अछाम । अछाम जिल्लामा अवस्थित बयालपाटा प्रादेशिक अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । प्रादेशिक अस्पतालको रूपमा स्थापित भएसँगै अस्पतालमा ७ जना विशेषज्ञ चिकित्सकले सेवा दिन थालेका हुन् ।
विगतका वर्षमा हाडजोर्नी र कहिलेकाहीँ एमडीजीपी विशेषज्ञ चिकित्सकले मात्र सेवा दिने गरेकोमा अहिले विभिन्न विधाका ७ जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । सुदूर पहाडको दुर्गम क्षेत्र अछाममा ७ जना विशेषज्ञ चिकित्सक आएर सेवा दिएको यो पहिलोपटक हो ।
७ जना विशेषज्ञ चिकित्सकमध्ये अस्पतालका कार्यकारी निर्देशकसमेत रहेका अर्थोपेडिक सर्जन तथा हड्डीको क्यान्सरको समेत उपचार गर्ने विशेषज्ञ डा. मन्दिप पाठक रहेका छन् । डा. पाठक अस्पतालमा एक दशकदेखि कार्यरत छन् ।
अर्थोपेडिक सर्जन तथा अन्कोलोजी विशेषज्ञ डा. मन्दिप पाठक
काठमाडौँ विश्वविद्यालयबाट एमबीबीएस पूरा गरी फिलिपिन्सबाट अर्थोपेडिक्समा रेसिडेन्सी सकेका डा. पाठकले मलेसियाबाट अर्थोपेडिक अन्कोलोजीमा फेलोसिपसमेत गरेका छन् । उनी बयालपाटा प्रादेशिक अस्पतालका कार्यकारी निर्देशकसमेत हुन् ।
अर्थोपेडिक सर्जन डा. विश्वबन्धु निरौला
यस्तै, अर्का अर्थोपेडिक सर्जन हुन् डा. विश्वबन्धु निरौला । भारतको प्रतिष्ठित शैक्षिक संस्थान अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) बाट हाडजोर्नीमा विशेषज्ञता हासिल गरेका डा. निरौलाले काठमाडौँस्थित बी एन्ड बी अस्पतालमा ट्रमा फेलोसिप पूरा गरेका छन् । उनी बयालपाटा प्रादेशिक अस्पतालमा बिगत १ बर्ष बढी समय देखि कार्यरत छन् ।
जनरल सर्जन डा. सरोज ढुंगाना
पोखरा, कास्की घर भएका जनरल सर्जन डा. सरोज ढुंगानाले चितवन मेडिकल कलेजबाट जनरल सर्जरी पूरा गरेका हुन् । यसअघि घोडाघोडी अस्पताल, कैलालीमा समेत काम गरेको अनुभव भएका डा. ढुंगाना विगत १ वर्षदेखि बयालपाटा प्रादेशिक अस्पतालमा कार्यरत छन् ।
जनरल फिजिसियन डा. सञ्जिव जोशी
गण्डकी मेडिकल कलेज, पोखराबाट जनरल फिजिसियनमा विशेषज्ञता हासिल गरेका डा. सञ्जिव जोशीसमेत बयालपाटा प्रादेशिक अस्पताल, अछाममा विगत १ वर्षदेखि कार्यरत छन् । काठमाडौँ घर भएका डा. जोशीसँग यसअघि सेती प्रादेशिक अस्पतालमा काम गरेको अनुभव छ ।
स्त्रीरोग विशेषज्ञ डा. जयनाथ चौधरी
स्त्रीरोग विशेषज्ञ डा. जयनाथ चौधरीले मणिपाल अस्पताल, पोखराबाट स्त्रीरोगमा विशेषज्ञता हासिल गरेका छन् । जनकपुर घर भएका डा. चौधरीसँग पाटन एकेडेमी अफ हेल्थ साइन्स, ललितपुरमा काम गरेको अनुभव छ । उनी विगत १ वर्षदेखि बयालपाटा अस्पतालमा सेवा दिइरहेका छन् । डा. चौधरीको नेतृत्वमा रहेको टिमले बयालपाटा अस्पतालमा १८ वटा ठूला शल्यक्रिया गरिसकेको छ ।
बालरोग विशेषज्ञ डा. जनक पाठक
कान्ति बाल अस्पतालबाट बालरोगमा विशेषज्ञता हासिल गरेका डा. जनक पाठकसमेत बयालपाटा प्रादेशिक अस्पतालमा कार्यरत छन् । अछाम जिल्लामा बालरोग उपचारको क्षेत्रमा लामो समयदेखि समस्या भए पनि उपचारका लागि धनगढी र सुर्खेत जानुपर्ने बाध्यता थियो । डा. जनक अछाम आएपछि जिल्लाबाहिर जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ । डा. जनक पाल्पावासी हुन् ।
एनेस्थेसियोलोजी विशेषज्ञ डा. दीपक ढकाल
बयालपाटा प्रादेशिक अस्पतालमा एनेस्थेसियोलोजी विशेषज्ञ डा. दीपक ढकालसमेत कार्यरत रहेका छन् । कैलाली घर भएका डा. ढकालसँग सेती प्रादेशिक अस्पताल, धनगढीमा काम गरेको अनुभव समेत छ । उनले न्याम्स, वीर अस्पतालबाट एनेस्थेसियोलोजीमा एमडी गरेका छन् ।
एक वर्षको अवधिमा ७४५ ठूला सफल शल्यक्रिया
बयालपाटा प्रादेशिक अस्पतालमा एक वर्षको अवधिमा ७४५ वटा मेजर सर्जरी भएका छन् । जनरल सर्जरी, प्रसूति रोग र हाडजोर्नी गरी उक्त संख्यामा शल्यक्रिया भएका हुन् । प्रदेश सरकारको संरचनामा आएको एक वर्ष पूरा भएसँगै अस्पतालमा भएका शल्यक्रियामध्ये धेरैजसो हाडजोर्नीका रहेका छन् ।
दुर्गम क्षेत्रमा चोटपटकका घटना धेरै हुने कारणले पनि हाडजोर्नीका शल्यक्रिया बढी भएको अर्थोपेडिक सर्जन डा. विश्वबन्धु निरौलाले बताए । दुर्गम र असम्भवजस्तै मानिने कतिपय बिरामीको समेत सफल शल्यक्रिया भएको उनले बताए ।
अस्पतालका अनुसार २०८३ श्रावण १ गतेदेखि असोज ४ गतेसम्म १३४ वटा शल्यक्रिया भइसकेका छन् ।














प्रतिक्रिया