षण नुहुनु दुर्भाग्यपूर्ण हो ।

भोट र हिन्दुस्तानबीच ऊन र नुनको व्यापारको माध्यम बनेको धुलिकोट सर्पले मणि खोजेजस्तै विगतको वैभव खोजिरहेको छ । धुलिकोट क्षेत्रमा रहेका पुरातात्त्विक महत्त्वका ऐतिहासिक सम्पदाका भग्नावशेषबाटै त्यसको विगत प्रस्ट हुन्छ । त्यहाँको भौगोलिक बनावटबाटै उतिबेलाको पर्यावरणीय अवस्थाको अनुमान लगाउन कठिन हुँदैन । बाइसे–चौबीसे राज्यका राजा–रजौटाले सिकार खेल्ने धुलिकोट राज्यको मुकाम राजकाडा क्षेत्र संरक्षणको अभावमा दयनीय अवस्थामा छ ।  

धुलिकोटका अन्तिम राजा नरेन्द्रबहादुर रायको निधनपछि जेठी रानी चन्द्रकुमारी राजासँगै सती गइन् । त्यसैले धुलिकोटमा जंगबहादुर राणाले बनाएको रोलक्रमको २९औँ नम्बरका लेफ्टिनेन्ट कर्णेल भैरवनरसिंह कुँवर राणाकी छोरी कान्छी ब्रानी पद्यकुमारीले शासन सम्हालेपछि पनि राम्रै अवस्था रहेको इतिहासकार डा राजाराम सुवेदी बताउँछन् ।

दुर्भाग्य यो छ कि, अहिलेसम्म त्यहाँको ऐतिहासिक पाटोको उजागर हुन सकेको छैन । सत्तीस्थित पद्यम प्रकाशेश्वर महादेवको मन्दिरको जीर्णोद्धार गर्ने, रानी कुलो खनाएर पूर्वी कैलालीमा कृषि क्रान्तिको सुरुवात गर्ने धुलिकोटकी अन्तिम शासक रानी पद्यकुमारीले १९७५ मा छाडेपछि ओझेलमा परेको धुलिकोट बौरिन सकेको छैन । धुलिकोटलाई केबुलकारले मात्रै पुग्दैन, यर्यावरणको संरक्षणसहितको धुलिकोटको पुरातात्त्विक संरचनाको उत्खनन गरेर जीर्णोद्धारपछि मात्रै तराईनजिकको चुरेको चुचुरो पूर्ण हुनेछ ।

धुलिकोटबारे स्थानीय वडा कार्यालयदेखि नजिकका सरोकारवालालाई चासो छैन । त्यहाँका बासिन्दामा जाँगरको अभाव छ । धुलिकोटसँग सरोकार राख्ने केही टाठाबाठाको ध्यान आफ्नो दुनो सोझ्याउनतर्फ मात्रै गएको पाइएको छ । पहिलेको स्थानीय सरकारदेखि अरु सरोकारवालाहरू त्यहाँको ऐतिहासिक सम्पदा र वनजंगलको संरक्षणमा उदासीन भएको प्रस्ट हुन्छ ।

अहिलेको स्थानीय सरकारसँग धेरै आशा छ । विकासका लागि केबुलकार कम्पनीलाई खुला छुट दिने कुरामा स्थानीय सरकार सचेत हुनैपर्छ । स्थानीयले लाभ पाउने गरी धुलिकोटको पुरातात्त्विक महत्त्व जोगिने ग्यारेन्टीसहित केबुलकारका लागि काम अघि बढाइनुपर्छ । चिसापानी–राजकाडा केबुलकार बनेपछि धुलिकोटको डाँडामा चन्द्रागिरिजस्तो पर्यटकीय गन्तव्य बनाउनु उचित हुँदैन । चन्द्रागिरिजस्तै धुलिकोट पुगेर १ सय रुपैयाँ तिरेर एक बोतल पानी खाने जमाना आयो भने त्यो अभिशाप मात्र होइन, स्थानीयमाथि सिधै ठगी नै हुनेछ ।

(नेपाल पत्रकार महासंघ अछामका संस्थापक अध्यक्ष तिमिल्सैना हाल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य छन् । )