मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरपालिकाको शैक्षिक समीक्षा सम्पन्न, गुणस्तरीय शिक्षा सुधारका लागि विशेष कार्ययोजना निर्माण

मंगलसेन नगरपालिकाको शैक्षिक समीक्षा सम्पन्न, गुणस्तरीय शिक्षा सुधारका लागि विशेष कार्ययोजना निर्माण


अछाम — मंगलसेन नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा नगरभित्रका 39 वटै विद्यालयको शैक्षिक, आर्थिक तथा भौतिक प्रगतिको समीक्षा गर्नुका साथै आगामी शैक्षिक सुधारका लागि विशेष कार्ययोजना निर्माण गरिएको छ।

कार्यक्रममा विद्यालयहरूको शैक्षिक सत्र २०८२ को प्रगति प्रतिवेदनमाथि समीक्षा गरिएको थियो। साथै आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र कार्यविधिका विषयमा प्रधानाध्यापकहरूलाई अभिमुखीकरणसमेत प्रदान गरिएको थियो। समीक्षा कार्यक्रममा मंगलसेन नगरपालिकाको वर्तमान शैक्षिक अवस्था, विद्यालयहरूले भोगिरहेका समस्या, चुनौती तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा बृहत् छलफल भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिनुभयो।

नगरको शैक्षिक अवस्थामा सुधार ल्याउन समीक्षा कार्यक्रमबाट विशेष कार्ययोजना निर्माण गरिएको उहाँले बताउनुभयो। कार्यक्रममा सहभागी शिक्षकहरूले आ–आफ्ना विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने गरी काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। शिक्षकहरूले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक तथा मानव स्रोतको अवस्थाबारे जानकारी गराउँदै विद्यमान समस्या समाधान गर्न सके विद्यालयको शैक्षिक अवस्थामा उल्लेख्य सुधार ल्याउन सकिने धारणा राखेका थिए।

स्रोतसाधनको सीमाबीच पनि शिक्षकको काम प्रशंसनीय : नगर प्रमुख बोहरा नगर प्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले सीमित स्रोतसाधनका बाबजुद शिक्षकहरूले शिक्षा क्षेत्रमा गरेको कामप्रति खुसी व्यक्त गर्नुभयो। सामुदायिक विद्यालयप्रति थुप्रै आशा र अपेक्षा भए पनि राज्यको स्रोतसाधन पर्याप्त नहुँदा गुणस्तरीय शिक्षा प्रदान गर्न चुनौती थपिएको नगर प्रमुख बोहराको भनाइ थियो।

नगरभित्रका शिक्षकहरूले शैक्षिक क्षेत्रमा गरेको कामप्रति आफू सन्तुष्ट रहेको बताउँदै उहाँले आगामी दिनमा विद्यालयको आवश्यकताका आधारमा स्रोतसाधन विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालयको भौतिक संरचनामा नगरको ठूलो लगानी : उपप्रमुख रावल नगर उपप्रमुख संगीता रावल सोडारीले मंगलसेन नगरपालिकाले नगरभित्रका विद्यालयहरूको भौतिक संरचना निर्माणमा ठूलो लगानी गरिरहेको बताउनुभयो।

नगरपालिकाले लगानी गरेर निर्माण गरेका योजनालाई आफूले ल्याएको भन्दै बिचौलियाहरूले कमिसन उठाउने प्रवृत्ति देखिन सक्ने भएकाले त्यसतर्फ सचेत रहन उहाँले शिक्षकहरूलाई सुझाव दिनुभयो। विद्यालय सभ्य नागरिक उत्पादन गर्ने संस्था : प्रमुख प्रशासकीय अधिकृत ढुंगाना प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगानाले विद्यालय समुदायसँग प्रत्यक्ष जोडिएको संस्था भएकाले यसको आलोचना र समर्थन दुवै हुने बताउनुभयो।

विद्यालय सभ्य नागरिक उत्पादन गर्ने संस्था भएकाले अहिलेको आवश्यकता गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा भएको उहाँको भनाइ थियो। विद्यालयहरूले सोहीअनुसार शैक्षिक योजना निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। शिक्षा प्रदान गरेर मात्रै नपुग्ने भन्दै उहाँले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयलाई प्राथमिकतामा राख्न विद्यालय र शिक्षकहरूलाई आग्रह गर्नुभयो।

समीक्षालाई परिणाममुखी बनाउन जोड सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष बृखबहादुर बोगटीले दुई दिनसम्म सञ्चालन भएको समीक्षा कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो। विगतका वर्षहरूको तुलनामा यस वर्षको समीक्षा कार्यक्रमलाई परिणाममुखी बनाउने प्रयास गरिएको उल्लेख गर्दै उहाँले विगतमा देखिएका कमजोरी सुधार गर्दै समन्वय र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा पत्रकार महासंघ अछामका उपाध्यक्ष टेकबहादुर थापा, गंगा माध्यमिक विद्यालयका शिक्षक मोतिराम भण्डारी तथा मालिका आधारभूत विद्यालय रक्तुका प्रधानाध्यापक पम्फा रावललगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दीपक भण्डारीले गर्नुभएको थियो भने समापन कार्यक्रमको सञ्चालन दिलबहादुर केसीले गर्नुभएको थियो।