मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किन कोरोनाको उच्च जोखिममा छ सुदुरपश्चिम ?

किन कोरोनाको उच्च जोखिममा छ सुदुरपश्चिम ?


एमबि कुँवर। 

कोरोना भाईरसले अहिले बिश्व नै आतंकित भैरहेको छ । चीनको बुहानबाट शुरुभएको यो संक्रमण एक दमै तिब्र गतिमा बिश्व भर फैलिरहेको छ । यस्को रोकथामको लागि अहिले सम्म कुनै प्रकारको औषधी पत्ता लाग्न सकेको छैन । 

नेपालमा हाल सम्म ३ जना व्यक्ती कोरोनाको संक्रमणमा आएका छन र तिनीहरुको काठमाण्डौ स्थित टेकु अस्पतालमा उपचार भई रहको छ । बिश्व भर कोरोना भयावह हुदैछ । दैनिक २७०० जति मान्छेहरु मृत्यको मुखमा जादैछन । दैनिक ६० हजार भन्दा बढी नयाँ संक्रमितको संख्या रहेको छ । अमेरिका जस्तो महाशक्ती राष्ट अहिले सबै भन्दा बढी संक्रमित भएको देशमा रहेको छ । आज मात्रै धनगढीमा थप १ जना कोरोना संक्रमित भएको पुष्ठि भएको छ । जसको सेतीप्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको छ ।

सुदरपश्चिम प्रदेशमा यति खेर भारतको बिभिन्न स्थानमा रहेर काम गर्ने व्यक्तीहरु धमाधम घर फर्की रहेका छन । सुदूर पश्चिममा यो भारतबाट फर्रकने  सिजन नै हो । यो बेला चैत्र दशै र बिशु पर्व मनाउनका लागि भारतबाट आ आफ्नो घर फर्कने चलन रहेका र यसै क्रममा भारतमा कोरोनाको संक्रमण फैलिए पछि र यताबाट आफन्तहरुले जसरी पनि आउनु भनेर खबर पठाए पछि भारतका बिभिन्न शहरमा काम गरेर फर्कनेहरुको संख्यामा बृद्धि भएको हो ।

देश पुरै लकडाउनको अबस्थामा रहे पनि अझै कतिपय व्यक्तीहरु लुकीछिपि आई रहेको कुरा आज मात्रै अछामका एकजना प्रमुख प्रशासकीय अधिकृतले बताउनु भएको छ । हामीले जति सुकै राम्रो व्यबस्थापन गरे पनि भारतबाट आएका व्यक्तीहरु क्वारेनटाइनमा बस्न सहज मानिरहेका छैनन । तिनिहरु बिभिन्न बाहना गरेर आफ्नो घर जान खोजी रहेका छन उनले गुनासो पोखे ।  एउटै वडामा १५० जना भन्दा बढी व्यक्तीहरु भारतका बिभिन्न ठाँउबाट आएका छन । यस्तो अबस्थामा कसरी व्यबस्थापन गर्ने निकै कठिन भएको छ । भौगोलिक अवस्था, चालचलन,  चेतनाको कमीका साथै स्रोतसाधनको कमीले कोरोना रोकथाम निकै चुनौती बनिरहेको छ ।

तयारी, व्यवस्थापन र रोकथाममा चुनौति

भारतको बिभिन्न स्थानबाट सुदूर पश्चिम फर्केका व्यक्तीहरुको उचित चेकजाँच बिनै तिनीहरु रातारात सुदूपश्चिका पहाडी जिल्लामा पुगेका छन । जिल्लाका स्थानीय तहहरुले उनीहरुको लागि क्वारेनटाईन व्यबस्थापन गरेर राख्ने भनिएको छ र राखि पनि रहेका छन।

यद्यपी कतिपय व्यक्तीहरु स्थानीय तहहरुले क्वारेनटाईन स्थापना गर्नुभन्दा अघि नै आ आफ्नो गाँउ घर पुगि सकेका छन ।  क्वारेनटाईनमा बसेका व्यक्तीहरु पनि पुरै समय बस्न आनाकानी गरीरहेका छन । केही सन्चार माध्यममा देखिएका र भनिएका क्वारेनटाईनहरु  न्यूनतम मापदण्ड पुरा गरेर बनाइएको पनि छैनन । त्यहाँ महिला, बालबालिका र जेष्ठ नागरिकाहरुलाई अझ कठिन भएको छ ।

