मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानबहादुर रावलको प्रेरणादायी राजनीतिक यात्रा : एसएसपीदेखि मन्त्रीसम्म

मानबहादुर रावलको प्रेरणादायी राजनीतिक यात्रा : एसएसपीदेखि मन्त्रीसम्म


अछाम । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) पदबाट अवकाश लिएपछि राजनीतिमा सक्रिय बनेका अछामका नेता मानबहादुर रावल अहिले सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्। सुरक्षाकर्मीको अनुशासित जीवनबाट सार्वजनिक राजनीतिमा प्रवेश गरेका रावलको यात्रा अहिले प्रदेश सरकारको महत्वपूर्ण मन्त्रालयको नेतृत्वसम्म पुगेको छ।

अछामको मंगलसेन नगरपालिका–९ निवासी रावल २०७९ सालको प्रदेशसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका थिए। नेपाली कांग्रेसका उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका उनले नेकपा एमालेका उम्मेदवार शिवप्रसाद उपाध्यायलाई २ हजार ५ सय ५२ मतान्तरले पराजित गर्दै प्रदेशसभामा प्रवेश गरेका थिए।

राजनीतिक पृष्ठभूमि भएको परिवारमा जन्मिएका रावल नेपाली कांग्रेस अछामका पूर्वसभापति तथा जिल्लामा कांग्रेस संगठन निर्माणका अग्रणी नेता स्वर्गीय भैरवसिंह रावलका पुत्र हुन्। उनका पिता २०३३ सालदेखि २०५२ सालसम्म लगातार नेपाली कांग्रेस अछामको सभापति रहँदै लोकतान्त्रिक आन्दोलन र संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

मानबहादुर रावलले २०३१ सालमा सहायक प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। लामो प्रहरी सेवाका क्रममा उनले उत्कृष्ट कार्यसम्पादनका कारण विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे। खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक बनेका रावल २०६२ सालमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमा पुगेका थिए।

प्रहरी सेवाका क्रममा उनी विभिन्न राजनीतिक उतारचढावका साक्षी बने। तत्कालीन शाही शासनकालमा कांग्रेस नेताका छोरा भएको कारण प्रशासनिक रूपमा प्रताडित हुनुपरेको अनुभव उनीसँग छ। उत्कृष्ट कार्यसम्पादनका बाबजुद पनि बढुवामा पछाडि पारिएको र प्रहरी संगठनको उच्च नेतृत्वमा पुग्ने अवसरबाट वञ्चित गरिएको विषय उनले विभिन्न अवसरमा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्।

प्रहरी सेवाबाट अवकाश लिएपछि रावल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बने। २०६३ सालदेखि कांग्रेसको संगठनात्मक गतिविधिमा सहभागी हुँदै आएका उनी जनतामाझ इमानदार, अनुशासित र विकासप्रति प्रतिबद्ध नेताका रूपमा परिचित छन्।

प्रदेशसभा सदस्यका रूपमा निर्वाचित भएपछि उनले अछामसहित सुदूरपश्चिम प्रदेशको विकास, पूर्वाधार, पर्यटन प्रवर्द्धन तथा जनजीविकासँग सम्बन्धित विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हाल्दै उनले प्रदेशको पर्यटन सम्भावना, वन संरक्षण, औद्योगिक विकास तथा वातावरणीय व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन्।

सुरक्षाकर्मीबाट जनप्रतिनिधि र अहिले मन्त्रीसम्मको उनको यात्रा अनुशासन, संघर्ष, राजनीतिक प्रतिबद्धता र सार्वजनिक सेवाको निरन्तरताको उदाहरण बनेको छ। अछामको गाउँबाट सुरु भएको यो यात्रा अहिले सुदूरपश्चिम प्रदेश सरकारको महत्वपूर्ण नेतृत्व तहसम्म पुगेको छ।

“प्रहरी सेवामा राष्ट्रको सुरक्षा, राजनीतिमा जनताको सेवा” भन्ने मान्यतालाई आत्मसात् गर्दै मानबहादुर रावलले आफ्नो सार्वजनिक जीवनलाई निरन्तर अगाडि बढाइरहेका छन्।