मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैले बिदाइका हात हल्लाउदै गर्दा तिमि रोइरहेकी थियौ

मैले बिदाइका हात हल्लाउदै गर्दा तिमि रोइरहेकी थियौ

ओ... मेरी प्रियतमा !


वेद प्रकाश तिमिल्सैना :

विजया दशमी अन्र्तगत अन्तिम दिनको कोजाग्रत पूर्णिमामा पूर्ण चन्द्रमाको दर्शन गर्ने अवसर मिल्यो । असोजको अन्तिम तीर मध्य रातमा चम्किरहेको चन्द्रमा निकै बेर हेरें । असोजको महिनामा पूर्णीमाका दिन चम्कने चन्द्रमा खुव मन पर्छ । त्यसैले यो पटक पनि एकोहोरो टोलाएर मैले निकै बेर चन्द्रमा हेरीरहें ।

पहिले-पहिले चन्द्रमाको फोटो खिचेर सिडिमा संग्रह गरेर राख्थे । फेसबुकमा जोडिएपछि ७ बर्षदेखी संधै असोजको पूर्णिमामा चम्किने चन्द्रमाको फोटो फेसबुकमा पनि साझा गर्ने गरेको छु । यो पाली पनि चन्द्रमाको फोटो खिचेर फेसबुकमा पोष्ट गरें । छ्याङग उघ्रेको आकासले सेतो चन्द्रमा ओढेको अवस्थामा आफुलाई प्रस्तुत गर्दा नजिकै तिमि पनि आएको भान परको थियो, अनी सेतो चन्द्रमामा अढेको आकास तिर हेर्दै फेरी तिमिलाई धेरै पटक सम्झिए पनि । किनकी तिमीनै मेरो जीन्दगी हौ । अनायसमै मैले मेरा सारा जीवन तिमीलाई सुम्पने प्रण जो गरेको थिए र त्यो प्रणमा अहिलेसम्म कायम छु । तिमीसंग राम्ररी कुराकानी हुन नपाएको पनि बर्षौ भयो । मलाइ राम्ररी थाह छ, तिमीले र मैले प्रेममय बात मार्न पाएका छैनौ । मेरो बाच्नुको सहरा मध्य तिमी पनि त एक हौ नि ! तिम्रो स्मरणले मात्रै जेलीएका तनहरु नाच्छन । तिमी र म परस्थितीले टाढा भएपनि, मेरो हृदयमा भने तिमीबाहेक अरुलाई स्थान छैन । तिमीले र मैले एक अर्कालाई सुम्सुम्यान नपाएको दुइ-दशक पुग्न आट्यो । यतीका धेरै बर्षसम्म हामी टाढा भएर बस्दा पनि तिमी प्रतिको मायाँ-प्रेम र स्नेहमा कमि आएको छैन । मेरा मन, मस्तिस्क र हृदयमा तिमीप्रतीको लगाव अझै झाँगीएको महसुस गर्दे छु ।

हाम्रो राम्रो मिलन नभए के फरक पर्छ र ! आखीर तिम्रो र मेरो बिछोड पनि त भएको छैन नि । बर-पिपलको सेरोफरोमा संगै लडीबुडी गर्दै हुर्केका हौँ । बाल्यकालको कुरा गर्दा तिमीलाई याद गर्दै सम्झनाका छालहरु उर्लिएर आउछन् । आजपनि म तिमीसंगका ति रोमाञ्चक क्षणहरु बोकेर हिडिरहेको छु । थाह छ ? म आज पनि तिमिलाई सम्झिदै जीवनका आरोह र अवरोह पार गर्ने कोशीस गरिहेको छु । एक दिन अवस्य हाम्रो मिलन हुनेछ भन्ने आशका साथ म मुस्कुराएर जीवनको गोरेटोमा दौडिरहेको छु । मेरो जीवन जिउने शक्ती मध्य तिमी पनि त एक हौ नि । तिमीलाई स्मरण गर्दा न्यानोपनको महसुस हुन्छ । मेरा हृदयका पानाहरुमा तिमी नै तिमी छौ । मलाइ पनि अचेल तिम्रो पछयौरीमा अल्झिएको भान भईरहेको छ । तर बास्तवमा धेरै बर्षदेखी हामी उसरी पहिले झै नजिक हुन पाएका छैनौं । बाल्यकालमा भने म तिम्रो नजिक थिएँ । तिमीसंगको दोस्ती दुनिया बुझ्न मेरा लागि निकै सहयोगी बन्यो । साच्चै तिमीसंगको संगत गर्दाखेरीका सबै सम्झनाहरु हृदयमा साँचेर राखेको छु । बाल्यकालका उकाली-ओराली गरेको, बनपाखामा हराएको, बनमा बाख्रा चराएको, कुइका गाडको सेरोफेरोमा रमाएको विगतका सबै पलहरु गाडा बनेर मस्तिस्कमा नाचीरहेका छन् । ति क्षणहरुलाई, त्यो बाल्य बिगतलाइ विलाउन दिएको छैन ।

