मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँदमा सार्वजनिक पद धारण गरेकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउनु पर्ने

तुर्माखाँदमा सार्वजनिक पद धारण गरेकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउनु पर्ने


अछाम : जिल्लाको तुर्माखाँद गाउँपालिकाले जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने जनाएको छ। पालिकाभित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरू र सार्वजनिक पद धारण गरेका सबैले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने जनाएको हो ।

गाउँपालिकाले एक सूचना जारी गर्दै जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने शर्त अनिवार्य गरेको जनाएको छ। शैक्षिक सत्र २०८१ देखि सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीलाई भर्ना गर्न सूचनामा भनिएको छ।

अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लागि कदम चालेको गाउँपालिकाले सामुदायिक विद्यालयमा आफ्नो बालबालिकालाई अध्यापन गराउन भन्दै निर्देशनात्मक सूचना जारी गरेको हो।

गाउँपालिकाले सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तरलाई सुधार्नका लागि गाउँपालिकाले गृहकार्य सुरु गरेको गाँउपालिका अध्यक्ष डम्बर बि.सी.ले बताए। अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको योजना अगाडि बढाएको गाउँपालिकाले संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गराउने जनशक्ति उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाले यस्तो गृहकार्य सुरु गरेको उनले बताए।

सामुदायिक विद्यालयीय शिक्षालाई गुणस्तरीय बनाउनको लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले यो व्यवस्था लागू गरेको उनले बताए।