मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गमको दुःख : ४ लाखको औषधिका लागि ७ लाख हेलिकोप्टर भाडा

दुर्गमको दुःख : ४ लाखको औषधिका लागि ७ लाख हेलिकोप्टर भाडा


सुर्खेत – भौगोलिक विकटताका कारण डोल्पाको एउटा गाउँपालिकाले ४ लाखको औषधि ढुवानीका लागि ७ लाख रुपैयाँमा हेलिकोप्टर चार्टर गरेको छ । माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाले हेलिकोप्टर चार्टर गरी काठमाडौंबाट औषधि र केही उपकरण ल्याएको हो।

गाउँपालिकाले अक्सिजन कन्सनटेटर, मास्क, स्यानिटाइजर, साबुन लगायतका औषधि उपकरण र क्वारेन्टाइनमा प्रयोग हुने कपडाहरु गरेर करिव पाँच लाख बराबरको सामान हेलिकोप्टरबाट गाउँपालिकाको केन्द्र साल्दाङ पुर्याएको हो ।

स्वास्थ्य इञ्चार्ज निमादार्के गुरुङका अनुसार करिब ४ लाख बराबरको औषधि गाउँपालिकामा पुर्याउन ७ लाख २५ हजारमा हेलिकोप्टर चार्टर गरिएको हो । ‘दुर्गमका कारण ४ लाखको औषधि उपकरण लिन ७ लाख २५ हजारको हेली चार्टर गर्नपर्ने भयो,’ गुरुङले टेलिफोनमा भने, ‘गाउँभरी कोरोनाको त्रास छ, सिटामोलदेखि स्यानिटाइजरसम्म खरिद गरेका छौँ ।’

विपतको समयमा पनि दुर्गम क्षेत्रलाई सरकारले सहयोग नगर्दा बाध्य भएर हेलिकोप्टर चार्टर गर्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । ‘गाउँपालिकाले क्वारेन्टाइन राख्ने तयारी गरेको छ, तर प्रदेश र केन्द्र सरकारले एउटा पीपीई पनि दिएका छैनन्,’ उनी भन्छन्, ‘विकास बजेट कटौती गरेर भए पनि औषधि खरिद र ढुवानी गर्नुपरेको छ ।’

डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालमा जोडिए पनि से–फोक्सुण्डोमा गाडी पुगेको छैन । सदरमुकाम जोड्ने जाजरकोट–डोल्पा सडक खण्डमा पनि दर्जनभन्दा बढी पुलहरु अधुरै छन् । यसले गर्दा जाजरकोट–डोल्पा सीधा गाडी चल्ने सकेका छैनन् । डोल्पालीहरु सुर्खेत, नेपालगञ्ज, काठमाडौं झर्न दुनै–नेपालगञ्ज जहाजमा यात्रा गर्न बाध्य छन् । Nepal Samaya