प्रिय, तिमी पनि अछाममै, म पनि पुरै समय यतै तर बर्तमानमा विगत झैं सहज भेटघाटको वातावरण सृजना हुन सकिरहेको छैन । पहिले हामी बनपाखामा घण्टौसम्म पनि भलाकुसारी गर्थ्यौं । तर अचेल तिमी मेरो हृदयमा मात्र मुस्कुराइरहेकी छौ । तिम्रो एक मुस्कान देख्न महीनौ पर्खिनुपर्छ । भलाकुसारी नगरेरै एक अर्कामा मुस्कानको उज्यालो छर्दै छुट्टीनु पर्ने बाध्यता जो छ । म बालक छँदा तिमी जसरी मुस्कुराउने गर्थ्यौ अहिले पनि त्यसरी नै मुस्कुराउने गर्छौ । त्यही मुस्कानमा अल्झिएका कारण आज पनि तिमीलाई अती धेरै मायाँ गर्छु । बाल्यकालका सम्झना र मुस्कानले नै तिमीलाई मन-मुटुमा साचीरहने एकमात्र माध्यम बनेको छ । तिमी र म धेरै नजिक नबनेपनि आज पनि देवी देवता, मेरी बजै पछि मैले सबैभन्दा धेरै सम्झिने पनि तिमीलाई नै हो । तिमी मेरो मुटुमा टासीएकी छौ । यो जीवन रहँदासम्म तिमीसंगको सम्वन्ध कायमै रहने छ । अचेल तिमीलाई बाल्यकालको भन्दा बढी सम्झीन्छु । म त तिम्रो मेरो मायाँ-प्रेम अजम्वरी होस भन्ने चाहन्छु । बर्षौ अघि नियतीले हामीलाई एक-अर्काबाट टाढा बनाएको थियो । करिव दुइ दशक अघि तिमीसंग बिछोड हुँदा म खुव रोएको थिए । मेरो परिवारका सदस्यहरुसँग गाउँबाट विदा हुँदैगर्दा मैले तिम्रो गहभरी आँशु देखेको थिएँ । गैटाणको बजार जसलाइ अहिले गैरीटाड पनि भनिन्छ ।

हो त्यही गैटाणमा मैले बिदाइका हात हल्लाउदै, रुमाल फट्काउदै गर्दा तिमी रोइरहेकी थियौ । म त तिम्रो समझनामा अहिले पनि रोइरहेको छु । हेर न ! बर्षौ अघिको त्यो मायाँ-प्रेम, घनिष्ट सम्वन्ध अहिले सामान्य सन्चो विसन्सो सोधेर आ-आफनो बाटो तताउने गर्छौ ।

यसमा मलाइ पनि खल्लो महसुस चाही हुन्छ । विनायक पुगेर फर्कीदा होस या बर्षमा एक-दुइ पटक गाउँ पुग्दा तिमीसंग भेट भएपनि एकान्तमा हाम्रा सुखना – दुखना चाही हुन सकेका छैनन् । बर्षौं अघिका ति दिन अहिले पनि सम्झनाको तरेलीमा बयली खेल्न आउछन् । त्यो समयको त्यो दोस्तीलाई म अहिले पनि झलझली सम्झिन्छु, ओ मेरी प्रियतमा ।

सानोमा लामो बर्षे विदा सहितको स्कुल विदामा म पनि गोठालो जान्थे । कुइका गाडको सेरोफेरो लाटीफाले, सणाकोट, रान, कालीफाले, कोट बर्खा बाटोमा बाख्रा चराउने क्रममा तिमी र मसंगै भएका त्यो पलको सम्झना अहिले पनि मेरा आँखामा नाचिरहेको छ । कुइका गाडको सेरो फेरोमाजव म एक्लै बरालीन्थे मेरो भावना तिमीसंग पोख्थे । मेरो मनमा खुलदुली लागेपछि सणाकोटमा बसेर तिमीसंग बात मार्थे । स्वरले साथ नदिएको थाहा पाउँदा पनि कति पटक गोरु बर्खा चराउदै देउडा गित गाएर तिमीलाई सुनाएको थिएँ ।

