मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाध्यक्षको मनपरी : योजनाको नाम एउटा ठाउँ अर्कै 

वडाध्यक्षको मनपरी : योजनाको नाम एउटा ठाउँ अर्कै 

प्राविधिक कर्मचारी, निर्माण समिति र वडाध्यक्ष बिच रकम लेनदेन भएको समेत आशङ्का


अछाम : कमलबजार नगरपालिका वडा नं. ५ कंकाल्नामा आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकार मार्फत स्वीकृत भई आएको सिँचाई योजनाको ठाउँ परिवर्तन गरी काम सञ्चालन गरिएको पाइएको छ ।

स्वीकृत योजनामा खाडखर्क सातपाते सिँचाई योजना भए पनि काम भने अर्कै ठाउँ छडे खोला भनी चिनिने ठाउँ मा सुरु गरिएको पाइएको हो । वडाध्यक्ष सत्यराज तिमिल्सैना, उपभोक्ता समितिका अध्यक्ष र सारिएको ठाउँ बाट लाभान्वित हुने अन्य २/३ जना व्यक्तिको मिलेमतोमा उक्त योजना अर्कै ठाउँमा सारिएको हो ।

लाभान्वित हुने अन्य २/३ जना त योजनाको नाम समेत परिवर्तन गरिदिन आग्रह गर्दै जिल्ला सिँचाई डिभिजन कार्यालयमा आएका तर आफूले तोकिए बमोजिम योजना कार्यान्वयन गर्नुहोला भन्दै फिर्ता पठाएको जिल्ला सिँचाई डिभिजन कार्यालयका प्रमुख खेमराज रेग्मीले बताए ।

नाम परिवर्तन हुने छाँटकाँट नदेखेपछि ठाउँ भने अन्तै सारी काम सुरु गरेको पाइएको हो । सिँचाई योजनाका वास्तविक उपभोक्ताले भने आफूहरूलाई थाहै नदिई योजना अन्तै सारिएको बताएका छन् । वडाध्यक्ष सत्यराज तिमिल्सैनाले मनोमानी ढङ्गबाट ठाउँ सार्न निर्णय गरेको आरोप समेत उपभोक्ताहरूले लगाएका छन् ।

कुलोलाई उपभोक्ता समितिका अध्यक्षकाे घर हुँदै लैजाने र ठाउँ परिवर्तन गर्ने कार्यमा संलग्न अन्य २,३ जना समेत लाभान्वित हुने गरी ठाउँ परिवर्तन गरेको पाइएको हो । योजनाको सर्वेक्षण र अनुगमन मा खटिई जाने प्राविधिक कर्मचारीलाई आफूले सही रूपमा काम गर्न निर्देशन दिएको डिभिजन प्रमुख रेग्मीले बताए । यद्यपि, प्राविधिक कर्मचारीलाई समेत प्रभावमा पारी काम सञ्चालन गरिएको उपभोक्ताहरूले आरोप लगाएका छन् ।

प्रकाशित समाचारमा उपभोक्ता समितीका अध्यक्षको नाम फरक पर्न गएकोमा सच्चाईएको छ ।