मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाजा खर्च कटाएर दिपशिखाका विद्यार्थीले भोटेकोसी बाढीपीडितलाई पठाए ३ हजार २५ रुपैयाँ

खाजा खर्च कटाएर दिपशिखाका विद्यार्थीले भोटेकोसी बाढीपीडितलाई पठाए ३ हजार २५ रुपैयाँ


अछामको मंगलसेनमा रहेको दिपशिखा इङ्गलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूले भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा बालबालिकाका लागि आर्थिक सहयोग गरेका छन्।

घरबाट खाजा खानका लागि ल्याएको ५/१० रुपैयाँ बचत गर्दै विद्यार्थीहरूले संकलन गरेको ३ हजार २५ रुपैयाँ बाढीपीडितको राहतका लागि पठाएका हुन्। सानो–सानो रकम जम्मा गरेर विपद्मा परेकाहरूलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले उक्त रकम संकलन गरेका थिए।

विनाशकारी बाढीका कारण आफूहरूजस्तै हजारौँ बालबालिका प्रभावित भएको भन्दै विद्यार्थीहरूले आफ्नो सानो सहयोगले समस्यामा परेका बालबालिका तथा परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन्। विपद्का बेला सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने सन्देशसमेत उनीहरूले दिएका छन्।

विद्यार्थीहरूले संकलन गरेको उक्त राहत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका लेखाशाखा प्रमुख पहल बोगटीले जानकारी दिनुभयो।

विद्यार्थी उमेरमै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकास गर्ने उद्देश्यले गरिएको यो सहयोगले विपद्मा परेकाप्रति बालबालिकाको संवेदनशीलता र सहयोगी भावना उजागर गरेको छ।