मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैशाख भित्र पूर्ण खोप लगाइ सक्न जिल्ला स्वास्थ्य कार्यालयको आग्रह

वैशाख भित्र पूर्ण खोप लगाइ सक्न जिल्ला स्वास्थ्य कार्यालयको आग्रह

जिल्ला खोप समन्वय समितिको बैठक सम्पन्न ।


अछाम: पूर्ण खोप सुनिश्चितता सम्बन्धी जिल्ला खोप समन्वय समितिको बैठक तथा समीक्षा कार्यक्रम मङ्गलसेनमा सम्पन्न भएको छ । खोप छुट बच्चा पहिचान र खोप पुरा गरी पूर्ण खोप सुनिश्चित गर्न विश्व भरी खोप सप्ताह चलिरहेको छ ।

नेपालमा वैशाख महिनालाई पूर्ण खोप बृहत् खोज र खोप अभियानको नारा सहित राष्ट्रिय पूर्ण खोप निर्देशिका जारी भएकाले कोही पनि बालबालिका नछुट्ने गरी खोप लगाउने उद्देश्य सहित विभिन्न निर्णय गर्दै खोप समन्वय समितिको बैठक बिहीबार स्वास्थ्य कार्यालय अछाममा सम्पन्न भएको हो ।

पूर्ण खोप सुनिश्चित गर्न हाल सम्म भएका विभिन्न कार्यहरूको जिल्ला स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत जनक ढुङ्गानाले जानकारी दिए । उनका अनुसार माघ,फाल्गुन र चैत्र महिनामा १५ महिनाका बालबालिकाको खोजी गरी,नियमित खोप पुरा गर्ने,१५ महिना देखि ५ वर्ष सम्मका बालबालिकाको खोजी तथा छुट खोप लगाउने कार्य सम्पन्न भएको छ । पहिला स्वास्थ्य स्वयं सेविका द्वारा भिटामिन ए वितरण तथा खोप लगाउन छुटेका बालबालिकाहरूको खोजी गरी छुट खोप लगाउने कार्य सम्पन्न भएको जानकारी गराए ।

पूर्ण खोप सुनिश्चित गर्न आगामी दिनमा खोप छुट बच्चाको पहिचान विश्लेषणका लागी सबै तहमा समीक्षा गर्ने,विद्यालयहरू मार्फत पूर्ण खोप बारे कक्षा सञ्चालन तथा सूचना प्रसारण गर्ने,जिल्लाबाट खोप छुट समुदायको पहिचान गरी विशेष कार्यक्रम सञ्चालन गरी खोप पुरा गर्ने लगायतका क्रियाकलाप सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत ढुङ्गानाको भनाई छ ।

जिल्ला समन्वय समिति तथा खोप समन्वय समिति संयोजक ललित कुँवरको अध्यक्षतामा सम्पन्न भएको बैठकमा मङ्गलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहोरा,प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायत जिल्ला स्थित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।