मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरघरमा धारा, टोलभरि सरसफाइ : अछामको बिरालतोली बन्यो पूर्ण सरसफाइ तथा स्वच्छता टोल

घरघरमा धारा, टोलभरि सरसफाइ : अछामको बिरालतोली बन्यो पूर्ण सरसफाइ तथा स्वच्छता टोल


अछाम — मंगलसेन नगरपालिका–३ स्थित बिरालतोली टोललाई पूर्ण सरसफाइ तथा स्वच्छता टोल घोषणा गरिएको छ। खानेपानी तथा सरसफाइका पाँच प्लस एक सूचक पूरा गरेपछि बुधबार आयोजित विशेष कार्यक्रममार्फत टोललाई पूर्ण सरसफाइ तथा स्वच्छता टोल घोषणा गरिएको हो।
घट्टेखोला लिफ्ट खानेपानी तथा सरसफाइ योजनाको निर्माण सम्पन्न भई बिरालतोलीका घरघरमा ‘एक घर, एक धारा’ निर्माण हुनुका साथै सरसफाइका आवश्यक सूचकहरू पूरा भएपछि टोललाई पूर्ण सरसफाइ तथा स्वच्छता टोल घोषणा गरिएको वडा नम्बर ३ का अध्यक्ष बृखबहादुर बोगटीले बताउनुभयो।
अध्यक्ष बोगटीका अनुसार बिरालतोलीमा वर्षौंदेखि खानेपानीको ठूलो समस्या थियो। मंगलसेन नगरपालिका र वडा कार्यालयको सहयोग, हेल्भेटास नेपालको आर्थिक तथा सेवक नेपालको प्राविधिक सहयोगमा बृहत् खानेपानी योजना निर्माण भएपछि अहिले टोलवासीले घरमै खानेपानी पाउनुका साथै सरसफाइका सबै सूचकसमेत पूरा गर्न सफल भएका हुन्।
“बिरालतोलीका नागरिकलाई खानेपानीको सुविधा दिने प्रतिबद्धता पटक–पटक जनाए पनि विभिन्न कारणले पूरा हुन सकेको थिएन। अहिले योजना सम्पन्न भएर घरघरमा धारा पुगेको छ,” अध्यक्ष बोगटीले भन्नुभयो, “अब बिरालतोलीलाई नमुना टोलका रूपमा विकास गर्ने लक्ष्य छ।”
स्थानीय नागरिकको सक्रियताका कारण योजना निर्धारित समयमै सम्पन्न भएको भन्दै उहाँले योजनाको दिगोपनाका लागि उपभोक्ताले विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
वर्षौंदेखिको दुःखपछि घरमै पानी
खानेपानीको सुविधा घरमै पुगेपछि बिरालतोलीका स्थानीय खुसी भएका छन्। खानेपानीकै अभावका कारण कतिपय परिवार बसाइँसराइ गर्न बाध्य भएको स्थानीय भक्तबहादुर साउदले बताउनुभयो।
“वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका थियौँ। पानीकै अभावमा केही दाजुभाइ बसाइँसराइ गरेर जानुभयो। अहिले घरमै पानी आउँदा म मात्र होइन, सिंगो गाउँ नै खुसी छ,” साउदले भन्नुभयो।
पञ्चायतकालदेखि नै खानेपानीको आश्वासन पाउँदै आए पनि लामो समयसम्म समस्या समाधान हुन नसकेको उहाँको भनाइ छ। अहिले नगरपालिका र हेल्भेटास नेपालको सहयोगमा घरमै पानी पुगेपछि विगतका दुःख बिर्सिएको साउदले बताउनुभयो।
‘पानीलाई आयआर्जनसँग जोड्नुपर्छ’
बिरालतोलीका प्रत्येक घर तथा अन्य संरचनाको अनुगमन गरेपछि शिवनिवास आधारभूत विद्यालयको प्राङ्गणमा घोषणा कार्यक्रम आयोजना गरिएको थियो। पदमसिंह भाटको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा नगरप्रमुख बोहराले आफू जनप्रतिनिधि भएदेखि नै बिरालतोलीका नागरिकलाई खानेपानीको सुविधा उपलब्ध गराउन पहल गर्दै आएको बताउनुभयो। आफ्नो १० वर्षे कार्यकालको अन्तिम चरणमा लामो प्रयास सफल भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो।
“लामो प्रयास र ठूलो लगानीपछि बिरालतोलीका घरघरमा पानीका धारा बगेको देख्दा र नागरिकको अनुहारमा मुस्कान देख्दा अत्यन्त खुसी लागेको छ,” नगरप्रमुख बोहराले भन्नुभयो।
उहाँले पानीलाई केवल उपभोगमा सीमित नराखी आयआर्जनसँग जोड्न स्थानीयलाई आग्रह गर्नुभयो। “पानी जीवन हो। यसको सदुपयोग गर्दै गरिबी घटाउने र आयआर्जन बढाउने गतिविधि सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो। त्यस्ता गतिविधिका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उहाँको भनाइ छ।
