मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिका : २० वर्ष मुनिका ७९ किशोरी गर्भावस्थामा

पञ्चदेवल नगरपालिका : २० वर्ष मुनिका ७९ किशोरी गर्भावस्थामा

बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल सम्बन्धी २ दिने कार्यशाला विनायकमा सुरु


अछाम : बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल सम्बन्धी २ दिने कार्यशाला विनायकमा सुरु भएको छ ।

आस्था नेपाल,वल्ड्र भिजनको आयोजना तथा पञ्चदेवल विनायक नगरपालिकाको समन्वयमा बालविवाह अन्त्य गर्ने रणनीतिमाथि सरोकारवालाहरू सँग वृहत् छलफल गर्दै आज बाट सुरु भएको हो ।

`दक्ष र सभ्य जनशक्ति निर्माणको सुनिश्चितता,बालबालिकामा लगानी हाम्रो प्रतिबद्धता´ भन्ने मूल नारालाई आत्मसात् गर्दै बालविवाह रोक्नका लागि नगरपालिकाको सभा हलमा घनीभूत छलफल हुने बताइएको छ ।

आस्था नेपाल अछामका जिल्ला कोषाध्यक्ष लक्ष्मण विष्टको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पञ्चलेवल विनायक नगरपालिकाका का. नगर प्रमुख हर्क बहादुर रावल प्रमुख अतिथि रहेका थिए ।

नगर उप प्रमुख समेत रहेका प्रमुख अतिथि रावलले बालविवाह हुनुको मुख्य समस्या गरिबी र अशिक्षा रहेको बताए । बालविवाह न्यूनीकरणका लागि अभिभावक तथा सम्बन्धित वडाका जनप्रतिनिधिहरूले आफ्नो जिम्मेवारी समेत पुरा नगरेको आरोप लगाए । बालविवाह अन्त्यका लागि सबै सरोकार पक्ष एक जुट भएर लाग्नु पर्ने उपप्रमुख रावलले सुझाव दिए ।

कार्यक्रममा सहभागी वडा नम्बर ७ का वडा अध्यक्ष सुरत बहादुर रावलले बालविवाह अन्त्य गर्न नसकिने बताएका छन् । जस्तोसुकै रणनीति बनाए पनि किशोरावस्थाका बालबालिकाहरूको मनोभावना बुझ्न नसकिने तर्क राखे ।

कार्यक्रममा नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत जनक बहादुर बुढाले बालविवाहका कारण थुप्रै शारीरिक समस्या निम्तिने बताएका छन् । २० वर्ष मुनिका बालबालिकाहरूको शारीरिक मानसिक तथा प्रजनन अवस्था परिपक्व नहुने भएकाले बालविवाहले दीर्घकालीन असर गर्ने उनको भनाई छ ।

स्वास्थ्य शाखा संयोजक समेत रहेका बुढाले आर्थिक वर्ष २०७९/८० मा मात्रै २० वर्ष मुनिका ७९ जना गर्भवती किशोरी रहेको जानकारी दिए ।

बालविवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल तथा,बालमैत्री स्थानीय शासनका विषयमा फ्युचर नेपालका राम प्रसाद दाहाल र सुशील राज गिरीले सहजीकरण गरिरहेका छन् ।

सन् २०३० सम्म देशलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिइएको छ ।

बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल सम्बन्धी कार्यक्रम साउन ६ गते सम्पन्न हुने आस्था नेपालका खकेन्द्र उपाध्यायले जानकारी दिए ।