कुरा २३ बर्ष अघिको हो, असोजको महिनामा दशैको त्यो क्षण मेरो मानसपटलमा अझैपनि ताजै छ । महा-नवमीको दिनमा बरपिपलको सेरोफेरोमा दशैको रमझम थियो । पुरै बरपीपल सौणाका बासिन्दा खनेनादेखी बुडेलीइजर हुँदै खारेबाट, कालीकाथानसम्म र नावखेत देखी ढकालटोल हुँदै बुकानेसम्म राइतो सहितको बाबर,सेल रोटी, लाउनपुरी, बोका, खसीको मासुको स्वादसंग रमाइ रहेका थिए । म भने घरमा रमाउन नपाए पनि केहीदिन अघि घोणीकाठ काटेको जग्गामा बाख्रा चराउदै तिमीलाई ठाणी भाका गित सुनाउदै रमाइरहको त्यो समय मेरो मानस पटलमा घुमिरहन्छ । मैले बम्मै टेलीफोनका “नौ रन्का अठार फन्का, बम्मै टेलीफोनका” भन्ने गित एउटै गित धेरै पटक गाएर तिमीलाई सुनाएको विगत सम्झिदा एक्लै हासीपनि दिन्छु । किनकी मैले जीवनमा पहिलो पटक गित गाएको २३ बर्ष अघिको त्यही दिनमा मात्र हो । असोज र असारमा तिम्रो मेरो साथ पहिलेभन्दा बढी नै हुन्थ्यो । असार र असोज तिर स्कुल विदा हुँदा म बाख्रे गलो भएर तिमिसंगै लुकामारी खेल्न गएको याद अहिलेसम्म ताजै छ । सायद तिमीलाई पनि सम्झना होला बाल्यकालमा कसैसंग नखोलेका कुरा तिमीसंग खोल्ने गर्थे । तर के गर्ने केही बर्ष तिमीसंग बिछोड पनि भयो । माओवादीका कारण गाउँ जान नसक्ने अवस्था सृजना भएपछि तिमीबाट बिछोडिनु पार्यो, त्यो विछोडले अहिलेसम्म पिडा दिइरहेको छ । किनकी पछिल्लो अवस्थामा तिमी र म पहिले झैं नजिकिन नसकेर अली टाढा भयौं । म आज पनि तिमीलाई सम्झिदै सुपरहिट हिन्दी फिल्म सोलेको त्यो गित यह दोस्ती नही टुटेगीु गुन्गुनाइ रहन्छु । सोलेमा नायक द्धय धर्मेन्द्र र अमिताभ बच्चन मोटर साइकलमा हुइकिदै गित गाउँछन् । म भने तिमीलाई सम्झीदै बिनायक बागफालबाट कुइका गाड र सणाकोट रानलामो सालघारी हेर्दै मनमनै यह दोस्ती नही टुटेगीु भनीरहन्छु ।

बाल्यकालमा तिमी भेट्दा, हेर्दा, देख्दा र स्पर्ष गर्दा तिम्रो रुपका सामु म नतमस्तक हुन्थे । उमेर ढल्कँदै गएपनि तिम्रो जोवन र सुन्दरताको चार्मिङ कायमै छ । तिम्रो रुप देखेर म फेरी तिमीसंग नजिकिन खोजेको पक्कै होइन । यो विषयमा त तिमीलाई राम्ररी थाह छ । तर तिम्रा र मेरा विचमा रहेको भावनात्मक सम्वन्धका बिषयमा दुनीया गलत तरिकाले नबुझोस । तिम्रो सदाबहार जवानीले जो कोहीलाई पनि लोभ्याइरहन्छ । बर्षौंअघि तिम्रो मुस्कानको जालमा अल्झिएको म आखिर तिमीबाट कसरी टाढा रहन सक्छु । यो सत्य कुरा पनि दुनीयालाई थाहा हुनुपर्छ । तिम्रो सुकोमल स्पर्शको न्यानो अनुभूती सम्झनाको तरेलीमा ताजै छ । तिमी यति सुन्दर छ्यौ की, तिम्रो सौन्दर्यताको बर्णन गर्न अरु कोही चाहीदैन तिमी मुस्कुराउदा त्यो सजिलै ज्ञात भैहाल्छ । तिमी टाढाबाट भएपनि मुस्कुराइदिएपछि तिम्रो त्यो सुमधुर मुस्कानमा मेरो जीन्दगी मुस्कुराइदिन्छ । प्रिय कुईका तिम्रो मायाँ पाउन म शहर छोडेर फकीर झै अछामका गाउँबस्तीमा बरालीईरहेको छु । त्यसैले तिमी र म टाढा हुन सक्दैनौ किनकी मेरो जीवन त तिम्रो एक मुस्कानमा अल्झीएको छ ।

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” साच्चै जन्म दिने आमा र जन्मभुमी सबैका लागी प्रिय हुने गर्छ । मेरी तीन आमा हुर्काउने पलानपोषण गर्ने बजै (हजुर आमा), जन्मदिने मम्मी (आमा) र दुधखुवाउने कालीकाथानकी आमा (जेठी आमा) र मेरो जन्म स्थान, स्थाइ ठेगाना, मातृभुमि कुइका सबै भन्दा प्रिय हुन् र आज पनि उत्तीकै प्रिय छन् ।

( लेखक तिमिल्सैना नेपाली कांग्रेस अछामका सहसचिव एव प्रवक्ता तथा पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष हुन् ।

केही पहिले प्रकाशित तिमिल्सैनाको यो लेक अहिले लकडाउनको समयमा पढ्न मिलोस भनेर हामीले पुनः प्रकाशति गरेका हौँ