योजना निर्माण हुनु मात्रै उपलब्धि नभएको भन्दै नगरप्रमुख बोहराले यसको संरक्षण, उचित प्रयोग र दीर्घकालीन सञ्चालनको जिम्मेवारी उपभोक्ताकै भएको बताउनुभयो।
घरघरमा धारा मात्रै होइन, सरसफाइका संरचना पनि
मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगानाले बिरालतोली टोल सुन्दर रहेको र घरघरमा जडान गरिएका खानेपानीका धाराले टोलको सौन्दर्य थपेको बताउनुभयो।
उहाँका अनुसार ‘एक घर, एक धारा’सँगै भाँडा सुकाउने चाङ तथा कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि छुट्टाछुट्टै खाल्डासमेत निर्माण गरिएका छन्। निर्माण गरिएका संरचनाको भरपुर प्रयोग गर्न उहाँले स्थानीयलाई आग्रह गर्नुभयो।
स्थानीय नागरिकले पानीको संरक्षणमा ‘पानीका सिपाही’ भएर काम गर्नुपर्नेमा जोड दिँदै ढुंगानाले सरसफाइसँगै अन्य सामाजिक गतिविधिमा पनि सक्रिय हुन आग्रह गर्नुभयो।
‘गुणस्तरीय उपकरण प्रयोग भएकाले १ हजार घरधुरीसम्म पानी पुग्न सक्छ’
कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हेल्भेटास नेपालका टिम लिडर मदनराज भट्टले खानेपानी योजना गुणस्तरीय उपकरण प्रयोग गरी निर्माण गरिएको बताउनुभयो।
उहाँका अनुसार योजनाबाट भविष्यमा करिब १ हजार घरधुरीसम्म खानेपानी सुविधा पुर्‍याउन सकिनेछ। लाछीमनामा रहेको मुहान तथा लिफ्ट प्रणाली दुवै माध्यमबाट पानी तानिने भएकाले खानेपानीको अभाव नहुने उहाँले बताउनुभयो।
मुख्य पानी ट्याङ्कीहरूमा आवश्यक औषधि प्रयोग गरिएकाले पानी सिधै पिउन मिल्ने र सरसफाइको कमीका कारण लाग्ने विभिन्न रोगबाट बच्नसमेत सहयोग पुग्ने उहाँको भनाइ छ। योजनाको दीर्घकालीन संरक्षण र उचित व्यवस्थापनमा विशेष ध्यान दिन उहाँले उपभोक्तालाई आग्रह गर्नुभयो।
कार्यक्रममा मंगलसेन नगरपालिका–३ का अध्यक्ष बृखबहादुर बोगटी, वडा नम्बर ४ का अध्यक्ष नामसिंह धामी, सेवक नेपालका कार्यसमिति सचिव केशर रावल, हेल्भेटास नेपालका वास अधिकृत चन्द्रप्रकाश केसीलगायतले शुभकामना मन्तव्य राख्दै योजनाको दिगोपनामा ध्यान दिन आग्रह गर्नुभयो।
करिब ८६ लाख लगानी, खानेपानीसँगै सरसफाइको उपलब्धि
घट्टेखोला लिफ्ट खानेपानी तथा सरसफाइ योजनाको निर्माणमा मंगलसेन नगरपालिका तथा वडा कार्यालयको २१ लाख २४ हजार २ सय १९ रुपैयाँ र हेल्भेटास नेपालको ४३ लाख ९ हजार ७ सय २४ रुपैयाँसहित कुल ८५ लाख ९१ हजार ४ सय ६० रुपैयाँ लागत लागेको बताइएको छ।
योजना छोटो समयमै सम्पन्न भएको हो। योजनाबाट बिरालतोलीका ९ सय ४७ घरपरिवार लाभान्वित भएको जनाइएको छ।
शिवनिवास आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा स्थानीय कला तथा संस्कृति झल्कने सांस्कृतिक झाँकी प्रस्तुत गरी अतिथिहरूलाई स्वागत गरिएको थियो। खानेपानी योजनाको आय–व्यय विवरण सचिव दलबहादुर बोगटीले प्रस्तुत गर्नुभएको थियो भने सहभागी उपभोक्ताले उठाएका प्रश्नको जवाफ अध्यक्ष सर्प बोगटीले दिनुभएको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक नरबहादुर रावलले गर्नुभएको थियो।
वर्षौंदेखिको खानेपानी समस्या समाधानसँगै सरसफाइका सबै सूचक पूरा गर्दै बिरालतोली पूर्ण सरसफाइ तथा स्वच्छता टोल घोषणा हुनु स्थानीयका लागि खानेपानी सुविधा मात्रै नभई स्वच्छ, स्वस्थ र व्यवस्थित बस्ती निर्माणतर्फको महत्वपूर्ण उपलब्धि बनेको छ।