प्रदेश समाचार

सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तारको गृहकार्य, यी हुन् सम्भावित अनुहार

कैलाली । सुदूरपश्चिममा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएको आज एक महिना भएको छ । पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाहले भने २१ फागुमा दुई तिहाइ बढी विश्वासको मत पाए ।

माओवादी, कांग्रेस नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्रको गरी ४१ मत पाएका शाहले एक महिनाअघि शाहसँगै कांग्रेसका प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाही मन्त्रीमा नियुक्त भएका थिए । देउवाले भौतिक मन्त्रालय तथा शाहीले अर्थ मन्त्रालयको जिम्मा पाएका थिए ।

नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रले पनि शाह सरकारलाई विश्वासको मत दिएका कारण अब सरकारमा यी दुवै पार्टीलाई पनि ल्याउने तयारी भइरहेको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको आचारसंहिता कारण ५ गतेपछि मात्रै सरकार विस्तारको तयारी गरिएको हो । अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने विषयमा टुंगो नलागे पनि माओवादी अर्थ मन्त्रालयसहित एक मन्त्रालय र नागरिक उन्मुक्तिले सामाजिक र कृषि मन्त्रालय मध्ये एक र अर्का एक मन्त्रालय पाउने विषयमा आन्तरिक सहमति भएको स्रोतको दाबी छ ।

तर, माओवादी र नागरिक उन्मुक्तिबाट को-को मन्त्री बन्ने भन्ने विषयमा अझै सहमति भने हुन सकेको छैन । ‘सरकार विस्तार ५ गते लगत्तै हुने कुरामा छलफल भएको छ । तर, मन्त्रीका बिषयमा छलफल भएको छैन’ माओवादीका एक नेताले भने ‘यो केन्द्रबाट टुङ्गिन सक्छ ।’

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि अहिले सबै सांसद काठमाडौंमै छन् ।उनीहरूले मन्त्रीको लबिङ पनि गरिरहेका छन् । माओवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री पाउने करिब पक्का जस्तै भएका कारण सबै नेताहरू दौडधुप गरिरहेका छन् ।

माओवादीमा संसदीय दलका नेता खगराज भट्ट, सांसद ओम विक्रम भाट सरल, शिव ओली, झपट साउद र रमेश धामी मध्येबाट मन्त्री राज्यमन्त्री बन्ने सम्भावना रहेको बताइन्छ । संसदीय दलका नेता भट्ट यस अघि एमाले सरकारमा पनि विना विभागीय मन्त्री भइसकेका छन् । एक महिनामा विभागीय जिम्मा समेत नपाएर बहिर्गमित भएका भट्टलाई फेरि मन्त्री बनाउन नहुने भन्दै पार्टीभित्रै दबाब छ ।

यता नागरिक उन्मुक्तिबाट संसदीय दलका नेता रामेश्वर चौधरी, प्रमुख सचेतक लक्ष्मण चौधरी र कैलाश चौधरी मन्त्री मध्येबाटै मन्त्री बन्ने सम्भावना बढी रहेको बताइन्छ । मन्त्रिपरिषद्मा महिला समेट्न नागरिक उन्मुक्तिबाटै टीका थापा पनि मन्त्री बन्ने सम्भावना रहेको बताइन्छ ।

ठूलो दल कांग्रेसले मुख्यमन्त्री एक मन्त्रालय र थप एक राज्यमन्त्रीमा मात्रै चित्त बुझाउनु पर्ने अवस्था आउन सक्ने चर्चा गर्न थालिएको छ । त्यसबाहेक नागरिक उन्मुक्तिका २ र माओवादीका २ मन्त्री र २ राज्यमन्त्री ५ गतेपछि थप हुने छन् । – नेपालप्रेस

https://www.facebook.com/sudooraaja

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)