सुदुरपश्चिममा कुनै व्यक्ती बाहिरबाट आएपछि आफन्तहरुसंग भेटघाट गर्ने, साथी भाईहरुसंग मोजमस्ती गर्ने, तास खेल्ने, आफन्त र साथीभाईहरुलाई चिया नास्ता गराउने र आफूले ल्याएको नयाँ सामाग्रीको चर्चा गर्ने चलन रहेको छ । यस्का साथै  देश पुरै लकडाउनको अबस्था भएपनि जिल्लाका केही मुख्य शहर र पालिकाका केन्द्रहरुमा मात्र लकडाउन सफल भएको छ । किनकी त्यहाँ सुरक्षा निकायहरु उपस्थिति भएका कारण पनि यो सम्भव भएको तर दुर्गम गाँउ बस्तीहरुमा सचेतनाको कमी, बस्तुभाउ र खेतिपातिका लागि बाहिर निस्कनै पर्ने  व्याध्यता र हेलचेक्राईका कारण लकडाउन पुर्णरुपमा सफल हुन सकेको छैन ।

यद्यपी कतिपय वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुले माईकीगं गरेर सचेत गराइ रहेका छन र कतिपय स्थानीय तहहरुले लकडाउन पूर्णरुपमा पालना नगर्नेलाई पालिकाले प्रदान गर्ने सबै सेवा सुबिधाहरुबाट बन्चीत गर्ने सम्मका निर्णय समेत गरेका छन ।

सुदूर पश्चिम र यहाँका पहाडी जिल्लाहरुमा  यि र यस्तै कारणले कोरोनाको संक्रमण छिटो फैलिन सक्ने सम्भावना रहको छ । यस्तो बेला भारतबाट आएका व्यक्तीहरुलाई अनिवार्य क्वारेनटाईनमा राख्नु पर्ने र सबैले अनुशासन पूर्वक बस्नु पर्ने छ । यद्यपि क्वारेनटाईन व्यबस्थापन गर्ने सरोकारवालाहरुले तोकिएको मापदण्ड अनुसार क्वराइटाइनको व्यवस्था गर्न भने जरुरी छ । कतिपय स्थानीय तहहरुले कोरोनाको संक्रमण रोकथाम, पूर्वतयारी र क्वोरेनटाईनको व्यबस्थापन गर्नुको सट्टा आफना नागरिकहरु संक्रमित भएमा उनीहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने  सस्तो प्रचारबाजी र मुर्खतापूर्ण काम गरी रहेका छन ।

सुदूर पश्चिम प्रदेशमा कोरोनाको संक्रमण छिटो फैलिन सक्ने सम्भावना छ । भारतबाट आएका सबैलाई अनिवार्य क्वारेनटाईनमा अनुशासनपूर्वक बस्नु सबै भन्दा उत्तम बिकल्प हो । यद्यपि तोकिएको मापदण्ड अनुसार क्वराइटाइनको व्यवस्था गर्न भने जरुरी छ ।

यस्तो बेला कोरोनाको सम्भावित संक्रमण रोक्नको लागि सत प्रतिशत पहल गर्न जरुरी छ ।  सकिन्छ भने वडा र बस्ती तहमा क्वारेनटाईनको व्यबस्थापन गरी काम गर्न जरुरी छ । सुदूरपश्चिम र यहाँका पहाडी जिल्लाहरुको स्वास्थ्यको अबस्था, संरचना र स्वास्थ्य सम्बन्धी जनशक्ति र स्रोत साधनको बर्तमान अबस्था हेर्ने हो भने भगवान भरोसा बाच्नु पर्ने अबस्था रहेको छ । यस्तो बेला कथम कथाचित कोरोना फैलियो भने “कामना गरौ यस्तो नहोस” सबै जना सोत्तर हुने निश्चित छ गाँउमा लास उठाउने मान्छे हुने छैनन । उनीहरुको उपचार गर्न निकै कठिन हुनेछ । अहिले सम्म कोरोनाको चेकजाँच गर्ने व्यबस्था प्रदेश तहमा नभएको अबस्थामा गाउ बस्तीमा फैलिएको खण्डमा उपचार र स्वास्थ्य सेवा नपाई अकाल मृत्युको हुनेको संख्या गुणात्मकरुपमा बृद्धि हुनेछ । त्यो बेला हाम्रा स्थानीय सरकारले रात दिन एक हुने गरी प्रयत्न गरे पनि कम हुनेछ । त्यसैले अहिले नै योजना बद्धरुपमा सम्भाव्य जोखिमको आकलन गरि संक्रमण हुनबाट बच्न र बचाउनका लागि  भारत र बाहिरबाट आएका व्यक्तिहरुलाई क्वारेनटाईनमा राखि निगरानी बढाउन जरुरी छ ।

