मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पढाइपछि विदेश होइन, २३ रोपनी खेतमा भविष्य खोज्दै दिदीभाइ

पढाइपछि विदेश होइन, २३ रोपनी खेतमा भविष्य खोज्दै दिदीभाइ



गाउँघरमा एउटा पुरानो मान्यता अझै पनि सुनिन्छ—‘पढेपछि खेतीपाती गर्नुहुँदैन, हातमा कुटो–कोदालो समात्नु हुँदैन र हिलो लाग्न दिनु हुँदैन ।’ यही सोचका कारण पछिल्लो समय धेरै किशोरकिशोरी तथा युवाको रोजाइ खेतीपातीभन्दा वैदेशिक रोजगारी बन्न थालेको छ । तर अछामको कमलबजार नगरपालिका–६, वीरपथ नौघाटेका शाही दिदीभाइ भने यो सोचलाई चुनौती दिँदै आफ्नै माटोमा पसिना बगाइरहेका छन् । भूपेन्द्र शाही र उनकी बहिनी कल्पना शाही बिहानदेखि साँझसम्म आफ्नै खेतबारीमा व्यस्त देखिन्छन । उनीहरूका लागि खेतीपाती बाध्यता होइन, आत्मनिर्भरता, आम्दानी र आत्मसम्मानको माध्यम बनेको छ । ‘नौघाटे कृषि तथा पशुपक्षी फर्म’ सञ्चालन गर्दै आएका शाही दिदीभाइले पढाइसँगै बुवा–आमाले गर्दै आएको कृषि कर्मलाई पनि निरन्तरता दिइरहेका छन्। भूपेन्द्रले आईएसी एजी अध्ययन गरेका छन् भने उनकी बहिनी कल्पनाले कक्षा १२ उत्तीर्ण गरेकी छन्। पढाइमा अब्बल यी दिदीभाइ कृषि कर्ममा पनि उत्तिकै सक्रिय छन् । विद्यालय तथा पढाइको समयबाहेक उनीहरूको अधिकांश समय खेतबारीमै बित्छ। कृषि कर्ममा बुवा–आमालाई सघाउँदै आएका उनीहरू अहिले परिवारका भरपर्दा सहारा बनेका छन्।
२३ रोपनीभन्दा बढी जमिनमा कृषि
प्राकृतिक रूपमा सुन्दर नौघाटे टोलमा शाही परिवारले २३ रोपनीभन्दा बढी जमिनमा कृषि तथा पशुपालन गर्दै आएको छ। खेतबारीमा विभिन्न किसिमका तरकारी तथा आलु उत्पादनसँगै बाख्रा, कुखुरा र भैँसी पालनसमेत हुँदै आएको छ । परिवारका सदस्यहरू नै मिलेर यति ठूलो कृषि कर्म धानिरहेका छन । उत्पादन भएको तरकारी अछामका विभिन्न स्थानीय बजारका साथै सुर्खेत र नेपालगन्जसम्म पुग्ने गरेको छ। कतिपय व्यापारी त तरकारी खरिद गर्न शाही परिवारको खेतबारीमै पुग्ने गरेका छन् । शाही परिवारले वार्षिक रूपमा ८ देखि १० लाख रुपैयाँ बराबरको तरकारी बिक्री गर्ने गरेको भूपेन्द्र बताउँछन । यसबाहेक बाख्रा तथा भैँसी पालनबाट पनि आम्दानी हुने गरेको उनको भनाइ छ । ‘यस वर्ष दुई सिजन आलु उत्पादन गर्दा पनि राम्रो आम्दानी भयो,’ भूपेन्द्रले भने, ‘पर्याप्त मात्रामा तरकारी उत्पादन गर्न सकियो भने बजारीकरणको समस्या हुँदैन । व्यापारीहरू आफैँ बारीमा आएर खरिद गरेर लैजान्छन् ।
‘पढेपछि विदेश जानुपर्छ भन्ने सोच नै आएन’
आईएसी एजी अध्ययन गरेका भूपेन्द्रलाई गाउँघरमा व्याप्त एउटा सोचले भने सधैँ चिमोटिरहन्छ । ‘हाम्रो गाउँघरमा पढेपछि बुवा–आमाले गर्दै आएको कृषि काम गर्नुहुँदैन भन्ने सोच छ,’ उनले भने, ‘सके सानोतिनो भए पनि जागिर खानुपर्छ, नभए विदेश जानुपर्छ भन्ने मान्यता छ। तर हामी दिदीभाइमा त्यस्तो सोच नै आएन । उनका अनुसार मेहनत गर्ने हो भने आफ्नै माटोबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । ‘हामीले मेहनत ग¥यौँ, यही माटोमा खुन–पसिना बगायौँ भने कृषिबाटै मनग्य आम्दानी गर्न सकिन्छ,’ भूपेन्द्रले भने, ‘यसको ज्वलन्त उदाहरण हाम्रो आफ्नै परिवार हो।’ आफूहरू बुवा–आमासँग सल्लाह गरेर घरभित्र र बाहिरका सबै काम गर्दै आएको उनले बताए। बुवा–आमाको माया, हौसला र साथले पनि सिंगो परिवारलाई कृषि कर्ममै रमाउने वातावरण बनेको उनको भनाइ छ । ‘हामी आधुनिक तरिकाबाट कृषि गरिरहेका छौँ। आम्दानी पनि राम्रै हुन्छ,’ उनले भने, ‘यसबाट घरखर्चदेखि पढाइ खर्चसम्म धान्न पर्याप्त भएको छ। त्यसैले विदेश जाने वा अर्को पेशा रोज्ने हाम्रो मनसाय छैन ।
‘आफ्नै खेतबारीमा काम गर्नुमा कुनै लाज छैन’
भूपेन्द्रकी बहिनी कल्पनाका लागि पनि कृषि कर्म गौरवको विषय हो । उनी खेतीपातीमा हातेमालो गर्नुलाई कुनै लाजको विषय मान्दिनन्। ‘हामी काम गर्न कुनै लाज मान्दैनौँ,’ कल्पनाले भनिन्, ‘बजारबाट बाहिरबाट आएको खानेकुरा किनेर खानु लाज हो, तर आफ्नै खेतबारीमा काम गरेर खानु कुनै लाज होइन।’ उनका अनुसार आफ्नै खेतबारीमा उत्पादन गरेको अन्न तथा तरकारी खाँदा आत्मनिर्भर भएको अनुभूति हुन्छ। ‘हामी बिहानदेखि साँझसम्म आमाबुवासँग आफ्नै खेतबारीमा काम गर्छौँ। मिठो–मसिनो खान्छौँ, राम्रो लुगा लगाउँछौँ। कसैको दबाबमा छैनौँ,’ उनले भनिन्, ‘कृषि पेशाको सुन्दर पक्ष नै यही हो । उत्पादन भएको तरकारी बजारसम्म पु¥याउने काममा पनि दिदीभाइ आफैँ सक्रिय हुन्छन् । ‘घरबाट सडकसम्म बजारमा पठाउने तरकारी आफैँ बोक्छौँ, गाडीमा लोड गर्छौँ,’ कल्पनाले भनिन्, ‘तरकारीबाट भएको आम्दानीमध्ये बचेको पैसा फेरि दिदीभाइले आफ्नै काममा लगानी गर्छौँ ।
सामाजिक सञ्जालबाट पनि कृषि अभियान
शाही दिदीभाइले खेतबारीमा गरेको कामलाई सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गर्दै आएका छन्। उनीहरूले कृषि फर्मको फेसबुक पेजमार्फत आफूहरूले गरिरहेको कृषि कर्मका भिडियो तथा तस्बिरहरू सार्वजनिक गर्ने गरेका छन्। त्यति मात्र होइन, देउडा गीतमार्फत पनि युवालाई कृषि कर्ममा लाग्न र आफ्नै माटोमा केही गरेर देखाउन प्रेरित गर्ने गरेका छन्। उनीहरूको गतिविधिले खेतीपातीलाई केवल परम्परागत पेशाका रूपमा होइन, आधुनिक, सम्मानजनक र सम्भावनायुक्त व्यवसायका रूपमा बुझ्न सकिन्छ भन्ने सन्देश दिइरहेको छ।
राजनीतिबाट कृषिसम्म
शाही परिवारका अभिभावक झंकरबहादुर शाही पेशाले राजनीतिज्ञ हुन । राजनीतिमा सक्रिय रहँदै आएका उनले कृषि कर्मलाई पनि निरन्तरता दिँदै आएका छन ्। बुवाले सुरु गरेको कृषि पेशालाई अहिले छोराछोरीले समेत जिम्मेवारीका साथ अघि बढाइरहेका छन ्। बुवा–आमा र छोराछोरी मिलेर खेतबारीमा पसिना बगाएको दृश्यले एउटा महत्वपूर्ण सन्देश दिन्छ—पढाइ र कृषि एकअर्काका विरोधी होइनन्; शिक्षा र सीपलाई माटोसँग जोड्न सकियो भने आफ्नै गाउँमा पनि भविष्य निर्माण गर्न सकिन्छ । शाही दिदीभाइको कथा आज विदेश जाने सपना देखिरहेका धेरै युवाका लागि एउटा प्रश्न पनि हो—अवसर खोज्न सधैँ विदेश नै जानुपर्छ त ? नौघाटेमा शाही परिवारले यसको जवाफ आफ्नै कर्मबाट दिइरहेको छ । माटोमा पसिना बगाउने हात कमजोर होइनन्, त्यही हातले भविष्यको समृद्धि निर्माण गर्न सक्छन् ।