मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताललाई बजेटमा समेट्न प्रदेशसभा सदस्य खड्काको माग

बयालपाटा अस्पताललाई बजेटमा समेट्न प्रदेशसभा सदस्य खड्काको माग


अछाम । सुदूरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्काले आगामी बजेटमा अछामको बयालपाटा अस्पताललाई समेट्न माग गरेका छन् । शुक्रबार प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै प्रदेशसभा सदस्य खड्काले यस्तो माग गरेका हुन् ।

उनले तीन वटा जिल्लाका जनताले सेवा पाइरहेको बयालपाटा अस्पतालका लागि बजेट छुट्याउनु पर्ने माग गरे । विदेशी लगानीबाट सञ्चालनमा रहेको अस्पतालका लागि प्रदेश सरकारले पनि बजेट विनियोजन गर्नु पर्ने उनको भनाई छ ।

उनले भने, ‘गत वर्षको नीति तथा कार्यक्रममा समेटिएको बयालपाटा हस्पिटल । मैले यो भन्दा अगाडि पनि बोलेको थिए । विदेशीले करोडौँ लगानी गरेको हस्पिटलबाट त्यहाँ तीन वटा जिल्लाले सेवा पाइरहेको छ । त्यसलाई अबका बजेटमा समेटिदिनका लागि अनुरोध गर्दछु ।’

यस्तै पहाडी जिल्लाका भूकम्प पीडितका समस्या पनि बजेटमा समेटिनु पर्ने उनले बताए । यस्तै अछामको बुढीगंगा नदीले सयौँ बिघा जग्गा बगाएको बताउँदै उनले त्यसको दिगो नियन्त्रणमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले साँफेको विमानस्थल र चार धाममध्येको एक वैद्यनाथ धाम पनि नदीका कारण जोखिममा रहेको भन्दै बजेट छुट्याइदिन माग गरे । यस्तै उनले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा सबै कुरा समेटिएको प्रदेशसभा सदस्य खड्काले बताए ।