अछामका युवाहरूको पहलमा बाढी तथा पहिरो प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको राहत संकलन तथा वितरण अभियानअन्तर्गत करिब रु. ४ लाख ५० हजार बराबरको राहत सामग्री हस्तान्तरण गरिएको छ।
“Lifeline Achham” को नेतृत्वमा सञ्चालन गरिएको अभियानमा C.I.P. Study Abroad & Immigration Pvt. Ltd., JNK Enterprises, Tikathali, Katki Chiya, Rohit Memorial Club Jayagadh तथा Sanfebagar Youth United Club (SYUC) लगायतका संस्था तथा युवाहरूको सहकार्य र सहयोग रहेको थियो।
अभियानमार्फत संकलन गरिएको राहत सामग्री नुवाकोटको बिदुरस्थित जिल्ला समन्वय समिति मार्फत बाढी तथा पहिरो प्रभावित नागरिकका लागि हस्तान्तरण गरिएको हो। यस्तै, संकलित रकममध्ये बाँकी रु. ३० हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत सहयोग गरिएको अभियानमा सहभागी युवाहरूले बताएका छन्।
विपद्को समयमा आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गर्न सबैलाई आग्रह गर्दै युवाहरूले आगामी दिनमा पनि बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा आवश्यक सहयोग र स्वयंसेवी सेवा प्रदान गर्न आफूहरू तयार रहेको बताएका छन्।
“हामीले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गरेका छौँ। अब देशका लागि हरेक व्यक्ति र संस्थाले आफ्नो क्षमता र स्रोतअनुसार योगदान गर्ने समय हो। सबै मिलेर सहयोग गरेमा विपद्मा परेका नागरिकलाई ठूलो राहत पुग्न सक्छ,” अभियानमा सहभागी युवाहरूले भने।
अभियानमा सहभागी युवाहरूले बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकहरूको सकुशल उद्धारको कामना गरेका छन्।
उनीहरूले सामाजिक सञ्जालमा देखिने अवस्थाभन्दा प्रभावित क्षेत्रको स्थलगत अवस्था निकै भयावह र चुनौतीपूर्ण रहेको भन्दै विपद् प्रभावित क्षेत्रमा अनावश्यक रूपमा फोटो खिच्न, घुम्न वा भीड बढाउन नजान समेत आग्रह गरेका छन्।
उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (APF) तथा स्वयंसेवकहरूलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन सबैले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ।
अछामका युवाहरूले विपद्को समयमा देखाएको यो सहकार्य र मानवीय प्रयासले “संकटमा देशका लागि युवा एकजुट” भन्ने सकारात्मक सन्देश दिएको छ।














प्रतिक्रिया