मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिलाका सवालमा एक भएर अघि बढ्ने अछामका जनप्रतिनिधि र अधिकारकर्मीको प्रतिबद्धता

महिलाका सवालमा एक भएर अघि बढ्ने अछामका जनप्रतिनिधि र अधिकारकर्मीको प्रतिबद्धता


अछाम । अछामका जनप्रतिनिधि तथा महिला अधिकारकर्मीहरूले महिलाका सवालमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। महिलामाथि हुने हिंसा, विभेद तथा अवसरबाट हुने वञ्चितीकरण अन्त्यका लागि स्थानीय तह, अधिकारकर्मी र सरोकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको उनीहरूले बताएका छन्।

समविकास नेपालले आयोजना गरेको ‘महिला मानव अधिकार रक्षकहरूको सुरक्षा, अधिकार र सहयोगः चुनौती, दायित्व र सरोकारवालाको भूमिका’ विषयक छलफल कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा महिला अधिकारकर्मीहरूले महिलाका अधिकार संरक्षण तथा प्रवर्द्धनका लागि साझा पहल आवश्यक रहेकोमा जोड दिएका हुन्।

कार्यक्रममा बोल्दै पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले महिलाहरूलाई अहिले पनि विभिन्न बहानामा राजनीतिक, आर्थिक तथा सामाजिक अवसरबाट वञ्चित गरिँदै आएको बताउनुभयो। योग्यता र क्षमता हुँदाहुँदै पनि महिला भएकै कारण पछाडि पारिने अवस्था अन्त्य गर्न महिलाहरू स्वयं एकजुट हुनुपर्ने उहाँको भनाइ थियो।

महिलाहरूले आफ्नो नेतृत्व र व्यक्तित्व विकासमा समेत ध्यान दिनुपर्ने बताउँदै नगर प्रमुख चलाउनेले आगामी २०८४ सालको निर्वाचनमा हरेक राजनीतिक दलबाट सक्षम महिलालाई कार्यकारी पदमा दाबी गर्न आग्रह गर्नुभयो। महिलाहरू साझा सवालमा एकजुट नभएसम्म समुदायमा पछाडि पारिएका वर्गका समस्या समाधान गर्न कठिन हुने उहाँले बताउनुभयो ।

आफू नगर प्रमुखको निर्वाचनमा उम्मेदवार बन्दा विभिन्न किसिमका लैङ्गिक हिंसा र चुनौती सामना गर्नुपरेको अनुभव सुनाउँदै उहाँले चुनौतीको सामना गर्दै महिलाहरू अघि बढ्नुपर्नेमा जोड दिनुभयो। आफ्नो पालिकाले महिला तथा महिला अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा महिलालक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाउनुभयो।

मेल्लेख गाउँपालिका उपाध्यक्ष नृपबहादुर खड्काले महिलाका सवाललाई आफू र आफ्नो पालिकाले विशेष प्राथमिकता दिएको बताउनुभयो। राजनीतिक दलहरूबीचको समीकरणका कारण पालिकामा महिला उपाध्यक्ष नभए पनि महिलाका सवालमा आफूले त्यसको अभाव महसुस हुन नदिएको उहाँको दाबी थियो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामार्फत लक्षित समुदायको मागका आधारमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उपाध्यक्ष खड्काले आगामी दिनमा महिलाको नेतृत्व तथा व्यक्तित्व विकासमा थप जोड दिने प्रतिबद्धता जनाउनुभयो।

मंगलसेन नगरपालिकाका निवर्तमान उपप्रमुख सरिता उपाध्यायले आफू उपप्रमुखको जिम्मेवारीमा रहँदा सबैसँग समन्वय र सहकार्य गर्दै महिलालक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। पहिलो कार्यकालमै कोरोना महामारीको चुनौतीका बीच पनि महिलालाई जागरूक बनाउने तथा आयआर्जनसँग जोड्ने कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।

महिलाले महिलालाई नै सहयोग गर्नुपर्नेमा जोड दिँदै नेतृ उपाध्यायले राजनीतिक आस्थाभन्दा माथि उठेर महिलाका साझा सवालमा एकताबद्ध हुनुपर्ने बताउनुभयो।

यसै क्षेत्रमा पत्रकारितामा लामो समयदेखि कलम चलाउदै आउनु भएकी पत्रकार मेनुका ढुंगानाले महिलाको अधिकार प्राप्तिको अभियान घरबाटै सुरु गर्नुपर्ने बताउनुभयो। उहाँले ‘विद्रोह’ भन्नाले झगडा गर्नु नभई सकारात्मक रूपमा आफ्ना अधिकारका लागि आवाज उठाउनु भएको स्पष्ट पार्दै महिलालाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार ढुंगानाले सञ्चारमाध्यमको मुख्य काम समस्या उजागर गर्ने भए पनि त्यसको समाधान गर्ने जिम्मेवारी राज्य र सम्बन्धित निकायको हुने बताउनुभयो। आफूले महिला, बालबालिका तथा पछाडि पारिएका समुदायका सवालमा लामो समयदेखि समाचार लेख्दै आए पनि कतिपय विषयमा राज्यका निकाय तथा सरोकारवाला गम्भीर हुन नसकेको उहाँको गुनासो थियो ।

समविकास नेपालका अध्यक्ष दुधकला बिष्टको अध्यक्षतमा भएको कार्यक्रममा सहभागी महिला तथा अधिकारकर्मीले आफ्नो समुदायमा महिलाले भोग्नुपरिरहेको समस्याका बारेमा जानकारी गराएका थिए भने किशोरीहरूले किशोरीमैत्री संरचना निर्माण गरि आफुहरूका गम्भीर सवालमा ध्यान दिन आग्रह गरेका थिए ।

कार्यक्रममा महिला मानव अधिकार रक्षकहरूले भोग्दै आएका चुनौती, उनीहरूको सुरक्षा, अधिकार तथा संरक्षणका विषयमा समेत छलफल गरिएको थियो। सहभागीहरूले महिलाका सवाललाई प्राथमिकतामा राख्दै आगामी दिनमा स्थानीय तह, नागरिक समाज, सञ्चारमाध्यम तथा अधिकारकर्मीबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन । कार्यक्रमको संचालन समविकास नेपालका फिल्ड संयोजक सुरेशबहादुर स्वारले गर्नुभएको थियोे ।