विश्व दृष्टि दिवस अछाममा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। ‘आँखालाई माया गरौँ, दृष्टि जोगाऔँ’ भन्ने नाराका साथ नेपाल नेत्रज्योति संघ, मंगलसेन आँखा उपचार केन्द्र र षोडशादेवी माध्यमिक विद्यालयको समन्वयमा दिवस मनाइएको हो।
दिवसको अवसरमा षोडशादेवी माध्यमिक विद्यालयमा अध्ययनरत टुहुरा बालबालिकालाई एकदिने निःशुल्क आँखा जाँच तथा परामर्श सेवा प्रदान गरिएको मंगलसेन आँखा उपचार केन्द्रका अध्यक्ष शंकरबहादुर रावलले जानकारी दिनुभयो।
कार्यक्रममा आँखाको महत्व, आँखालाई स्वस्थ राख्न अपनाउनुपर्ने सावधानी तथा आँखाको हेरचाहका विषयमा सहभागीलाई जानकारी गराइएको थियो।
यस्तै, मंगलसेन बहुप्राविधिक शिक्षालय र अछाम बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई पनि निःशुल्क आँखा जाँच तथा परामर्श सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।
आँखाको स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने तथा समयमै आँखासम्बन्धी समस्या पहिचान गरी उपचारमा पहुँच बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।














प्रतिक्रिया