राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछामले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा सदरमुकाम मंगलसेनस्थित खुलामञ्चमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली तथा शोकसभा सम्पन्न गरेको छ।
सहिदहरूको योगदान र बलिदानको स्मरण गर्दै आयोजित कार्यक्रममा सहभागीहरूले सहिदहरूको तस्वीरमा टीका तथा फूलका गुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए। सहिदहरूको सम्मानमा केही समय मौनधारणसमेत गरिएको थियो।
कार्यक्रममा रास्वपा अछामका जिल्ला सभापति ओमप्रकाश रावल, जिल्ला सचिव बम रावल, मंगलसेन नगर सभापति राजेशबाबु बोगटी, नगर सचिव मिलन नाथ, सह–सचिव टेकबहादुर विक लगायत जिल्ला तथा नगर तहका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
त्यस्तै, जिल्लामा रहेका जेन्जी पुस्ताका युवाहरू, सुरक्षा निकायका सुरक्षाकर्मी, जिल्लास्थित सहकारी संस्थाका कर्मचारी तथा मंगलसेन बजार क्षेत्रका विभिन्न व्यवसायीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
शोकसभामा सहभागीहरूले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका सम्पूर्ण सहिदहरूप्रति सम्मान व्यक्त गर्दै उनीहरूको बलिदानलाई स्मरण गरेका थिए। सहभागीहरूले सहिदहरूको योगदानलाई सधैँ सम्मानका साथ स्मरण गर्नुपर्नेमा जोड दिएका थिए।
दीप प्रज्वलन तथा श्रद्धाञ्जलीपछि कार्यक्रम भावुक र शोकपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।














प्रतिक्रिया