मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकोटमा वडाध्यक्षहरूले  छाप र कलम पालिकालाई बुझाए

कालिकोटमा वडाध्यक्षहरूले  छाप र कलम पालिकालाई बुझाए


कालिकोटको खाँडाचक्र नगरपालिकाका वडा अध्यक्षहरूले काम प्रभावकारी नभएको भन्दै वडाको छाप र रातो कलम नगरपालिकाका उपप्रमुखलाई बुझाएका छन्  । 

असार मसान्त आउनै लाग्दा नगरपालिकाको काम प्रभावकारी नभएको भन्दै ११ वटै वडाका अध्यक्षले छाप र रातो कलम नगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक गणेशबहादुर शाहीलाई बुझाएका हुन्। 

असार मसान्त आउनै लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत नभेटिने, सेवाग्राहीले सेवा पाउन नसकेको, दैनिक काम सुरु नभएकोलगायतका समस्या समाधान गर्न न्यायिक समिति संयोजक एवं नगर उपप्रमुख शाहीलाई सम्बोधन गर्दै समस्या समाधानका लागि वडा कार्यालयको छाप र रातो कलम बुझाएको वडा नंं २ का वडाध्यक्ष वविन्द्र शाहीले बताए। 

“बारम्बार समस्या समाधानका लागि पहल गर्न नगरप्रमुखलाई भनेका थियौँ । अहिलेसम्म हामी वडाध्यक्षहरुको कुनै पनि माग सुनुवाइ भएन”, उनले भने, “हामीले जनताको पक्षमा काम छिटो गरौँ भन्दा पनि काम सुरु हुन नसकेको अवस्था आयो ।” 

वडा नं ९ का वडाध्यक्ष विरिजित विष्टले हाल मेयर कमलबहादुर शाही बाहिर हुनुभएकाले उहाँ आइसकेपछि शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत बस्ने तय भएको जानकारी दिए। “छलफलपछि समस्या समाधान हुने अपेक्षामा हामी छौँ”, उनले भने, “अहिले वडाका सबै काम रोकेका छौँ ।” 

नगरप्रमुख कमलबहादुर शाहीले बारम्बार प्रयास गर्दा पनि प्रमुख प्रशासकीय अधिकृत नआइपुगेको बताए । “अहिले काम चलाउनका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत राखेका छौँ । लेखा अधिकृत पनि हुनुहुन्न”, उनले भने, “समस्या समधानमा लागि पहल थालिएको छ । नागरिकलाई सास्ती हुने कुनै काम गर्दैनौँ ।”रासस