राजधानी बाहिर पहिलो कोरोना संक्रमित

संघीय राजधानी भन्दा बाहिर सुदूरपश्चिममा पहिलो कोरोना संक्रमित पाईएको छ । प्रयोगशाला छैन । पर्सनल प्रोटेक्टिभ ईक्युप्मेण्ट (पीपीई) छैन । भएका सामाग्री गुणस्तरीय छैनन । प्रदेश सरकार यि सबै काम अर्को बर्षको बजेटमा व्यवस्था गर्ने भनि रहेको छ ।

एम्बुलेन्स चालकले एम्बुलेन्स चलाउन नमान्दा संक्रमितका परिवार घरमै छटपटाईरहेका छन् । अर्को तिर सुदूरपश्चिम बासीहरुले कोरोना रोकथाम गर्ने दैबी तिलकको लागि दैलो अगाढी खाल्डो खन्ने अन्धबिश्वासी हर्कत गरी रहेका छन ।

भारतबाट आएकाहरु क्वोरेनटाइनमा नबस्न आन्दोलन गरी रहेका छन । स्थानीय तहहरु कोरोना फैलिएमा निशुल्क हेलिक्पटरमा बोकेर भए पनि उचार गर्ने भनेर बसेका छन । यस्तो भयाभह अबस्थामा सरकारले देशका अरु क्षेत्र जस्तै सोचेर बसेमा सुदूरपश्चिमको अवस्था भयावह हुने निश्चित छ । त्यसैले सरकारले तत्काल सुदूरपश्चिम क्षेत्रलाई बिशेष संकटग्रस्त क्षेत्र घोषणा गरी कोरोना स‌ंक्रमण फैलिन नदिन बिशेष पहलकदमी अगाढी बढाउन जरुरी छ । यस्का लागि प्रदेश सरकार र यस प्रदेशबाट प्रतिनिधित्व गर्ने जननिर्वा्चित प्रतिनिधिहरुले बिशेष पहल समय मै गर्न जरुरी छ । त्यस्का लागि सबैले खवरदारी गरौ ।

संक्रमण फैलिन नदिन के गर्ने

भारतबाट आएका सबै नागरिकहरुले अनुशासन पूर्वक क्वारेनटाईन, तोकिएको स्थानमा वा घरमा कम्तीमा १४ दिन सम्म छुट्टै बस्ने । यसरी छुट्टै बस्दा महिला बालबालिका र जेष्ठ नागरिकहरुको बिशेष ख्याल गर्ने ।

समुदाय, गाउघरमा सबै जना एकै ठाउमा जम्मा भएर गफ गर्ने, चिया पिउने र मोजमस्ती गर्ने काम नगर्ने र गर्न नदिने ।

समुदाय स्तरमा समेत तयारी समिती बनाई योजनाबद्ध काम गर्ने, सचेतना र निगरानी बढाउने ।

रेडियो र सन्चार माध्यमबाट निरन्तर प्रचार प्रसार, खवरदारी, सचेतना र सुचना प्रबाह गर्ने ।

मापदण्ड अनुसार क्वारेनटाईन र आइसोलेसन कक्षको व्यस्थापन र सन्चालन गर्ने ।

जिल्ला प्रकोप व्यबस्थापन समितिले गरेका सबै निर्णयहरु पालना  तथा कार्यान्वयन गर्ने ।

बिभिन्न अफबाह र गलत सुचना प्रति सचेत हुने ।

अत्याबश्यक सामाग्रीहरुको आपूति र व्यबस्थापनमा बिशेष ध्यान दिने ।

पोषण युक्त खानपान र असल बानी ब्यहोराबारे प्रचार प्रसार गर्ने ।

अहिले बाँचे र बचाउन सके पछि धेरै बिकासका काम गर्न र गराउन सकिन्छ भन्ने सोचका साथ जनप्रतिनिधी, सरोकारवाला र आम नागरिकहरुले आ आफ्नो कर्तव्य पालना गर्ने ।

भारतबाट आएका जतिलाई क्वारेनटाइनमा राखौ, कोरोना संक्रमणको जालो फैलिनबाट रोकौ। स्थिती हातबाट बाहिर गएपछिको अवस्था कल्पना गर्न नसक्ने खालको हुनेछ त्यसैले सबै जना समय मै सचेत हौ ।